काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन भएको आज ३६ औं दिनमा लाखौँ करोडौं लगानीका हजारौं व्यवसाय ठप्प छन् ।
अत्यावश्यक सेवा भएकाले औषधि पसल र मेडिकल सप्लायर्सहरुले २४ घण्टा व्यवसाय गर्ने छुट पाएका छन् । तर यही मौकामा कतिपयले कालोबजारीको धन्दा चलाएका छन् । कमजोर अनुगमनको फाइदा उठाउँदै उपभोक्ता ठगिरहेका उनीहरु पछिल्लो समयमा भने दैनिकजसो कानुनको फन्दामा परिरहेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कारबाहीमा परेकाहरुको सूची हेर्दा बदमासी गर्नेमा औषधि पसलेदेखि ठूला मेडिकल सप्लायर्ससम्म देखिन्छन् ।
थर्मल गनमा फसेका अर्बपति
शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारीको आरोपमा २५ चैतमा पक्राउ परे । कीर्गिस्तानको अवैतानिक वाणिज्य दूतसमेत रहेका उनले ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको थाह पाएपछि प्रहरीहरुले छद्म व्यापारी बनेर डिल गरेका थिए ।
पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न तयार भएका अग्रवालबाट प्रहरीले ६७ थान थर्मल गन बरामद गरेको थियो । प्रहरीले अग्रवालबिरुद्ध चारवटा मुद्धा चलाउन सरकारी वकिल कार्यालयमा फाइल बुझाएको छ ।
त्रिपुरेश्वरकै बदनाम
वाणिज्य विभागले १२ चैतदेखि १४ वैशाखसम्म बढी मूल्यमा स्वास्थ्य सामाग्रि बिक्री गर्ने ११ वटा फर्म तथा सप्लायर्सलाई जरिवाना गरिसकेको छ । जसतमध्ये अधिकांश सप्लायर्स त्रिपुरेश्वर क्षेत्रका छन् । उनीहरुले सिरिन्ज, ज्वरो नाप्ने थर्मल गन, मास्क, पीपीई सेटलगायतका स्वस्थ सामग्री बिक्रीमा बदमासी गरेका छन् ।
वाणिज्य विभागले ती बिक्रेतालाई १५ लाख ९० हजार रुपैयाँभन्दा बढी जरिवाना गरेको छ ।
बदमासी र जरिवाना
क्र.स. | नाम ठेगाना | कसुर | जरिवाना (रु) | मिति |
१ | न्यू हिमालय सर्जिकल हाउस, त्रिपुरेश्वर | २० प्रतिशतभन्दा बढी नाफा राखेर सिरिन्ज बिक्री गरेको | २ लाख | वैशाख १४ |
२ | भण्डारी सर्जिकल त्रिपुरेश्वर | व्यवसाय दर्ता नदेखाएको | ५० हजार | वैशाख १२ |
३ | समिट हस्पिटल, लोकन्थली भक्तपुर | आठ रुपैयाँको मास्कलाई २० रुपैयाँमा बिक्री गरेको | २ लाख | वैशाख ५ |
४ | इन्टरनेश्नल प्याथो साइन्टिफिक टेड्रर्स त्रिपुरेश्वर | स्वास्थ्य सामग्री बढी मूल्य | २ लाख | वैशाख ७ |
५ | सिरिस सप्लार्याय, त्रिपुरेश्वर | स्वास्थ्य सामग्री बढी मूल्य | २ लाख | वैशाख ७ |
६ | देउती सर्जिकल एण्ड साइन्टिफिक ट्रेडर्स | ४५ सयको थर्मल गनलाई ५७ सयमा बिक्री गरेको | २ लाख | वैशाख १० |
७ | गौतम इन्टरनेश्नल ट्रेडर्स, त्रिपुरेश्वर | दुई पटक चेतावनी दिँदा खरिद बिक्री बिल नराखेको नराखेको | ४० हजार | वैशाख १० |
८ | कालिका टेडर्स, सुकेधारा | नाइन्टी फाइभ मास्क ४ सयमा किनेर ६ सयमा बिक्री | ३ लाख | वैशाख १२ |
९ | महालक्ष्मी ईशान ट्रेडर्स, त्रिपुरेश्वर वैशाख १२ | दुई हजार रुपैयाँ बढी लिएर पीपीई सेट बिक्री गरेको | २ लाख | वैशाख १२ |
१० | कान्तिपुर सर्जिकल, त्रिपुरेश्वर | बिक्री बिल नदेखाएका | २ लाख | वैशाख १२ |
११ | प्रतिभा फार्मेसी, चापागाउँ, ललितपुर | मास्क ८ रुपैयाँको मास्क २० रुपैयाँमा बिक्री गरेको | २ लाख | वैशाख १४ |
कालो बजारीमा कारबाही गर्न माग
व्यवसायिक मर्यादा पालना गराउन उपभोक्ता संरक्षण ऐन अन्र्तगत कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भनाई छ । उपभोक्ता नठगिउन् भन्ने उदेश्यले मात्र कारबाही चलाइएको विभाग बताउँछ ।
विभागका अनुगमन शाखा निर्देशक सागर मिश्र व्यवसायी आफैं मर्यादित भए कारबाही आवश्यक नपर्ने बताउँछन् । तर व्यवसायीहरुमा कसले के गर्छ र ? भन्ने सोच पाइएको उनले बताए ।
उपभोक्ता संरक्षण ऐन अन्र्तगत विभागले अधिकतम तीन लाख रुपैयाँ जरिवाना गर्न सक्छ । तर, यो ऐनले मात्र अहिलेको बेथिति नियन्त्रण गर्न नसक्ने उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ । ठग ब्यापारीको बद्मासी रोक्न कालोबजारी ऐन लगाउनुपर्ने उनीहरुले माग छ ।
‘असल व्यापारीले ठगि गर्दैनन्, खराबलाई पैसा तिराएर माफ दिदा ठगी घट्दैन’, अधिकारकर्मी प्रेमलाल मर्हजन भन्छन्, ‘अझ संकटको बेलामा ठग्नु महापाप हो, त्यस्ता व्यापारीलाई कालोबजारी ऐन लगाएर नियन्त्रण गर्न पर्छ ।’