अपडेट 
२०७७ बैशाख १६, मंगलवार १९:३१

 काठमाडौं । कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन नेपाल राष्ट्र बैंकले बै‌ंक तथा वित्तीय स‌ंस्थाहरुलाई निर्देशन दिएको छ ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो ।

चैत मसान्तसम्मको कायम ब्याजदरमा चौथो त्रैमास अर्थात वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैंकले भनेको हो ।

राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवका अवसरमा लिखित मन्तव्य सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले चौथो त्रैमासको ब्याजमा सहुलियत दिने घोषणा गरेका थिए । सोही घोषणाअनुसार राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरेको हो ।

तर यो सहुलियत सबै ऋणीहरुले भने पाउने छैनन् । राष्ट्र बैंकका अनुसार यो सहुलियत पाउन कोरोनाबाट प्रभावित भएकै हुनुपर्नेछ ।

खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेसन, साबुन तथा केमिकल उद्योगले यो सुविधा पाउने छैनन् ।

यसैगरी मेडिकल पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले समेत यो सुविधा नपाउने राष्ट्र बैंकले बताएको छ ।

होटल, रेष्टुरेन्ट, ट्रेकिङलगायतका पर्यटन क्षेत्र, हवाई उड्डयन तथा सार्वजनिक यातायात क्षेत्र र निर्यात उद्योगहरुले यो सुविधा पाउने राष्ट्र बैंकले बताएको छ ।

कोरोना प्रभावित क्षेत्रहरुका लागि कर्जा लगानी गरेका लघुवित्त वित्तीय संस्थाहरुले भने ३ प्रतिशत ब्याज छुट दिनु पर्ने भएको छ । राष्ट्र बैंकले लघुवित्तहरुलाई ३ प्रतिशत ब्याज छुट दिन निर्देशन दिएको हो ।

होलसेल कर्जा लगानी गर्ने लघुवित्तहरुको हकमा भने २ प्रतिशतमात्रै छुट दिन राष्ट्र बैंकले भनेको छ । बैंक तथा वित्तीय संस्थाहरुले वैशाख र जेठमा असुल गर्नुपर्ने मासिक तथा त्रैमासिक किस्ताहरुको भुक्तानी असार मसान्तसम्म हुने व्यवस्था मिलाउनु पर्ने समेत राष्ट्र बैंकले बताएको छ ।

यस अवधिमा तिर्नु पर्ने कर्जा असार मसान्तमा तिर्दा थप शुल्क वा हर्जना नलिन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Comment


Related News

Latest News

Trending News