अपडेट 
२०७७ बैशाख १३, शनिबार १६:१८

बुटवल । तीन सातादेखि भारतीय क्वारेन्टाइनमा बसेका २ सय ९६ जना नेपालीलाई आरडिटी परीक्षण गरेर नेपाल ल्याइएको छ। नेपाल–भारत सीमा बेलहिया नाकामा आएर रोकिएका उनीहरू नेपाल प्रवेश गर्न नपाएपछि गत चैत १९ गते भारत नौतनवाका विभिन्न क्वारेन्टाइनमा बसेका थिए।

केही सुत्केरी, बिरामीहरूलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उद्धार गरेर ल्याए पनि बाँकी रहेका २ सय ९६ जनालाई तीन चरणमा नेपाल प्रवेश गराइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए। शुक्रबार एकसय जनाको आरडिटीबाट एन्टिबडी परीक्षण गरेर आफ्नो गाउँमा पठाइएको छ। शनिबार पहिलो चरणमा १ सय १२ जनाको आरडिटी परीक्षण गरेर सम्बन्धित पालिकाहरूको बसमार्फत गन्तव्यमा पठाइएको छ।

अहिले भने ८४ जनाको र्‍यापिड टेस्ट भइरहेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए। भारतको विभिन्न स्थानमा काम गरिरहेका नेपालीहरू लकडाउन अवधिमै कोरोना भाइरसको त्रासको कारण नेपाल फर्किएका थिए। भारतमा मार्च ३० अर्थात चैत १७ गते आइपुगेका नेपालीलाई मात्रै अहिले नेपाल ल्याइएको हो। अझै पनि केही नेपालीहरू भारतीय क्वारेन्टाइनमै बसेका छन्। ३० मार्चमा नेपाली क्वारेन्टाइन बसेका १ सय ५४ जना भारतीयलाई पनि उनीहरूकै देश पठाइएको छ।

भारतमा रहेका नेपालीहरूलाई १४ दिनको क्वारेन्टाइनमा राख्ने भनिए पनि झन्डै एक महिना नै त्यहाँ राखिएको हो। दुई साता पुगे पनि उनीहरूलाई नेपाल आउन नदिएकोमा नेपालीहरू आक्रोशित भएका थिए।

दुई देशका जिल्ला प्रमुखहरू तथा प्रदेशसभा सांसद सन्तोषकुमार पाण्डेयको समन्वयमा छलफल भएपछि दुवै देशका सीमाका क्वारेन्टाइनमा बसेकाहरूलाई आ आफ्नो देश फर्काइएको हो। भारतबाट फर्केका नेपालीलाई लिन सम्बन्धित स्थानीय तहहरूले सवारीसाधनको व्यवस्थापन गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खत्रीले बताए। सवारी व्यवस्थापन हुन नसकेको हकमा भने यतै क्वारेन्टाइनमा राख्ने र सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर पठाउने काम भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सीमाको क्वारेन्टाइनमा बसेकाहरू अधिकांश अर्घाखाँचीका छन्। अर्घाखाँचीका १ सय २८ जना छन्। यसैगरी गुल्मीका ६८ जना, पाल्पा २२, रुपन्देही १७, चितवन १९, कपिलवस्तु १०, प्यूठान ४, बाँके ८, बाग्लुङ ४, तनहुँ ७ र धादिङका २ जना नेपालीहरू बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका छन्। यसैगरी नवलपुर, बारा, सुनसरी, मोरङ, स्याङजा, जाजरकोट र खोटाङका एक÷एक जना छन्। बेलहिया नाकाबाट लामबद्ध भएर नेपाल प्रवेश गर्न पाउँदा उनीहरू निकै खुसी देखिन्थे। प्रवेश गर्नासाथ रगतबाट आरडिटि परीक्षण गरेर मात्रै घर पठाइएको हो।

यदी आरडिटि पोजेटिभ देखिए आइसोलेसनमा राखेर स्वाव परीक्षण गरेर मात्र घर पठाउने गरी सीमामा रोकिएका नेपालीलाई घर पठाइएको प्रजिअ पन्थीले बताए।

Comment


Related News

Latest News

Trending News