Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख १७, बुधबार ०८:५५

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुले नयाँ शैक्षिक सत्रको लागि नयाँ भर्ना सुरु गरेका छन् । सो गाउँपालिकाका ८ वटै वडाभित्र पर्ने सबै विद्यालयहरुमा आइतबारदेखि भर्ना अभियान सुरु गरिएको हो ।

दुई हप्ताअघि गाउँपालिकाले सबै सामुदायिक विद्यालयहरुको अनलाइनबाटै १ कक्षा देखि ९ कक्षासम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए ।

नयाँ शैक्षिक सत्रका लागि सामाजिक सञ्जाल, फोन, म्यासेजबाट नयाँ भर्ना लिन सुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । ‘अहिले भर्ना भएका विद्यार्थीहरुलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घरघरमा पुगेर उनीहरुलाई किताब र पोशाक पुर्‍याउनुपर्ने भएकाले भर्ना अभियान सुरु गरिएको हो,’ उनले भने ।

यसअघि बसेको पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा समितिको बैठकमा विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको संक्रमणकालीन समयलाई मध्यनजर गरी सम्बधित वडाको वडा अध्यक्षसँग समन्वय गरी विद्यालयहरुले भर्ना अभियान सुरु गर्ने निर्णय भएको थियो ।

२०७७ को नयाँ शैक्षिक सत्रमा भर्ना गराउन अभिभावक वा सम्बन्धित विद्यार्थीले विद्यालय उपस्थित नभइ सामाजिक सञ्जाल, फोन, म्यासेजबाट भर्नाको लागि विवरण विद्यालयमा टिपाउन सक्ने अध्यक्ष लामाको भनाइ छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् ।

एसईई दिने विद्यार्थीलाई अनलाइन कक्षाको व्यवस्था

पाँचपोखरी थाङपाल गाउँपालिकाले एसईई दिने तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन कक्षामार्फत पढाउने तयारी गरिरहेको छ । गाउँपालिकामा एसईई दिने २३० जना विद्यार्थीलाई अनलाइन कक्षा दिन लागिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

कोरोना भाइरसको त्रासको कारण एसईई परीक्षा रोकिँदा विद्यार्थीहरु समस्यामा परेकाले अनलाइन कक्षाको तयारी थालिएको हो । त्यसका लागि प्रत्येक वडाका वडाअध्यक्षलाई एसईई दिने विद्यार्थीको अवस्था बुझ्न घरघर पठाइएको अध्यक्ष लामाले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र वडा अध्यक्षहरु विद्यार्थीहरु कहाँ, कसरी बसिरहेका छन् भनेर अनुगमनका लागि खटिएका गाउँपालिका अध्यक्ष लामाले बताए ।

Comment


Related News

Latest News

Trending News