अपडेट 
२०७७ बैशाख १६, मंगलवार १२:१८

बिराटनगर । कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुरबाट सोमबार ९१ जनाको स्वाब नमूना परीक्षणका लागि कोशी जनस्वास्थ्य प्रयोगशाला विभाग विराटनगर पठाइएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार आइतबार ८३ र सोमबार थप आठ जनाको स्वाब नमूना सङ्कलन गरेर पठाइएको हो ।

त्रियुगा नगरपालिका गाईघाट डिएमगेट टोलका मुस्लिम नागरिक, मोतीगडा, जिल्लाका केही स्वास्थ्यकर्मीसहित भुल्के क्षेत्रका नागरिकको स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताउनुभयो । पठाइएको नमूना सङ्कलनको रिपोर्ट बुधबारसम्ममा आउने अपेक्षा गरिएको छ । कोरोना सङ्क्रमणको अवस्था सामान्य बन्दै गएका कारण अब आवश्यकता र मागअनुसार मात्र स्वाब नमूना सङ्कलन गर्न लागिएको प्रमुख सुबेदीले बताउनुभयो । उदयपुरमा कोरोनाबाट २८ सङ्क्रमित भएका छन् ।

गाउँलेद्वारा परीक्षण गर्न माग

त्रियुगा नगरपालिका–३ भुल्केवासीले कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन र परीक्षण हुनपर्ने माग गरेका छन् । २८ कोरोना सङ्क्रमित रहेको भुल्केगाउँमा हालसम्म ३२४ को मात्र स्वाब नमूना सङ्कलन गरी परीक्षण भएको तर यो सबै गाउँलेका लागि पर्याप्त नभएको र ढुक्क रहने अवस्था नरहेका कारण अब प्रत्येक घरघरका परिवारको समेत नमूना सङ्कलन र परीक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।

भुल्केका ईश्वरीप्रसाद भट्टराई भन्नुहुन्छ, “अहिलेसम्म भुल्केमा ५५ घर मुस्लिम परिवारसहित केही स्थानीयवासी गरेर ३२४ को मात्र स्वाब परीक्षण गरिएको छ । बाँकी अन्य ३०० घरपरिवारका अन्य समुदायको पनि छिटोभन्दा छिटो स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्न आफूहरु जोडदार माग गर्दछौँ ।” स्वास्थ्य कार्यलय, स्थानीय प्रशासन र प्रदेशका मुख्यमन्त्री, मन्त्रीले समेत भुल्केवासी सबैको स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्ने भनेर आफूहरुलाई ढुक्क पारेको भए पनि अहिलेसम्म बाँकी गाउँलेको स्वाब सङ्कलन र परीक्षण हुन नसकेकामा दुःखी भएको ७० वर्षीय कृष्णप्रसाद ढकाल बताउनुहुन्छ ।

त्रियुगा नगरपालिका–३ का वडाध्यक्ष अपदेश चौधरीका अनुसार भुल्केमा मुस्लिम समुदायबाहेक पहाडी समुदाय क्षेत्री, ब्रह्माण, राई, कामी, दमाई, भुजेलसहित चौधरी जाति बसोबास गर्दै आएका छन् । वडाध्यक्ष चौधरीका अनुसार भुल्केको सबै बासिन्दाको स्वाब नमूना सङ्कलन र परीक्षण हुन आवश्यक रहेको र आफूले सोहीअनुसार पटक–पटक माग गरेको बताउनुहुन्छ । स्वास्थ्य कार्यालय प्रमुख सुवेदीका अनुसार आवश्यकअनुसार भुल्केमा कोरोनाको स्वाब नमूना सङ्कलन र परीक्षण गर्ने काम भइरहेको र छिट्टै छलफल गरेर सामग्री तयार गरी स्वाब नमूना सङ्कलन गर्ने तयारीमा रहेको बताउनुभयो ।

Comment


Related News