अपडेट 
२०७७ बैशाख १५, सोमबार १५:१०

जनकपुरधाम । कोरोना महामारीबाट जोगिन संघीय सरकारले पाँचौं पटक लकडाउन थपेको छ । कोभिड -१९ को दोस्रो बिरामी नेपालमा फेला परेदेखि चैत्र ११ बाट सुरु भएको लकडाउन थप दश दिनका लागि बढाइएको छ । देश बन्दाबन्दी भएको ३५ दिन बितिसकेको छ तर, प्रदेश २ का अधिकांश स्थानीय तहमा पहिलो चरणको राहत समेत वितरण हुन सकेको छैन् । 

जनप्रतिनिधिबीच तालमेल नमिल्दा मजदुर तथा विपन्न परिवारले पाउनुपर्ने राहत थन्किएको छ । प्रदेश २ सरकारले मजदुर र अति विपन्न परिवारलाई लकडाउनको अवधिमा भोकै बस्नु नपरोस् भन्दै जनकपुरधाम उपमहानगरपालिकालाई २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । 

तर, २५ वटा वाड रहेको उपमहानगरपालिकामा हालसम्म पनि सरकारी राहत मजदुर तथा गरिबको घरमा पुग्न सकेको छैन् । राहत वितरणमा उपमहानगरपालिकाबाट भएको ढिलाइले निकै आलोचना पाइरहँदा आइतबार वडा नम्बर ५ मा केही परिवारलाई राहत दिइयो । तर, अन्य वडा भने हालसम्म रित्तै छन् । 

सरकारी तवरबाट राहत वितरण हुन ढिलाइ भएपछि केही वाडअध्यक्षले व्यक्तिगत रुपमा केही दातालाई आग्रह गरेर वाडका गरिब तथा असहायलाई सहयोग गरेका छन् । लकडाउन भएदेखि वाडका असहायलाई दाताहरुको सहयोगमा ६ चरणमा राहत उपलब्ध गराएको उपमहानगरपालिका— ३ का वाड अध्यक्ष दिपेन्द्र साह बताउँछन् । ‘सरकारी राहत अहिलेसम्म वाडमा पुगेको छैन्,’ वाडअध्यक्ष साहले भने, ‘नगरप्रमुखले के हेरेर बसेका छन् हामीलाई थाहा भएन् ।’

उपमहानगरपालिका प्रमुख लालकिशोर साहको मनमानीकै कारण राहत वितरणमा ढिलाइ भएको कार्यपालिका सदस्य श्यामप्रसाद साह बताउँछन् । ‘लकडाउन सुरु भएकै बेला कार्यपालिकामा भएको निर्णय अनुसार प्रति परिवार ३० किलो चामल, ३ किलो दालसहित प्रदेश सरकारले दिएको निर्देशिका बमोजिम राहत वितरण गर्ने भनिएको थियो, ‘साहले भने, ‘तर, अहिले आएर नगरप्रमुख साहले १५ किलो चामल मात्रै दिने दाल बापत पैसै दिने जस्ता कुराहरु गरेका छन् र यसमा हाम्रो विमति छ ।’

‘लकडाउनको एक महिना बितिसक्दा पनि वाडका विपन्नलाई राहत दिन सकेका छैनौं,’ वडानम्बर ९ का वडा अध्यक्ष परमेश्वर साहले भने, ‘केही वडामा राहत पुर्‍याउने काम भएपनि हाम्रो वडामा भएको छैन् ।’

‘हाम्रो वडामा जनकपुरधाम उपमहानगरपालिकाबाट केही उपलब्ध भएको छैन्, वडानम्बर ७ का वडाअध्यक्ष जानकी राम साहले भने, ‘केही संघसंस्था, निजि स्रोत र व्यापारीको सहयोगमा व्यक्तिगत रुपमा राहत वितरण भएको छ उपमहानगरपालिकाबाट केही भएको छैन् ।’
 
लकडाउनको अवधिमा जनकपुरधाम उपमहानगरपालिले नगरक्षेत्रमा सेनिटाइजेसनको काम र जनचेतना फैलाउने काम गरिरहेको प्रशासकीय अधिकृत गोपाल प्रसाद रेग्मी बताउँछन् ।  राहत वितरणका लागि खाद्यान्न खरिद प्रकृयामा जानुअघि कानुनी प्रक्रिया मिलाउँदा केही ढिलाइ भएको रेग्मी बताउँछन् । ‘१५ केजी चामल, एक प्याकेट तेल, एक प्याकेट नुन, साबुन र दाल तरकारीबापत ३ सय रुपैयाँ दिने गरेका छौं।’

साढे १६ हजारको संख्यामा गरिब तथा अति विपन्न परिवारलाई पहिलो चरणमा राहत वितरणका लागि सामान खरिद गरिएको रेग्मीले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News