अपडेट 
२०७७ बैशाख १५, सोमबार १३:२५

विराटनगर। झापाको बाह्रदशी गाँउपालिकामा भेटिएका कोरोना संक्रमित निजामुद्दिन तबलिगीमा पुगेर फर्केको खुलेको छ।

आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको यसअघि दुईपटक र्यापिड टेस्ट गर्दा नेगेटिभ देखिएको थियो। उनको बैशाख ४ गते पहिलो पटक र शनिबार मात्रै दोस्रो पटक आरडीटी परीक्षण गरिएको थियो। आइतबार भने पिसिआर प्रविधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

भारतको नयाँदिल्लीस्थित निजामुद्दिनमा मुस्लिम संस्था तबलिगी जमातको हेडक्वार्टरमा भएको धार्मिकसभामा सहभागी भएर घर फर्किएको ४५ दिनपछि उनमा कोरोना संक्रमणको पुष्टि भएको छ।

फागुन २० गते भएको सभामा सहभागी भई उनी फागुन २८ गते झापा घर फर्किएका थिए। उनी होम क्वारेन्टाइनमा नबसेको स्थानीयले बताएका छन्। आइतबार विराटनगरको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा ५० वर्षीय उनमा कोरोना संक्रमणको पुष्टि भएको हो।

अहिले गाउँपालिकाले थप सर्तकता अपनाउँदै गाउँपालिकामा आवतजावत पूर्ण रुपमा बन्देज लगाइएको छ।

गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकामा आवतजावत गर्न निषेध गर्ने निर्णय गरेको हो। संघीय सांसद् राजेन्द्र लिङ्देनसमेत सहभागी रहेको गाउँपालिका बैठकले पूर्वतर्फ कञ्चनगढ, पश्चिममा विरिङ खोला, उत्तरमा पाख्रीवास र दक्षिणमा राधानगर (घाग्रा खोला) सम्मको चारकिल्ला भू-भागमा हिँडडुल गर्न पूर्ण प्रतिबन्ध लगाएको छ।

गाउँपालिका अध्यक्ष राजवंशीको अध्यक्षतामा निषेधित क्षेत्रको समन्वयका लागि ९ सदस्यीय समिति समेत गठन भएको छ। गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशी, वडा नम्वर ३, ४ र ५ का वडाअध्यक्षहरु, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी सदस्य रहने गरी समिति गठन भएको उपाध्यक्ष रत्ना राजबंशीले बताइन्।

संक्रमितलाई कोरोना अस्पताल विराटनगर लगिएको छ। योसँगै झापामा कोरोना संक्रमितको संख्या दुई पुगेको छ। यसअघि बैशाख १२ गते दमक निवासी ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

कोरोना संक्रमणको पुष्टि भएसंगै दमक नगरपालिकाले पनि उच्च सर्तकता अपनाएको छ।

Comment


Related News

Latest News

Trending News