अपडेट 
२०७७ बैशाख १४, आईतवार १५:३९

मलंगवा । भारत तथा अन्य देशबाट आएर सर्लाहीको विभिन्न स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बस्दै आएका ११६ जनाको स्वाब संकलन गरिएको छ। संकलन गरिएको स्वाबलाई परीक्षणका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। 

कोरोना भाइरस (कोभिड–१९) संक्रमित भए/नभएको परीक्षण गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), स्वास्थ्य सेवा विभाग र सशस्त्र प्रहरी सहितको संयुक्त स्वास्थ्यकर्मीहरुको टोलीले घाँटीबाट स्वाब संकलन गर्ने काम गरेको उनले बताए। 

योसहित सर्लाहीबाट ११८ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि संकलन भइसकेको छ। यसअघि नै धनकौलका एक १४ वर्षीय किशोरको प्रादेशिक अस्पतालमा संकलन गरिएको स्वाबमा कोरोना भाइरस पोजिटिभ देखिसकिएको छ। त्यस्तै गत बिहीबार र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) पोजिटिभ देखिएका ईश्वरपुर नगरपालिका–९ रामनगरका एकजनाको पनि प्रादेशिक अस्पताल जनकपुरबाट स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाइएको छ।

कोरोना भाइरस पोजिटिभ देखिएका किशोरका परिवारका सदस्य एवं ती किशोरसँग नजिकबाट सम्पर्क भएको आशंका गरिएका सर्वसाधारण तथा लकडाउनमा भारतबाट प्रवेश गरी विभिन्न पालिकाहरुको क्वारेन्टाइनमा बसेका सर्वसाधारणको स्वाब संकलन गरिएको प्रजिअ जिसीले जानकारी दिए।

चन्द्रनगर गाउँपालिकाबाट ७५ जना, धनकौल गाउँपालिकाबाट २६ र इश्वरपुर नगरपालिकाबाट १५ जनाको स्वाब संकलन गरिएको छ। यसअघि पीसीआर टेस्ट पोजेटिभ देखिएका १४ वर्षीय बालकको वीरगन्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ। पीसीआर पोजेटिभ देखिएपछि बालकको गाउँ धनकौल गाउँपालिका ५ हरकठवालाई सिल गरिएको छ। 

Comment


Related News

Latest News

Trending News