अपडेट 
२०७७ बैशाख १७, बुधबार १६:२५

काठमाडौं। कोरोना संक्रमणको डरले देश बन्दीमा छ । मुलुक बन्दीको साङलोले बेरिएको महिना धेरै भो ।

हुनेखानेलाई बन्दीको साङलो त्यत्ति सकस होइन तर, हुँदा खानेको चुलो निभ्दै छ । जीवनभर पसिना डस्ने शहरले गास पनि दिन आनाकानी गरेपछि भुइमान्छेहरुको लम्बेतान पैदलयात्रा शुरु भो ।

सरकारले शहरमा थुन्न बल गरेपनि प्रतिवाद गर्दै लम्बेतान पैदलयात्रा गर्नुको विकल्प भएन र गाउँ निस्किएको हो । ढुंगा जस्तो आत्मा भएको शहरलाई विदाइको हात हल्लाउदै भुइमान्छे गाउँ फर्किएको हो ।

भोको पेट भर्न र एकसरो लगाउन शहरका गल्ली गल्लीमा धेरै पसिना बगाएको भुइमान्छे, यतिबेला शहरमा भेटिदैन । उसले शहरबाट नेटो काटेको धेरै दिन भो । फुटेका पैतलाको बलमा उ लम्बेतान यात्रामा निस्किएको पनि धेरै भो ,गाउँको झुप्रो र गोरेटोको असिम प्यारले उ गाउँ फर्किएको हो ।

उसकै पसिनाले ठडिएका महल, राजमार्ग, उद्योग बन्द व्यापार उसका लागि थिएनन् र हैनन् पनि । यद्यपी पसिना उसकै थियो, तर मालिक र शासकका लागि उसको पसिना बगेको हो ।

शहरप्रति उसको माया त होइन, किन की शहरले उसलाई पनि माया कहिल्यै गर्दैन, शहरले उसको जीवनमा परिवर्तन ल्याउन चाहादैन, शहरले चाहान्छ त उसको पसिनाको शोषण र वर्षाै राज गर्न । भुइमान्छेको पनि ठूलो सपना कदापि छैन । उसको सपना र योजना हो त रित्ता पेटहरु भर्न र नाङगा शरिर ओढाउन मात्रै । यत्ति नै थियो र हो पनि, शहरमा यी सपना र योजना अधुरा र असुरक्षित हुने भएपछि उ लम्बेतान पैदलयात्रमा निस्किएको हो ।

उसको फुटेका र खस्रा हातले दान गरेको भोटको बलमा सत्तामा पुगेकाहरु पनि यही शहरमा छन् । शहरमा शान र मानले सत्ता हाँकिरहेका छन् । तर, सिंहदरबारमा बिगपार्टीमा व्यस्त छन् । उसको कहरपूर्ण दैनिकीको विषयमा जान्न र बुझ्न शासकहरुलाई फुर्सद हुदैन नै । चुनावको बेला मात्रै भुइमान्छेको दैलोमा पुग्ने शहरीय शासकका गाउँ पुग्ने बेला भएकै छैन । किन कि सत्ताको होडमा भ्याइ नभ्याइ छ । अढाइ वर्ष अघि समयमा उसको गाँउमा पुगेको शासक यतिेबला वर्ष गनिरहदा उसैलाई भोट गर्ने भुइमान्छे बिहान र बेलुकीको छाकको हिसाब गरिरहेको छ । खस्रा र पट पटी फुटेका खुट्टाले नाङगो शरिरसंगै उ गाउँ फर्किएको छ । गाउँमा पनि सिंहदरबार भएको उसलाई जानकारी छ । गाउँ पुगे राहत पाइन्छ कि भन्ने झिनो आशा पनि छ । गाउँ पुगेर राहतको ताँतीमा जुटेको पनि छ । तर, राहत हात अझै लाग्न सकेको छैन ।

सरकारले भुइमान्छेको नाम बाचन गर्दै राहतको लागि भनी ८० करोड पठाएको पनि उसले सुनेकै हो । तर, त्यो ८० करोड कहाँ पुग्यो ? उसलाई कसैले भनिदिएको छैन । त्यो करोडौमा उसको हजारौ पसिना मिसिएको छ । तर, उसको पहुँच कल्पना बाहिरको जस्तै हो । तर, उसको पेट रित्तो छ । शरिर फाटेका बस्त्रले बेरिएको छ । सयौ किलोमिटरको लम्बेतान पैदलमा कुदेको भुइमान्छे गाउँमा पनि राहतको पर्खाइमा छ ।

Comment

Related News

Latest News

Trending News