अपडेट 
२०७७ बैशाख १४, आईतवार १३:०७

काठमाडौं । लकडाउनका बारेमा ठोस निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनबारे विश्लेषण गरेको थियो । त्यसमा लकडाउनलाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्नेलगायतका विभिन्न प्रस्तावमा छलफल भएको थियो ।

कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गत चैत ११ यता लगातार लकडाउन घोषणा गर्दै आएको छ । पहिलो र दोस्रो चोटी सात सात दिन अलकडाउन गरेको सरकारले तेस्रो चोटी भने १५ दिनलाई लकडाउन थपेको थियो । पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा लकडाउन खुकुलो पार्ने कि भन्ने बहसहरु पनि भइरहेका छन् । यसबारे मन्त्रिपरिषद बैठकले छलफल गरेर अन्तिम निर्णय गर्नेछ ।

भारतको अवस्था समेत ख्याल गर्नुपर्ने भएकाले आगामी एक साता यहि स्वरुपमा लकडाउनलाई निरन्तरता दिएर आगामीसाताबाट स्वरुप परिवर्तन हुनसक्ने एक मन्त्रिको भनाई छ ।

उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरिसकेको छ । लकडाउनका कारण कोरोना संक्रमण फैलन नपाएको समितिको ठहर छ ।

आज बिरगन्जमा २ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News