अपडेट 
२०७७ बैशाख १७, बुधबार २१:३३

काठमाडौं । एसियाली विकास बैंक(एडीबी)ले नेपाललाई २५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।

बैंकले २५० मिलियन अमेरिकी डलर (करीव ३० अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा र अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री प्रदान गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवार एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावासंग कोरोनाको कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोग बारे टेलिफोन वार्ता भएको छ ।

वार्ताको क्रममा अर्थमन्त्री डा. खतिवडा र अध्यक्ष आसाकावा बीच कोभिड( १९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोगबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका विषयमा छलफल भएको थियो ।

बैकले नेपाललाई सहायता उपलब्ध गराउन लागेकोमा अर्थमन्त्रीले अध्यक्ष आसाकावालाई धन्यवाद व्यक्त गर्नु भयो ।

अर्थमन्त्रीले एशियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बताउँदै बैंकले ऊर्जा, यातायात, खानेपानी र शहरी विकास लगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगप्रति प्रशंसा गर्नु भयो ।

नेपालले अंगिकार गरेको संघीय प्रणालीको प्रतिफल आम नागरिकले पाउन सक्ने तुल्याउनका लागि संघीय संरचनाका सबै संस्थाहरु बलियो बनाउनु पर्ने र अतिरिक्त स्थानीय पूर्वाधार विकासमा लगानी बढाउनु पर्ने आवश्यकता नेपालसँग रहेको र स्थानीय तहहरु बीच अन्तरआवद्धता बढाउन चाहिने पूर्वाधार विकासमा बैंकबाट सहयोग हुने अपेक्षा नेपालले गरेको बताउनु भयो ।

कोरोना संक्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिँदै जाँदा युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवम् व्यवसायिक कृषि र स्थानीय पूर्वाधार एवम् ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकोले यी क्षेत्रमा सहायता बढाउन पनि एशियाली विकास बैंकलाई अर्थमन्त्रीले आग्रह गर्नु भयो ।

एशियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोभिड (१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड (१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको अर्थ मन्त्रालयले जनाएको छ ।

उहाँले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढाउँदै लाने समेत जानकारी दिनु भयो ।

Comment


Related News