अपडेट 
२०७७ बैशाख १२, शुक्रबार १४:४४

जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गर्ने पिसिआर मेसिनबाट परीक्षण रोकिएको छ। मेसिनको उद्घाटन चैत २१ मा सामाजिक विकास मन्त्री नवलकिशोर साहले गरेका थिए।  

सर्लाहीका १४ वर्षीय किशोरको रिपोर्ट उक्त पिसिआर मेसिनले नेगेटिभ देखाएको थियो। जबकि ती किशोरकै स्वाब थप परीक्षणका गर्दा काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पोजेटिभ रिपोर्ट आयो। सोही कारण जनकपुरको पिसिआर मेसिनबाट कोरोना परीक्षण नगर्ने निर्णय गरिएको छ। 

जनकपुर प्रयोगशालाका इन्चार्ज रामविनय साह भन्छन्, ‘सर्लाहीको किशोरको घटनाले मेसिनमाथि आशंका भएको छ। त्यसैले आजबाट कोरोना परीक्षण नगर्ने निर्णय गरेका छौं।’ उनले हालसम्म १ सय बढीको परीक्षण भएको र ती सबैको रिपोर्ट नेगेटिभ आएको बताए।

विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पोजेटिभ पुष्टि गरेका १४ वर्षीय किशोर सर्लाही त्रिकौलका हुन्। उनी गत चैत ६ मै भारतबाट लुकिछिपी नाका क्रस गरेका थिए । तर उनलाई घर पुग्न नदिई प्रशासनले क्वारेन्टाइनमा राखेको थियो ।

क्वारेन्टाइनमा आरडिटी रिपोर्ट पोजेटिभ आएपछि उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो। तर जनकपुरको पिसिआर मेसिनबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएलगत्तै उनलाई पुनः जिल्ला पठाइयो। यो गमभीर लापरवाही हो। यही कारण यतिबेला सर्लाही उच्च खतरामा परेको छ।

विहिबार रिपोर्ट पोजेटिभ देखाएपछि उनलाई तत्कालै वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्ड पुर्याइयो। अहिले उनी उपचाररत छन् । उनलाई राखिएको सर्लाहीको हरकटवा क्वारेन्टाइन क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

१४ वर्षीय किशोरसहित प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ पुगेको छ। जसमध्ये तीन जना पर्सा र एक जना रौतहटका छन्। 

Comment


Related News

Latest News

Trending News