अपडेट 
२०७७ बैशाख १४, आईतवार २२:५६

काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले आइतबार फरक परिस्थितिको सामना गर्नुपर्‍यो । प्रहरीका निवर्तमान सर्वोच्च कमाण्डर सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरको किटानी जाहेरी उनको टेबुलमा आइपुगेको थियो ।

जाहेरी लिएर आउनेमा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि बहालवाला सांसदहरुसमेत थिए ।

आइतबारबाटै काठमाडौं प्रहरीको नेतृत्व सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीको अनुपस्थितिमा जाहेरी लिएर आउने जनता समाजवादी पार्टीका नेताहरुसँग समन्वयको जिम्मेवारीको राठौरको काँधमा आइपरेको थियो ।

अपराध अनुसन्धानमा अब्बल मानिने प्रहरीका सीमित अधिकृतमध्येका एक राठौरका लागि यो परिस्थिति यसकारण पनि फरक थियो कि उनी पूर्वआईजीपी खनालका प्रियपात्र पनि हुन् । र, उनै खनालविरुद्ध कुनै दिन यसरी अपहरणसम्बन्धी कसूरको जाहेरी आफ्नो टेबलमा आउला भनेर राठौरले सायदै सोचेका थिए ।

एकातिर उनै खनाल अनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत र किसान श्रेष्ठविरुद्धको उजुरी एसपीका अगाडि थियो भने अर्कातिर किटानी जाहेरी लिएर आउने व्यक्ति पनि हाई–प्रोफाइल नै थिए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जसपाका शीर्षनेता उपेन्द्र यादव, राजेन्द्र महतो र अपहरित भनिएका व्यक्ति सांसद डा. सुरेन्द्र यादव स्वयम् टेकु पुगेपछि प्रहरीले यो प्रकरणको सेफल्याण्डिङ कसरी गर्ला भन्ने चासो सबैलाई थियो ।

किनकि, काठमाडौं प्रहरीमा जाहेरी दर्ता नहुनेमा अधिकांश प्रहरी अधिकृत पहिल्यै ढुक्क थिए ।

एकातिर सरकार जोडिएको मुद्दा, अर्कातिर निवर्तमान महानिरीक्षकसमेत प्रतिवादी ! त्यसैले यो परिस्थिति प्रहरी अधिकृतहरुका लागि जटिल पनि थियो । अझ भर्खरै हाजिर भएका एसएसपी ज्ञवालीका लागि यो घटना ‘पहिलो गाँसमै ढुंगा’ सरह थियो ।

भट्टराई नरम, महतो गरम

आइतबार दिउँसो १ः १५ बजे टेकुमा गएर सजपाका नेताहरुले प्रहरीमा किटानी जाहेरी दिने खबर पाएसँगै प्रहरी कार्यालय अगाडि सञ्चारकर्मीहरुको भिड लागिसकेको थियो । प्रहरी अधिकृतले पनि डा. भट्टराईहरु उजुरी लिएर आउने छनक केहीअघि नै पाइसकेका थिए । प्रहरी उच्च अधिकृतहरु पहिल्यै काठमाडौंमा उजुरी दर्ता नगर्ने निष्कर्षमा पुगिसकेका थिए ।

काठमाडौं प्रहरीमा सजपाका नेताहरु आउनुअघि नै एसपी राठौरको कक्षमा प्रकरणबारे छलफल भएको थियो । घटनास्थल महोत्तरी भएकाले काठमाडौंमा ‘अनावश्यक झमेलामा नपर्ने’ निष्कर्ष अधिकृतहरुको थियो ।

सामान्य रुपमा हेर्दा कानूनले पनि जघन्य अपराध मानेको कसूर तर व्यवहारिकरुपमा सरकार, सत्तारुढ पार्टी र निवर्तमान आईजीपी पनि जोडिएको घटना । त्यसैले पनि सकेसम्म जाहेरीको लफडा पन्छाउने मनस्थितिमा प्रहरी अधिकृतहरु थिए । र, यो प्रक्रिया त्यति सहज पनि नहुने अधिकृतहरुको आशंका थियो ।

तर, उनीहरुको अनुमान विपरीतको परिस्थिति काठमाडौं प्रहरी प्रमुखको कार्यकक्षभित्र देखा पर्‍यो ।

जाहेरीमै वारदातस्थल महोत्तरी भनेपछि सुरुमै प्रश्न उठाउन मिल्ने छिद्र प्रहरीले फेला पर्‍यो । तर, अधिवक्ता दिनेश त्रिपाठीले महोत्तरीबाट ल्याएर काठमाडौंकै म्यारियट होटलमा डा. यादवलाई राखिएकाले यो कसूर काठमाडौं प्रहरी परिसरकै क्षेत्राधिकारमा पर्ने जिकिर गरे ।

सजपाका नेता उपेन्द्र यादवले पनि यो प्रकरण सार्वजनिक चासोको विषय भएको उल्लेख गर्दै पीडित पनि निवेदन लिएर आएकाले उजुरी दर्ता हुनुपर्ने माग राखे । अझ, प्रहरी आफैंले यस्तो विषयमा अनुसन्धान थाल्नुपर्ने उनको भनाइ रहेको एक अधिकृतले अनलाइनखबरलाई बताए ।

‘जाहेरी लिएर नजिककै रहेको प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न मिल्ने कानूनी आधार भएकाले पनि उजुरी दर्ता हुनुपर्ने उहाँहरुको भनाइ थियो’, ती अधिकृत भन्छन्, ‘दर्ता गर्न नमिल्ने भए पनि लिखितरुपमा कारण दिनुपर्ने उहाँहरुको माग थियो ।’

राजेन्द्र महतो भने प्रहरीविरुद्ध अन्य नेताभन्दा थप आक्रामक देखिए । प्रहरीले सरकारको गुलामगिरी गरेको आरोप उनले लगाए । प्रहरी अधिकृतले काठमाडौंमा उजुरी दर्ता नभए अन्य कानूनी उपाय पनि भएको गर्दा महतोसहित अन्य नेताले कानून नसिकाउन प्रहरीलाई चेतावनी दिएको छलफलमा सहभागी अधिकृतहरुको दाबी छ ।

चर्काचर्की बढ्दै जाँदा त्यसको सहजीकरण डा. भट्टराईले गरेका थिए । उनले प्रहरीलाई भनेका थिए, ‘तपाईं पनि जनताको छोरा, के कुरा राम्रो हुन्छ भन्ने बुझ्नुपर्छ । अपराध हो भन्ने कुरा बुझेपछि दर्ता गर्नुपर्छ ।’

अन्तिममा नम्र हुँदै डा. भट्टराईले प्रहरी पनि आफ्नै समस्यामा रहेको बताएको स्रोत बताउँछ । ‘ठीक छ, तपाईंले उजुरी दर्ता गर्न सक्नुहुन्न भन्ने हामीलाई थाहा थियो । निर्देशन त्यही होला ।’, डा. भट्टराईले भनेका थिए ।

त्यसबेलासम्म काठमाडौं प्रहरी प्रमुख ज्ञवाली पनि कार्यकक्षमा आइसकेका थिए । कार्यकक्षमा पुगेर ज्ञवालीले भिडभाडबारे प्रश्न उठाएपछि महताले उजुरी दर्ता गरे सबै निस्किने जनाएका थिए ।

यद्यपि, ज्ञवाली आइपुगेको केहीबेरमै डा. भट्टराईले पनि सहजीकरण गरेपछि स्थिति साम्य बनिसकेको थियो । अन्तिममा सजपाका नेताहरु थप कानूनी उपचार खोज्ने बताउँदै बाहिरिए ।

बाहिरिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले ओलीतन्त्रले राज्यका सबै कानून लत्याएको आरोप लगाए । देशका कार्यकारी प्रमुखको निकट रहेका मानिस र पूर्वप्रहरी प्रमुखको संलग्नतामा अपहरण जस्तो अत्यन्त जघन्य प्रकृतिको घटना भएको बताउँदै डा. भट्टराईले यो स्वतः कानून अनुसार सरकारवादी मुद्दा बन्ने विषय भएको बताए ।

‘ओलीतन्त्रले लोकतन्त्र, मूल्य, मान्यता, कानून, विधान सबै लत्याएको छ । र, राज्यको अपराधिकरण गरेको छ । आफैं संलग्न भएर अपहरण जस्तो काण्डमा मुछिएको छ’, भट्टराईले सञ्चारकर्मीहरुसँग भने, ‘यसले सबै कर्मचारी, प्रहरी प्रशासनलाई पनि आतंकित पारेको छ । त्यसैले उहाँहरुले बुझ्दाबुझ्दै पनि कानूनको पालना गर्न सकिराख्नु भएको छैन ।’

अब के गर्छ सजपा ?

सर्वेन्द्र खनाल, किसान श्रेष्ठ र महेश बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएको सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो ।

Comment


Related News

Latest News

Trending News