अपडेट 
२०७७ बैशाख १५, सोमबार १४:०३

जनकपुरधाम । कोरोना भाइरसबाट जोगिन सरकारले देशलाई लकडाउन गरेको एक महिना नाघिसकेको छ। मजदुरी गरेर साँझ विहान छाक टार्ने गरिब मजदुरहरु लकडाउनका कारण काम पाइरहेका छैनन्। जसका कारण उनीहरु मुस्किलमा परेका छन्।

लकडाउनमा हातमुख जोड्न समस्या हुनेहरुका लागि राहत वितरण गर्न संघीय सरकारले स्थानीय तहलाई तत्कालै निर्देशन जारी गर्यो। प्रदेश सरकारले राहत वितरण गर्न महानगरपालिकालाई २५ लाख, उपमहानगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखका दरले रकम निकासा गरेको पनि तीन साता बितिसकेको छ। तर प्रदेश २ का अधिकांश स्थानीय तहले राहत वितरण गर्न सकेका छैनन्।

राहत नपाउँदा गरिब मजदुरका परिवार भोकै मर्ने स्थितिमा पुगेका छन्। राहत वितरणमा ढिलाइ भइरहेको भन्दै गाउँगाउँमा जनआक्रोस बढ्दै गएको छ। आइतबार सिरहाको सुखीपुर नगरपालिकाका मेयर रामऔतार यादवलाई स्थानीयले जनताबाट संकलन गरेको राहत बुझाए। आज औरही गाउँपालिकाका युवाहरुले पनि गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवलाई नै राहत बुझाउने भएका छन्।

औरहीका युवाहरुले गाउँघरमा जनताबाट राहत संकलन सुरु गरेका छन्। ‘जनताको जीवनसँग खेलवाड गर्न पाइँदैन’ भन्दै युवाहरुले अध्यक्षका लागि राहत संकलन कार्य थालेका हुन्। राहत वितरण गर्न पटकपटक दबाब दिए पनि अध्यक्ष यादवले वास्ता नगरेपछि अब उनकै लागि राहत संकलन थालेको स्थानीय विवेक दासले बताए। उनले संकलन गरिरहेको राहत यादवलाई बुझाउने बताए।

‘राहतको पर्खाइमा जनता बसेका छन्’, उनले भने, ‘तर अध्यक्ष यादवलाई मतलबै छैन। बाध्य भएर उनलाई नै दिन राहत संकलन गरिरहेका छौं।’ जनताले यादवका लागि चामल, दाल, तरकारी, रुपैयाँ जस्ता सामान राहत दिएको उनले बताए। चुनावका बेला ठूला-ठूला सपना देखाएका अध्यक्ष यादवले अहिले संकटमा परेका गरिब जनताको जीवनसँग खेलवाड गर्नु ठूलो विडम्बना भएको उनको भनाइ छ।

‘राहत पाउनेहरुको सूची हामी युवाहरुले नै संकलन गरेका थियौं’, उनले गुनासो गरे, ‘गरिब जनता आफूहरुसँग पटकपटक कहिले राहत दिन्छ? भनी सोध्छन्। उनीहरुलाई जवाफ दिँदादिँदै हैरान भइसक्यौं। गाउँमा मुख देखाउने अवस्था रहेन। तर अध्यक्ष भेट्न पनि मानेका छैनन्।’ राहत नपाउँदा विपन्न नागरिकले गाली गर्न थालेको उनले सुनाए।

राहत वितरणमा ढिलाइ भइरहेको विषयमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष यादवसँग सम्पर्क हुन सकेन। वडा नम्बर ५ का वडाअध्यक्ष दिलिप यादवले राहत वितरण गर्नुपर्ने विवरण पनि गाउँपालिकामा बुझाइसकेको भन्दै वितरणमा किन ढिलाइ गरेको विषयमा कुनै जानकारी नगराएको प्रतिक्रिया दिए। उनले राहत वितरणमा अध्यक्ष यादवले राजनीति गरिरहेको आरोपसमेत लगाए।

Comment


Related News

Latest News

Trending News