अपडेट 
२०७७ बैशाख १४, आईतवार १२:५३

सिरहा । लकडाउनका कारण हातमुख जोर्न नै समस्या भएपछि राजधानी काठमाडौंबाट फर्केका चार जना मजदुरलाई सिरहाको औरही गाउँपालिका-५ स्थित क्वारेन्टाइनमा राखिएको छ।

कोरोना भाइरस संक्रमण हुनसक्ने भन्दै औरही गाउँपालिका-३ का चार जनालाई क्वारेन्टाइनमा राखिएको हो। गाउँमा आएपछि वडाध्यक्ष बिसुन यादवले आफूहरुलाई क्वारेन्टाइनमा पाएको काठमाडौंबाट फर्केका औरही गाउपालिका-४ का निर्मल यादवले बताए।

काठमाडौंमा मजदुरी गर्ने उनले भने, ‘सरकारले अचानक लकडाउन गरेपछि काम बन्द भयो। जसोतसो एक महिना बिताइयो। घर आएपछि परिवारसँग बस्न पाउँछु भनेर खुसी थिए। तर कोरोनाको कुनै लक्षण नदेखिए पनि यहाँ ल्याएर राखिदिनु भयो।’

‘काठमाडौंमा कोठमामा सबै कुरा सकिएर हातमुख जोर्न पनि मुस्किल भएपछि कडाध्यक्षलाई ल्याउन विन्ती गरेका थियौं,’ उनले गुनासो गरे, ‘तर वडाध्यक्षले आफूले केही गर्न नसकेपछि फेसबुकबाट कन्ट्याक्ट गरेर बस खोजेर आइयो, तर आउने बित्तिकै यहाँ क्वारेन्टाइनमा पो बस्नुपर्यो।’

आफूहरुलाई क्वारेन्टाइनमा राखेपछि उनीहरुले अरु साथीहरुलाई नआउन सुझाव दिएका छन्। उनीहरुले सार्वजनिक क्वारेन्टाइनमा भन्दा होम क्वारेन्टाइनमा राखेको भए हुने बताए।

सिरहाको कसहा ल्याउन बसले १५ सय रुपैयाँ असुलेको पनि उनीहरुले बताए।

गाउँपालिकाका स्वास्थ शाखा प्रमुख उपेन्द्र यादवले माथिको आदेश बमोजिम काठमाडौंबाट आएका चार जनालाई क्वारेन्टाइनमा राखेको प्रतिक्रिया दिए। उनले भने, ‘होम क्वारेन्टाइनमा राख्दा पनि हुन्थ्यो। तर निर्देशन त्यस्तै आएपछि यहीँ बोलाएर राख्नुपर्यो।

औरही गाउँपालिका–५ स्थित श्री सुन्दर जनता माध्यमिक विद्यालयमा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा रहेका १३ जनामा उनीहरु चारजना बाहेक सबै भारतबाट आएकाहरु छन्।

कोरोनाबाट जोगिन शंकास्पदलाई क्वारेन्टाइनमा राख्नु नै उपयुक्त भए पनि व्यवस्थापन अभावका कारण गाउँपालिकाको क्वारेन्टाइन होम क्वारेन्टाइनभन्दा सुरक्षित नभएको त्यहाँ रहेकाहरुको भनाइ छ।

Comment


Related News