अपडेट 
२०७७ बैशाख १३, शनिबार १२:४५

काठमाडौं । एक महिना देखि जारी लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले बसिरहेको छ ।

सिंहदरबारमा जारी बैठकमा लकडाउनको अहिलेसम्मको परिस्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे विश्लेषण हुनेछ । समग्र अवस्थाको विश्लेषण गरेर प्रधानमन्त्रीलाई भेट्ने र लकडाउनको स्वरुपबारे निर्णय लिइने उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।

‘अहिलेसम्मको समीक्षा गरेर प्रधानमन्त्रीलाई भेट्छौं अनि मात्रै लकडाउनको मोडालिटीबारे सरकारले टुंगो लगाउँछ,’ उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका पोखरेलले भने । उनले अहिलेसम्म लकडाउन खुकुलो बनाउने सरकारको नीति नभएको बताए ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि नेपालमा लकडाउनलाई जारी राखेको छ । पछिल्लो पटक थपिएको लकडाउनको अवधि वैशाख १५ गतेसम्म छ ।

लकडाउन लम्बिँदै जाँदा दैनिक श्रम गरेर गुजारा गर्नेहरु समस्यामा परेको भन्दै अब जोखिम क्षेत्र पहिचान गरी लकडाउनलाई कतै खुकुलो र कतै कडा बनाउनु पर्ने आवाज उठ्दै आएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ४९ पुगेको छ भने ११ जना निको भएर घर फर्किसकेका छन् ।

Comment


Related News