अपडेट 
२०७७ बैशाख १७, बुधबार ०८:३५

काठमाडौं । मुलुकभरका कोरोना भाइरस संक्रमितमध्ये आधाभन्दा बढी एकै गाउँमा देखिएपछि चर्चामा आएको उदयपुरको त्रियुगा नगरपालिका(३, भुल्केमा ठेउला (चिकन पक्स)को संक्रमण बढेको छ । हालसम्म ५ जनामा ठेउला देखिएको छ।

भुल्केमा २८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको थियो। कोरोना परीक्षणका लागि गएको स्वास्थ्य टोलीले परीक्षणका क्रममा ठेउलाको संक्रमण बढेको जनाएको छ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले भुल्के क्षेत्रमा ५ जनामा ठेउला संक्रमण देखिएको बताए।

ठेउला रोग तीव्र रुपमा सर्ने उल्लेख गर्दै उनले भने, ‘धेरैको ध्यान कोरोनातर्फ गइरहेका बेला कतै ठेउला कतै औलो देखिएको छ। कोरोनासँगै अन्य सरुवा रोगतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।’

सुदूरपश्चिमका क्वारेन्टाइनमा औलो संक्रमण देखिएको साता नबित्दै उदयपुरमा ठेउला देखिएपछि स्वास्थ्य अधिकारीले कोरोनासँगै अन्य सरुवा रोगतर्फ पनि सतर्कता देखाउनुपर्ने आवश्यकता महसुस गरेका छन्। भारतबाट आई सुदूरपश्चिमको क्वारेन्टाइनमा बसिरहेका १५ जना व्यक्तिमा औलो देखिएको थियो। लामखुट्टेको टोकाईबाट औलो रोग लाग्छ। औलो र ठेउला गर्मी मौसममा देखा पर्ने गरेको छ।

डा। पाण्डेका अनुसार ठेउलाको संक्रमण भर्सेला जोस्टर भाइरसले गराउँछ। रोग नियन्त्रण महाशाखा निर्देशक डा। पाण्डेले भने, ‘बिरामीको खोकी एवं थुकको छिटाबाट ठेउला सर्न सक्छ। श्वासप्रश्वासको माध्यमबाट पनि सर्न सक्छ। ठेउलाको संक्रमणबाट बिरामीको मृत्यु हुने जोखिमसमेत हुन्छ।’ ठेउलाको संक्रमणले निमोनिया गराउने र स्नायु प्रणालीमा गम्भीर असर पुर्‍याउने जोखिम हुन्छ।

त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक डा। निरज बमका अनुसार ठेउला संक्रमित व्यक्ति सुतेको ओच्छयानमा सुत्दा तथा एवं लुगा लगाएको अवस्थामा स्वस्थ व्यक्तिलाई पनि संक्रमणको डर हुन्छ। ‘ठेउला संक्रमित व्यक्तिसँगै बस्दा तथा अंकमाल गर्दा पनि संक्रमण हुने डर हुन्छ।’ डा। बमले भने। ठेउलाको जटिलताले निमोनिया, इन्सेफलाइटिस समेत गराउन सक्छ । ठेउलाको भ्याक्सिन नलिएका व्यक्तिलाई जोखिम बढि हुन्छ ।अन्नपूर्ण पोष्टमा खबर छ।

Comment


Related News

Latest News

Trending News