अपडेट 
२०७७ बैशाख १४, आईतवार २२:१६

जनकपुरधाम । पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री एवं जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आइतबार दिउँसो सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजिपी सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगे।

उनीसँगै प्रहरी परिसर पुगेका थिए- जनता समाजवादी पार्टीका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत। तर, उजुरी दर्ता गर्न परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अस्वीकार गरे।

एसएसपी ज्ञवालीले घटना भएको भनिएको महोत्तरी जिल्ला जान सुझाए। अब पूर्वराज्यमन्त्री डा. यादव उजुरी दर्ता गर्न महोत्तरी आउने सम्भावना छ। महोत्तरी उनको गृहजिल्ला पनि हो।

डा. यादव महोत्तरी पुगेर उजुरी गराउन खोजे के हुन्छ? प्रहरीले उजुरी दर्ता गर्छन् त? यो प्रश्न अहिले जताततै चर्चाको विषय बनेको छ। महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले कसैले राजनीति वा अन्य कुरा गर्न खोज्यो भने उजुरी दर्ता नहुने बताएका छन्।

उनले अपहरण तथा शरीर बन्धक शीर्षक हेरेर मात्र नहुने बताए। नेपालन्यूजसँग उनले भने, ‘उजुरी दर्ता गराउने विषयमा माननीयजीले अहिलेसम्म खबर गर्नुभएको छैन। यद्यपि, दर्ता गराउन आउनुभयो भने उजुरीभित्र के लेखेको छ? यो पहिले हेरेपछि मात्र उचित निर्णय लिनेछु।’

एसपी अधिकारीले भने, ‘उजुरी घटना सान्दर्भिक हो कि होइन? त्यो त जाहेरी हेरेपछि मात्र थाहा हुन्छ। त्यसैले नहेरेको अवस्थामा केही भन्न सकिँदैन।’ उनले उजुरी घटना सान्दर्भिक रहेमा दर्ता गरिने पनि स्पष्ट पारे।

उनले काठमाडौं जानुअघि आफूले पनि सांसद यादवलाई बर्दिवासको गौतम होटलमा भेटेको स्वीकारे। ‘होटलमा त्यस्तो अवस्था मैले हेरिनँ,’ उनले भने, ‘माननीयज्यूको कहीँ अपहरण हुनसक्छ? यदि त्यस्तो हेरेको भए मैले नै रोकिसक्थे नि।’

एसपी अधिकारीले बर्दिवासस्थित गौतम होटलमा रूम बुक आफैले गरेको र बिल पनि तिरेको स्वीकार गरेका छन्। नेकपा सांसदद्वय महेस बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजिपी सर्वेन्द्र खनालले आउँदैछु भन्दै होटलको व्यवस्था मिलाउन भनेपछि बुक गरेको उनको भनाइ छ।

Comment


Related News