अपडेट 
२०७७ बैशाख १२, शुक्रबार २१:३८

 जनकपुरधाम । सर्लाहीको धनकौल गाउपालिका ५ का १४ वर्षीय कोरोना संक्रमित किशोर भारतको क्वारेन्टाइनमा समेत बसेको खुलेको छ।

बिहार राज्यको चम्पारणस्थित ढाकाको क्वारेन्टाइनमा उनले ८ दिन बिताएको खुलेको हो। दिल्लीमा मजदुरी गर्ने ति किशोर लकडाउनका कारण घर आउने लागे। चम्पारण पुगेपछि उनी प्रशासनको फन्दामा परे। त्यसपछि उनलाई क्वारेन्टाइनमा राखियो।

क्वारेन्टाइनमा ८ दिन बिताएका उनले अन्य ७ जनासँग मिलेर एम्बुलेन्समा रौतहटको नाका आइपुगे। सीमा नाका सिल गरिएको अवस्थामा लुकिछिपी उनले रौतहटकै बर्गेनिया हुँदै कुरेनिया पुगे। त्यहाँ एक रात बिताए र एक जनासँग साइकलमा आफ्नो घर गएका थिए।

उनी घर पुगेपछि परिवारमा खुशीको माहोल हुनुपर्थ्यो। त,र घरका सबै दुःखी भएका थिए। यतिसम्म की उनलाई घर पस्नै दिइएन। उनी करिब १० मिनेट घर बाहिर बसे। लगत्तै उनलाई गाउँकै विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखियो।

वैशाख ५ मा उनको आरडिटी परीक्षण गरियो। रिपोर्ट पोजेटिभ देखियो। त्यसपछि उनलाई एम्बुलेन्समार्फत जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइयो। त्यहाँको आइसोलेसन वार्डमा भर्ना भए। वैशाख ६ मा अस्पतालमै सञ्चालित ल्याबको पिसिआर मेसिनबाट कोरोना परीक्षण भयो।

पिसिआर मेसिनले वैशाख ८ मा रिपोर्ट ‘नेगेटिभ’ देखायो। त्यसपछि सोही दिन उनलाई रौतहटस्थित धनकौल क्वारेन्टाइन पुर्‍याइयो। तर, थप कन्फर्म हुनको लागि उनको स्वाब परीक्षणका लागि काठमाण्डौं पठाइयो। त्यहाँ उनको रिपोर्ट पोजेटिभ आयो।

बैशाख ११ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमणको पुष्टि’ भनेर भन्यो। त्यसपछि प्रादेशिक अस्पतालका चिकित्सकहरू नै आश्चर्यमा परे। कारण कोरोना संक्रमणको पुष्टि भएका किशोर सर्लाहीको थिए, तर जनकपुरको भनिएको थियो।

कोरोना संक्रमणको पुष्टि भएलगत्तै उनलाई वीरगन्जस्थित नारायणी अस्पताल पुर्‍याइयो। त्यहाँ उनी आइसोलेसन बेडमा भर्ना भए। अहिले उनको उपचार भइरहेको छ।

संक्रमित किशोरको ट्राभल हिस्ट्री प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले सुनाए। तर ति किशोरसँग भारतबाट आएका अन्य ७ जना कहाँ पुगे भन्ने विषयमा उनले केहि खुलाएका छैनन्।

उनले संक्रमित किशोर परिवारका मानिसहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न चिकित्सकको टोली पुगेको जानकारी दिए। धनकौलमा उच्च सतर्कता अपनाइएको भन्दै संक्रमित किशोर कहाँ-कहाँ पुगेको र को-कोसँग भेटेको यकिन गरेर परीक्षण गर्न कन्ट्याक्ट ट्रेसिङको कार्य भइरहेको बताए।

प्रदेश-२ मा कूल ४ हजार ३३१ शंकास्पद कोरोना संक्रमितको आरडिटी परीक्षण गरिएको छ। जसमध्ये ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। तिमध्ये सर्लाहीका किशोरमा कोरोना संक्रमणको पुष्टि भयो।

आरडिटी पोजेटिभ रिपोर्ट आएकामध्ये सात जनाको काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा थप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ।

Comment


Related News

Latest News

Trending News