अपडेट 
२०७७ बैशाख १५, सोमबार १३:५३

काठमाण्डाै । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोकथामका लागि देश लकडाउन भएकाे एक महिनाभन्दा बढी भइसकेको छ । यसले मानवीय क्षति हुनबाट देशलाई जोगाएको छ । तर अर्थतन्त्रमा भने इतिहासमै सबैभन्दा ठूलो असर परेको छ ।

देशका सबै क्षेत्रहरु ठप्प छन् । सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको छ । देशभर सञ्चालनमा रहेका होटलहरु पनि पूर्णरुपमा बन्द छन् । विश्वभर फैलिएको कोरोना भाइरसकाे महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि देश पूर्णरुपमा लकडाउन भएपछि नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै असर परेको छ । पर्यटन क्षेत्रभित्र पनि होटल व्यवसायमा सबैभन्दा धेरै नोक्सानी भएको छ ।

नेपालमा रहेका तारे होटल, रिसोर्ट, होमस्टेलगायत अन्य होटलहरु पूर्णरुपमा बन्द भएको छ । यसबाट होटल व्यवसायमा अरबाैँकाे नोक्सानी मात्र भएको छैन ठूलो सङ्ख्यामा बेरोजगारी बढ्ने खतरासमेत बढेको छ । खासगरी तारे होटल, होमस्टे एवं रिसोर्टहरुका ग्राहक पर्यटक हुन् । तर देश लकडाउन भएपछि सबै उडानहरु स्थगित भएको र मानिसहरुको आवागमन ठप्प भएपछि होटल व्यवसायमा अरबाैँ रुपैयाँकाे नोक्सानी भएको छ ।

नेपालमा १५ भन्दा बढी पाँच तारे होटल, आठ वटा चार तारे होटल, ३७ वटा तीन तारे होटल, ४३ वटा दुई तारे हाेटल र ३३ भन्दा बढी एक तारे होटल सञ्चालनमा रहेका छन् । यसबाहेक देशभर साढे दुई सयभन्दा बढी होमस्टे सञ्चालनमा छन् भने पर्यटकस्तरका होटलहरु एक हजार एक सयभन्दा बढी सञ्चालनमा छन् ।

यी सबै होटलहरु अहिले बन्द रहेका छन् । जसका कारण होटल क्षेत्रमा अरबाैँ रुपैयाँकाे नोक्सानी भएको छ । नेपालको होटल क्षेत्रमा बैंकहरुले समेत कर्जा लगानी गरेका छन् । व्यवसाय नै ठप्प भएपछि बैंकको किस्ता भुक्तानी गर्नसमेत होटल व्यवसायीहरुलाई समस्या पर्ने देखिन्छ । होटलको अकुपेन्सी रेट शून्य अवस्थामा आउँदा पनि अहिलेसम्म होटल क्षेत्रको क्षतिको लागि सरकारले कुनै पनि प्याकेज ल्याएको छैन ।

होटल व्यवसायीहरुले छोटो समयमा देखिएको यो सङ्कटले अर्को दुई वर्षसम्म असर पार्न सक्ने बताउँदै आएका छन् । देश लकडाउनका कारण ठप्प बनेपछि नेपालको अर्थतन्त्र नै चौपट भएको छ । नेपालमा चिनियाँ, भारतीय एवं युरोपेली पर्यटकहरु सबैभन्दा धेरै आउने गरेका छन् ।

कोरोना भाइरस महामारीका कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० पनि स्थगित भइसकेको छ । पर्यटन वर्षमा धेरै पर्यटक ल्याउन ठूलो लगानी गरेका होटल व्यवसायीहरु होटल बन्द गरेर बस्नुपरेपछि अझ बढी समस्यामा छन् । सरकारले होटल क्षेत्रका लागि समयमै उचित राहत दिन नसके खरबाैँ रुपैयाँ लगानी भएको होटल क्षेत्र बन्द हुने मात्र नभइ नेपालको पर्यटन क्षेत्र नै सङ्कटमा पर्ने अवस्थामा पुग्ने छ । साथै लाखौँ नागरिकको रोजगारीसमेत गुम्ने छ । 

Comment


Related News

Latest News

Trending News