अपडेट 
२०७७ बैशाख १६, मंगलवार २०:१५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बुधबार बस्ने भएको छ। मंगलबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलपछि बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको हो। 

मंगलबार नै सचिवालय बैठक बस्ने भनिएको भए पनि दुई अध्यक्षबीचको छलफल लम्बिएपछि बुधबार साँझ ५ बजेका लागि सचिवालय बैठक बस्ने जानकारी सचिवालय सदस्यलाई गराइएको हो। 

मंगलबार प्रधानमन्त्री ओलीले पार्टीका सांसदसँग समेत छलफल गरेका छन्। पार्टी संसदीय दलमा बहुमत रहेको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले आफू निकट सांसदसँगको छलफललाई तिब्रता दिएका हुन्। ओलीले दुवै तिरका सांसदलाई रिजाउने प्रयासमेत गरेका छन्। 

पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गर्न प्रधाानमन्त्री ओलीले मन्त्रिपरिषद् सदस्यको हेरफेरदेखि मुख्यमन्त्री परिवर्तनसम्मका प्रस्ताव अघि सारेका छन्। 

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले भने पार्टी र सरकारको काममा समन्वय नभएको भन्दै प्रधानमन्त्रीसँग असन्तुष्टि राख्दै आएका छन्। प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा जिम्मेवारी मात्र सम्हाल्न आग्रह गर्दै आएका छन्। 

पार्टी भित्रको विवाद पेचिलो बन्दै गर्दा नेताहरुले आफ्नो पक्षका केन्द्रीय सदस्यदेखि सांसदसम्मलाई राजधानीमै बस्न आग्रह गरेका छन्। अहिले दुवै पक्षले सांसदलाई बोलाएर पार्टीको लाइन प्रष्ट पार्न अनुरोध गरिरहेका छन्। पार्टी भित्रको आन्तरिक संघर्षले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम र नियन्त्रणको विषय भने ओझेल पर्ने देखिएको छ। 

Comment


Related News

Latest News

Trending News