वीरगन्ज । दाल कालोबजारी गरेको आरोपमा प्रहरीले आइतबार २ उद्योगीसहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने उद्योगीमा बाराको परवानीपुर–४ स्थित नारायणी मोडेल पल्सेस इन्डस्ट्रिजका सञ्चालक मोहनलाल चाचान (अग्रवाल) र बाराकै छातापिपराको कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक पवन कुमार साह छन्।
उद्योगपतिद्वय चाचान र साहसँगै प्रहरीले चाचानको उद्योगमा कार्यरत कर्मचारी सुनील शर्मा, साहको उद्योगका कर्मचारी सुरेशप्रसाद र परवानीपुर–४ लिपनीमालमा रहेको महावीर ओभरसिज प्रालिका कर्मचारी सन्तोष झालाई पनि पक्राउ गरेको हो।
दाल उद्योगका सञ्चालक चाचान र पवन साहलाई वीरगन्जस्थित निवासबाट र कर्मचारीलाई भने उद्योगबाट नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मि श्रले जानकारी दिए।
लकडाउनको मौका छोपेर उद्योगबाट मसुरो दाल बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा दुई दाल उद्योगका सञ्चालक र ३ कर्मचारी गरी ५ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार ३ वटै उद्योगले लकडाउनभन्दा पहिले मसुरो दाल प्रतिकेजी ८० देखि ८५ रुपैयाँमा बिक्री गरेका थिए। तर, चैत ११ देखि दाल प्रतिकेजी ९४ देखि ९८ रुपैयाँमा बिक्री गर्दै आएका छन्। बढी मूल्यमा दाल बिक्री गरेको गुनासोका आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको टोलीले बजार र उद्योग अनुगमन गरेको थियो।