अपडेट 
२०७७ बैशाख १७, बुधबार ०७:३७

सिराहा। सिराहाको धनगढीमाई नगरपालिका– ११ छपराढीस्थित कोरोना विशेष अस्थायी अस्पतालमा कोरोना आशंका भएका बिरामी जाँच्ने स्वास्थ्यकर्मीलाई हुन सक्ने संक्रमण रोक्न टेस्ट बुथ सञ्चालन गरिएको छ। 

सिराहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले बुथको उद्घाटन गरेका हुन्। १७ चैतदेखि नेपाली सेनाको चोहर्वास्थित शेर गणको प्रत्यक्ष निगरानीमा महेन्द्र गेनाई स्मृति प्रसूति तथा बाल कल्याण अस्पतालमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा टेस्ट बुथ सञ्चालन गरिएको हो। 

सहसेनानी प्रकाश श्रेष्ठको कमाण्डमा बुथ सञ्चालन गरिएको छ। टेस्ट बुथमा स्वास्थ्यकर्मी बसेर कोरोना आशंकाका बिरामी जाँच्दा सुरक्षित महसुस भएको डा. सुवाष मण्डलले बताए। 

‘बाहिरको हावा नछिर्ने, ग्लोब्ससमेत जडान भएको बुथ सञ्चालनले स्वास्थ्यकर्मीलाई हुन सक्ने संक्रमणको जोखिम घटाएको छ,’ उनले भने। अस्पतालमा दुई चिकित्सक, अहेव, अनमिसहित सातजना प्यारामेडिक्स खटिएका छन्। 

जाँच गरिएका सबैको नतिजा निगेटिभ
कोरोना विशेष अस्पतालबाट मंगलबार बिहानसम्म तीन साता क्वारेन्टाइनमा बसेर ६ जना डिस्चार्ज भएका छन्। शेर गणका प्रमुख सेनानी जितेन्द्रकुमार गौलीका अनुसार क्वारेन्टाइनमा बसेकासहित कोरोनाको आशंकामा दैनिक जाँच गर्न आउनेहरूको आरडिटी जाँच गर्दा सबैको निगेटिभ नतिजा आएको छ। 

स्वास्थ्य कार्यालय सिराहाका अनुसार सिराहाका विभिन्न ठाउँका चार सय ६१ जनाको संकलन गरिएको थ्रोट स्वाबको पिसिआर विधिबाट गरिएको जाँचमा एक सय २२ जनाको नतिजा नेगेटिभ आएको छ। 

त्यसबाहेक पिसिआर परीक्षणका लागि गत शनिबार र आइतबार जिल्लाका ६ स्थानीय तहका तीन सय ९७ जनाको स्वाब संकलन गरिएको थियो। त्यसमध्ये लहान क्षेत्रका ६९ र मिर्चैयाका एक सय ६ जनाको नतिजा निगेटिभ आएको स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। 

जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयअनुसार जिल्लाका विभिन्न ठाउँबाट संकलन गरिएको ६४ जनाको स्वाबको पिसिआर परीक्षण गर्दा ६२ जनाको नतिजासमेत नेगेटिभ आएको उनले बताए। 

Comment


Related News

Latest News

Trending News