अपडेट 
२०७७ बैशाख १५, सोमबार २२:१३

धनगढी । स्थानीय सरकारले गाडी पास दिलाउँदै सुदूरपश्चिमका पहाडि जिल्लामा यात्रु ओसार्ने काम भइरहेको छ । लकडाउन लम्बिँदै गएपछि विभिन्न कामको शिलशिलामा पहाडबाट तराई झरेका बसमा कोचकोच गरी पहाडि जिल्लातिर गइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीबाट पहाडि जिल्लाका लागि दैनिक १० भन्दा बढी बस गइरहेका छन् । ४ दिनदेखि लगातार सुदूरका पहाडि जिल्लामा यात्रुहरु गइरहेका छन् । कामको शिलशिलामा धनगढीमा अलपत्र अवस्थामा परेपछि सम्बन्धित जिल्लामा गाडी पासको व्यवस्था गरी पठाउने काम भइरहेको धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले बताए।’लकडाउन लम्बिँदै गएपछि आफन्तको घरमा बसेकाहरु र विद्यार्थी मर्कामा परेका छन् ।

धनगढीका स्थानीयलाई पनि काठमाडौंमा अप्ठ्यारो अवस्था रहेकालाई ल्याउने काम भएको उनले जानकारी दिए ।  कोरोना भाइरस (कोभिड-१९) भाइरस संक्रमण रोक्नका लागि सरकारले चैत ११ गते देखि निरन्तर रुपमा लकडाउन जारी राखेको छ । 

स्थानीय तहले गाडी पासको व्यवस्था गरेपनि जिल्ला प्रशासनले यात्रु वहाक गाडीलाई भने पास दिएको छैन। ‘कुनै पनि यात्रु बहाक बसलाई पास दिएको छैन,’ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने, ‘अलपत्रमा परेकालाई उद्दार गर्ने काम गरी रहनु भएको होला । जिल्ला प्रशासनबाट कुनै पनि पास दिएको छैन् ।’
 
संघीय सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ । उपत्यकासहित विभिन्न जिल्लाबाट स्थायी थातथलो जाने यात्रुलाई स्थानीय तहबाट गरिँदै आएको उद्दार अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ । 

पछिल्लो एक सातायता उपत्यकासहित विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो पालिका मातहतका यात्रुलाई नगरपालिका तथा गाउँपालिका र जनप्रतिनिधिको पहलमा घर पठाउन थालिएको छ।

सुदूरपश्चिमका पहाडि ७ जिल्लाका अधिकांश नागरिकको तराईमा पनि बसोवास रहेकाले तलमाथि गरिरहेका छन् । कुनै चेकजाँज विना उनीहरु पहाड गइरहेका छन् । धनगढी बस पार्क प्रहरी बिटमा बस्ने प्रहरी नायव निरीक्षक रामबहादुर थापाले गाडी पास लिएका यात्रुहरु गइरहेको बताए । ‘यहाँ कुनै चेक जाँच गरिदैन्, उनले भने, ‘जुन स्थानीय तहमा जाने उतै स्वास्थ्य परीक्षण हुन्छ होला । हामीले खाली कति बस छुटे भन्ने मात्र तथ्यांक राख्ने हो ।’
 
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको दर पछिल्ला दिनमा स्थिर अवस्थामा छ । कोरोना संक्रमित भएको पुष्टि भई सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँच जनामध्ये चारजना निको भई डिस्चार्ज भएका छन् । उपचाररत एकजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका जानकारी दिएको छ।

Comment


Related News

Latest News

Trending News