अपडेट 
२०७७ बैशाख १४, आईतवार १४:५२

सन्धिखर्क । रोजगारीको लागि भारतको विभिन्न स्थानमा गएका र घरमा फर्किँदा सीमानामै लकडाउनमा परेका १ सय २८ जनालाई अर्घाखाँची ल्याएर फेरी क्वारेन्टाइनमा राखिएको छ । २६ दिन भारतको नौतुनुवाको एक विद्यालयको कवारेन्टाइनमा राखेर जिल्लामा ल्याइएका उनीहरुलाई फेरी  १४ दिनको लागि स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । 

जिल्ला प्रशासन कार्यलयमा बसेको सबै पक्षीय बैठकबाट भारत र नेपाल सरकारको सहकार्यबाट सीमानाको क्वारेन्टाइनमा बसेका उनीहरुलाई आफ्नो घरमा ल्याइएको हो । भारतबाट आएका उनीहरुलाई भैरहवामा कोरोना परीक्षण गरेर ल्याइएको भएपनि कोरोनाको लक्षण नदेखिको हुनसक्ने भन्दै फेरी कवारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताएका छन्  । 

भारतमा रोजगारी गरी फर्किएका मालारानी गाउँपालिकाका ९३, सन्धिखर्क नगरपालिका २०, पाणिनि गाउँपालिकाका ९, छत्रदेव गाउँपालिकाका ४ र शितगंगा नगरपालिकाका १ गरी एक सय २८ जनालाई सम्बन्धित पालिकाको क्वारेन्टाईनमा राखिएको छ । 

आफ्ना पालिकाका वासिन्दालाई सम्बन्धित पालिकाले नै व्यवस्थापन गर्ने गरी क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण उनीहरु विगत २६ दिनदेखि नौतुनुवाको एक विद्यालयमा क्वारेन्टाइनमा थिए ।

भारतीय सीमानाबाट आएकालाई क्वारेन्टाइनमा राख्ने तर काठमाडौंबाट आएकलाई क्वारेन्टाइनमा नराखेर घरघरमै पठाए पछि  स्थानीय त्रसित बनेका छन् । काठमाडौंबाट आउनेमा पनि कोरोना संक्रमण भएको छ कि र त्यो रोग आफूलाई सर्ने होकी भनेर त्रसित बनेका हुन्। 

काठमाडौंबाट जिल्ला भित्रिएका ४ सय १ जनामध्ये २६ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । अरु सबै घरघरमा गएका छन् । काठमाडौंबाट जिल्ला भित्रिएकालाई स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने गरी स्थानीय तहलाई जिम्मा दिने निर्णय भएपनि उक्त निर्णय कार्यन्वयन हुन सकेन ।

सबैलाई २ हप्ता क्वारेन्टाइनमा राख्न कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठक र जिल्ला विपद व्यवस्थापन  समितिको बैठकले निर्णय गरेपनि उक्त निर्णय स्थानीय सरकारले पालना गर्न सकेका छैनन् । जानकारीविना जिल्लामा काठमाडौंबाट पठाउँदा समस्या भएको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले बताए ।
 
जिल्लाका ६ वटा स्थानीय सरकार मध्ये सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, पाणिनि गाउापालिका र मालारानी गाउँपालिका गरी पाँच स्थानीय सरकारले सबैलाई घरघरमा पठाएका छन् । तर भुमिकास्थान नगरपालिकाले सबैलाई स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा राखेको छ । 

सन्धिखर्क नगरपालिकाका ७२ , शितगंगा नगरपालिकाका २४, भुमिकास्थान नगरपालिकाका २६, मालारानी गाउँपालिकाका ७३, छत्रदेव गाउँपालिकाका ११५ , पाणिनि गाउँपालिकाका ६५ जना र गुल्मीका २३ र  प्युठानका ३ जना गरी चार सय १ जना अर्घाखाँची आएका हुन् । 

सन्धिखर्क नगरपालिकाका ७२ जना सबैलाई  होम क्वारेन्टाइनमा सुरक्षित रुपमा रहेर सावधानीपुर्वक बस्ने गरी घरघरमा पठाइएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए । काठमाडौंमा सेल्फ क्वारेन्टाइनमा बसेका उनीहरुले घरमै सुरक्षित बस्नेगरी पठाइएको उनले बताएका छन्  । 

भुमिकास्थान नगरपालिकाका २६ जनालाई स्थानीय सरकारले बनाएको क्वारेन्टाईनमा राखिएको नगर प्रमुख रेशम थापाले बताए । स्थानीय सरकारको रुपमा रहेका सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका ,पाणिनि गाउँपालिका र मालारानी गाउँपालिकाले सबैलाई साबधानी अपनाएर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेअनुसार सबैलाई घरघरमा पठाएका हुन्।

Comment


Related News

Latest News

Trending News