अपडेट 
२०७७ बैशाख १७, बुधबार १७:४५

जनकपुरधाम ।धनुषाको सहिदनगर नगरपालिकामा जनतप्रतिनिधिले राहत वितरणमा बदमासी गरेपछि गरिब, विपन्न तथा मजदुरी गरेर खानेहरू आन्दोलित बनेका छन्।

वडा नम्बर २ मा का गरिब, विपन्न तथा मजदुरहरूले जनप्रतिनिधिविरुद्ध नाराबाजी गरेका हुन्। राहतको नाममा कुहिएको चामल र आलु दिएको भन्दै उनीहरूले ‘जनप्रतिनिधिले बदमासी गर्न पाइँदैन, सडेगलेको राहत चाहिँदैन’ भन्दै प्रदर्शन गरेका छन्। आक्रोसित उनीहरूले मेयर उदय बरबरियाको विरोध गरेका छन्।

कतिपय गरिब, विपन्न तथा मजदुरहरूले राहतसमेत अस्वीकार गरेका छन्। सहिद नगरपालिका २ डरखोरियाका चन्दर साह सोनारले सडेको चामल र आलु राहतमा दिएपछि प्रदर्शन गरेको बताए। डल्लो परेको चामल देखाउँदै उनले भने, ‘हेर्नुस् यो चामल र आलु। कसरी खाने? अहिले नै यति गन्हाइरहेको छ!’

नगरपालिकाले लकडाउन सुरु भएको एक महिना बितेपछि बल्ल राहत वितरण सुरु गरेको थियो। त्यसमा पनि कुहिएको गन्हाउने चामल र आलु बाँड्न थालेपछि स्थानीयबासी आक्रोसित बनेका छन्। उनीहरूले बचाउँनका लागि नभएर मार्नका लागि जनप्रतिनिधिले राहत दिएको दुःखेसो पोखेका छन्।

राहत पाएकी चमेली देवीले सडेगलेको राहत मेयरलाई नै दान गर्ने भन्दै आक्रोस पोखिन्। उनले प्रश्न गरिन्, ‘यो कोरोना भाइरस दिएको हो कि राहत? यो चामल र आलु खाएर मरिन्छ कि बाँचिन्छ?’ उनले राहतको नाममा मेयर उदय बरबरियाले भाइरस बाँडेको भन्दै कारबाहीको माग समेत गरिन्।

उनले ९ किलोग्रामका दरले चामल दिएको भनिए पनि ८ किलो मात्र पाएको समेत बताइन्। उनले राहतको नाममा मेयर बरबरियाले भ्रष्टाचार गरिरहेको आरोप लगाइन्। राहतमा भ्रष्टाचार गर्न सस्तो तथा सडेगलेको समानहरू उठाएर ल्याई आफूलाई दिएको उनको भनाइ छ।

नगरपालिकाले राहतका लागि ६ सय गरिब, विपन्न तथा मजदुरको सूची बनाएको छ। वडाध्यक्ष जसैलाल भिन्दबारले वर्षाका कारण पानी पसेर चामल कुहिएको हुनसक्ने भन्दै गल्ती ढाकछोपको प्रयास गरेका छन्। उनले प्याकिङ गर्ने कार्यकर्ताले हतार–हतारमा सडेको नछुट्याको हुनसक्ने पनि बताए।

कुहिएको आलुको विषयमा उनले भने, ‘प्याकिङ गरेर दुई÷तीन दिन राख्दा त्यतिकै सड्ने गर्छ। जानेर सडेको राहत वितरण गरेका छैनौँ।’ उनले सडेगलेको चामल र आलु कसैले पाएको छ भने फिर्ता गर्न सक्ने पनि बताएका छन्।

Comment


Related News

Latest News

Trending News