अपडेट 
२०७७ बैशाख १४, आईतवार १४:४५

जनकपुरधाम । धनुषाको कमला नगरपालिका-५, भलुवाहामा मुसहर समुदायको बसोबास छ । दैनिक मजदुरीमा निर्भर मुसहरहरू यतिखेर भोकभोकै दिन काट्न बाध्य छन् । १५ दिनअघि आफ्नो छाप्रोमै सुत्केरी भएकी मुक्ता देवी पनि भोको दिन काटिरहेकी छिन् ।

नगरपालिकाले सुरु गरेको राहत वितरण कार्य भलुवाहा नपुगेको भलुवाहाकी वृद्वा रजनीदेवी सदाले बताइन् । गाउँका सबै खोला र पोखरीहरूमा खोजेको घोंघी र सितुवा उमालेर खाँदै बाँचेको उनले बताइन् । ‘हाम्रो बस्तीमा अहिले १०-११ जना त सुत्केरी र गर्भवती छन्’, उनले भनिन्, ‘ती सबै घोंघी र सितुवाको झोलको भरमा छन् ।’

१५ दिनअघि प्रादेशिक अस्पताल जनकपुरधाममा सुत्केरी भएर घर फर्केकी धनुषाकै शहीद नगरपालिका-८, बिसनभोराकी जीवछीदेवी दासले पोषणयुक्त खानेकुरा पाएकी छैनन् । उनकी सासू आशादेवीले यताउता दालचामल मागेर सुत्केरी बुहारीलाई बचाइरहेको बताइन् । बिसनभोरामा पनि कुनै राहत टोली पुगेको छैन ।

प्रदेश २ का ४८ प्रतिशत जनता बहुआयामिक गरिबीमा रहेको सरकारी तथ्यांकले देखाएको छ । ७० प्रतिशत हिस्सा ओगट्ने दलित, मुस्लिममध्ये अधिकांश गरिबीबाट आक्रान्त छन् । यी समुदायका प्रायः सबैलाई अहिले राहत अत्यावश्यक देखिन्छ ।

विपन्नको बेहाल

प्रदेश २ मा लकडाउनकाबीच सुत्केरी भएकामध्ये अधिकांशले पेटभरि खान पाएका छैनन् । प्रदेश सरकार र स्थानीय तहहरूले वितरण गरेको दाल, चामल, तेल, नुन र आलु सबै विपन्न बस्तीसम्म पुग्न नसकेको उनीहरूको गुनासो छ । पोषिलो खानेकुरा चाहिने सुत्केरी र गर्भवती सामान्य दालभात पनि खान पाएका छैनन् । नवजात शिशुहरूलाई पर्याप्त दूध र खोपको कुरा कल्पनाको विषय हुन पुगेको छ ।

जानकारहरूकाअनुसार मातृ तथा शिशु मृत्युदरको मूल कारक पोषणयुक्त खानेकुरा र खोपको अभाव हो । पोषण र खोपको अभाव झेलेर हुर्केका बालबालिकामा रक्तअल्पताका साथै अपांगताको सम्भावना उच्च रहन्छ । प्रदेश २ त्यसैपनि नेपालको कणर्ालीपछिको सबभन्दा बढी कुपोषण भएको क्षेत्र हो । यहाँका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामध्ये ५९ प्रतिशतमा रक्तअल्पता रहेको सरकारी तथ्यांक छ ।

त्यस्तै, १५-४९ वर्षका ५८ प्रतिशत महिलामा रक्तअल्पता र ३६‍.८ प्रतिशतमा बालबालिकामा कम तौल हुने समस्या छ । लकडाउनको समयमा विपन्नको घरमा जन्मिएका शिशुको उचित स्याहार र सुत्केरी तथा गर्भवती एवम् ५ वर्षसम्मका बच्चालाई पोषणयुक्त खानेकुरा उपलब्ध नगराइए कुपोषणको अवस्था स्वतः बढ्नेछ ।

प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे कोरोनाविरुद्व लड्ने क्रममा बस्तीहरूमा सुत्केरी पनि छन् भन्नेमा ध्यान जान नसकेको बताए । उनले भने, ‘क्वारेन्टाइन र अस्पतालमा आउने सुत्केरीप्रति ध्यान गएपनि बस्तीसम्म ध्यान नगएकै हो ।’

कुपोषणको जोखिम बढ्यो : जनस्वास्थ्य विज्ञ

कोरोना भाइरसका कारण नेपालमा जारी लकडाउनले ज्यालादारी श्रमिक र अतिविपन्नहरूलाई भोकमरीको अवस्थामा पुर्‍याएको छ । जनस्वास्थ्य विज्ञ राजकुमार महतो ती परिवारका गर्भवती, सुत्केरी, र पाँचवर्ष मुनिका बालबालिका कुपोषणको उच्च जोखिममा परेको बताउँछन् ।

एउटा महामारीबाट बच्न अपनाइएको लकडाउनले भोकमरी, कुपोषण जस्ता अर्का खाले महामारीको जोखिम बढाएको उनको धारणा छ । लकडाउन भित्र आवश्यक पर्ने खाद्य सामग्रीको व्यवस्थापन गर्न नसक्दा यो अवस्था आएको उनले बताए । ‘यसका लागि तीनवटै तहका सरकारले राहत वितरणलाई एकदमै प्रभावकारी बनाउनु पर्‍यो’, महतो भन्छन्, ‘राहत प्याकेजमा दालचामल मात्र होइन, गर्भवती, सुत्केरी, पाँचवर्ष मुनिका बालबालिका र वृद्धवृद्वाका लागि विशेष खाद्य सामग्री समावेश गर्नुपर्छ ।’

उनकाअनुसार कुपोषित मानिसमा रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति कमजोर हुन्छ । कोरोना संक्रमणको सन्दर्भमा यो कुरालाई बढी ध्यान दिनपर्ने पोषणविज्ञ महतो बताउँछन् ।

Comment

Related News

Latest News

Trending News