अपडेट 
२०७७ बैशाख १६, मंगलवार १३:२१

जनकपुरधाम । लकडाउनका कारण संकटमा परेपछि काठमाडौंबाट पैदले घर हिँडेका ३३ भारतीय मजदुर धनुषा आएर अलपत्र परेका छन्। उनीहरु भारत, विहार राज्यको दरभंगा र मधुवनी जिल्लाका हुन्।

सोमबार दिउसो धनुषाको जटही नाकाबाट भारत प्रवेश गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएर नगराइन नगरपालिका २ स्थित राजेश्वर निधि माध्यमिक विद्यालयमा राखिदिएका छन्। तर खान र बस्ने व्यवस्थापन मिलाइदिएका छैन। जसका कारण उनीहरु रातभर विद्यालय भवनको प्यासेजमा रात विताएका छन्।

गत आइतबार काठमाडौंबाट हिँडेपछि सोमबार यहाँ आइपुगे तर प्रहरीले सीमा पार गर्न नदिएपछि अलपत्र परेको २० वर्षीय सन्तोष सदायले सुनाए। विहारको दरभंगाका घर भएका उनी ललितपुरको लेले गाउँस्थित एचडी इटा उधोगमा कार्यरत थिए।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशलाई लकडाउन गरेपछि उनीहरु कार्यरत इटा उधोग ठप्प भयो । त्यसपछि उद्योग मालिक उनीहरुलाई वास्ता गर्न छाडे। खान पनि समस्या भएपछि बाध्य भएर उनीहरु पैदलै घर जाने आँट गरे। सीमा नाकासम्म आइपुगे पनि। तर प्रहरीले भारत छिर्न दिएनन्।

मजदुर सदाय भन्छन्, ‘काठमाडौंबाट यहाँसम्म जसोतसो यहाँसम्म त आइपुगे। तर प्रहरीले सीमा पार गर्न दिएन्। यो स्कूलमा ल्याएर राख्यो। यहाँ न खाने सुविधा छ, न बस्ने।’ उनले प्रशासनले ग्यास, रासन र भाडा वर्तन दिएपछि राति आफैं खाना पकाएर खाएको सुनाए। उनले लामखुट्टेले टोकेर रातभर सुत्न नपाएको गुनासो गरे।

उनीजस्तै पीडा सुनाए अर्का मजदुर दरभंगाका विश्वनाथ राम। उनले भने, ‘इटा उद्योग बन्द भएपछि मालिक भेट्न पनि छोड्यो। पसलमा पनि उधारो समान दिन बन्द गर्‍यो। भोकै बस्नुपर्ने अवस्था आएपछि घर गइहाल्छु सोचेको थिए। तर यहाँ आएर फसे।’ प्रशासनले घर पुर्याइदिनुपर्यो वा बस्न र खान राम्रो व्यवस्था गरिदिनुपर्यो– उनले थपे।

उनीहरुलाई राखिएको विद्यालयमा बस्नका लागि कोठाहरु छन्, तर सबैमा ताला झुण्डिएको छ। रातिदेखि नै उनीहरु कोही फिल्डमा आकाशमुनि बसे भने कोही प्यासेजमा आफूसँग भएको लुगा ओछ्याएर रात काटे। मजदुर राम भन्छन्, ‘के गर्नु? ठूलो समस्यामा फसेँ। घर जान नदिए यही बस्छौं। तर बस्न र खाने व्यवस्था गर्न पहल गरिदिनुस्।’

विद्यालयमा भेटिएका स्थानीय रामशरण साहले प्रशासनले भारत पठाइदिने भनेपनि अहिलेसम्म केही म्यासेज नदिएको बताए। उनले भने, ‘उनीहरुलाई यहाँ ल्याएर राखिदिएपछि वडाध्यक्ष देवलाल यादवले खाना पकाएर खान समानहरु किनेर दिएका छन्। तर प्रशासनले पठाइदिने आश्वासन दिएपछि बस्ने व्यवस्था मिलाउन सकेन।’

यता, धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले उनीहरुलाई क्वारेन्टाइनमा राख्न सकिने बताएका छन्। उनीहरुलाई खान र बस्न पनि समस्या छ भन्ने जिज्ञासामा उनले भने, ‘प्रहरीले बस्न र खानको व्यवस्था गरेको होला। म पनि बुझ्छु।’

Comment


Related News

Latest News

Trending News