जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले कोरोना भाइरस र लकडाउनबारे गुनासो सुन्न टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ।
मेयर लालकिशोर साहले टोल-फ्रि नम्बर १६६०४१५२०११ सार्वजनिक गरेका हुन्। लकडाउनका कारण सामाजिक सञ्जाल फेसबुकमार्फत उनले टोल-फ्रि नम्बर सार्वजनिक गरे। धनुषाको १८ स्थानीय तहमध्ये टोल-फ्रि नम्बर सार्वजनिक गर्ने जनकपुरधाम पहिलो हो।
नगरबासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल-फ्रि नम्बर सञ्चालनमा ल्याएको मेयर साहले बताए। उनले नगरबासीले आफूलाई परेको समस्या कुनै बेला पनि टोल-फ्रि नम्बरमा फोन गरेर टिपाउन सक्ने बताए। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन।
कोरोना भाइरसको महामारीको समयमा नगरबासीका स्वास्थ्य सम्बन्धी गुनासा र लकडाउनले जोखिममा परेका नगरबासीको समस्या समाधान गर्न टिम पनि बनाइएको छ। मेयर साहले लकडाउन वा अन्य कुनै समस्यामा परेका व्यक्तिहरुको उद्धारसमेत गरिने जानकारी दिए।
जनकपुरधाम उप(महानगरपालिकाले कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण तथा राहतका लागि राहत कोष समेत स्थापना गरेको छ। राहत कोषमा सहयोग गर्न इच्छुक व्यक्ति वा संघ संस्थालाई टोल फ्रि नम्बरमा सम्पर्क गर्न पनि मेयर साहले अपिल गरेका छन्।