अपडेट 
२०७७ बैशाख १७, बुधबार २१:४८

विराटनगर । त्रियुगा नगरपालिकाले भुल्केमा नगरपालिकाले पटक-पटक गरेर सबै घर परिवारलाई राहत वितरण गर्‍यो।
सुरुमा १० केजी चामलका दरले राहत वितरण गरिएको बस्तीमा पछिल्लो पटक ३० केजी चामलका दरले राहत वितरण भयो। साथमा केही दाल, तेल र नुन वितरण भयो। तर, त्यतिले मात्रै त मानिसको आवश्यकता पूरा हुँदैन। कोरोना संक्रमण फैलने भन्दै भुल्केबासीको पैसा समेत नचलेपछि उनीहरू दाताकै आसमा छन्।

बैशाख ५ गते भुल्केमा पहिलोपल्ट नुरी मस्जिदमा बस्दै आएका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। ती सबै धार्मिक कार्यक्रममा सहभागी हुन आएका भारतीय थिए। उनीहरूरुमा कोरोना संक्रमण पुष्टि भएपछि सामान किन्न भुल्केमा पैसा चल्न छाडेको छ।

अहिले बस्तीका १६ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ। सबै जना विराटनगरमा उपचाररत छन्। नगरपालिकाले दाल चामल, नुन तेल त वितरण गरेको छ। त्यस बाहेक दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीका लागिसमेत भुल्केबासी अरुकै आसमा रहेको स्थानीय राजेन्द्रबहादुर राउतले बताए।

गाउँको उत्पादन बाहिर लान नदिएपछि गाउँमै बाँडिचुँडी खान थालिएको छ। ७० लिटर दूध दैनिक रूपमा गाउँमा बाँडिने र यसको पैसा नगरपालिकाले किसानलाई दिने व्यबस्था मिलाइएको छ। 

जहिलेदेखि कोरोना संक्रमण पुष्टि भयो त्यही दिनबाट बस्तीमा पैसा चल्न छाडेको छ। भुल्के मावि व्यबस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर राउत भन्छन्, ‘मान्छे त अछुत जस्तो भइयो-भइयो, पैसा पनि छुन नहुने भएको छ।’ पैसा नबिकेपछि सामान ऐचोपैँचो र बाँडिचुँडी गरेर आवश्यकता पूरा गर्न थालेको उनले बताए।

साबुन, चिनी, तेललगायतका सामग्रीसमेत उनीहरूले किन्न पाएका छैनन्। बल्लबल्ल सुरक्षाकर्मीसँग स्वीकृति लिएर पसलमा जान पाउँदा समेत पैसा नचलेर समस्या भएको स्थानीय दुर्गा थापा बताउँछिन्।

३ सय २२ परिवार बसोबास रहेको भुल्केमा मुस्लिम, पहाडे र चौधरी समुदायको बसोबास रहेको छ। मुस्लिम समुदायले तरकारी खेती गर्दै आएका छन् भने दूधसमेत गाउँमा नै उत्पादन हुँदै आएको छ।

गाउँको उत्पादन बाहिर लान नदिएपछि गाउँमै बाँडिचुँडी खान थालिएको छ। ७० लिटर दूध दैनिक रूपमा गाउँमा बाँडिने र यसको पैसा नगरपालिकाले किसानलाई दिने व्यबस्था मिलाइएको छ।

वडानम्बर ३ का अध्यक्ष अवधेश चौधरीले गाउँको उत्पादन खेर जाने भएपछि बाँडिचुँडी गरेर खाने व्यबस्था मिलाएको बताए। उनले गाउँमा उत्पादन भएका तरकारीसमेत आपसमा बाँडेर खान थालिएको बताए। तर, पैसा समेत नचलेपछि सबै कुरा अरुकै आशमा भुल्केबासी परेको उनले बताए।

परीक्षण नहुँदा त्रासैत्रास

गाउँमा २८ जना संक्रमित हुँदा सबै भुल्केका सवै घरपरिवारको कोरोना संक्रमण परीक्षण हुन सकेको छैन। कोरोना संक्रमण परीक्षण गर्ने आवश्यक किट नहुँदा परीक्षण हुन नसकेको नगरपालिकाले जनाएको छ।

परीक्षण नहुँदा स्थानीयमा त्रास रहेको वडाध्यक्ष अवधेश चौधरी बताउँछन्। ‘हामीलाई परीक्षण गरिदिनु पर्‍यो भनेर स्थानीयले फोन गर्नुहुन्छ’, उनले भने, ‘हामीले पनि यहि कुरा नगरपालिका र प्रदेश सरकारलाई भनिरहेका छौं। तर, अझै परीक्षण हुन सकेको छैन।’

कोरोना संक्रमण भेटिएको मुस्लिम समुदायमा सबैको परीक्षण भएको छ। चौधरी र पहाडे समुदायको भने अझै परीक्षण हुन सकेको छैन। ‘एउटै टोल भएका कारण भुल्केमा तीनै समुदायको नङ र मासुको सम्बन्ध थियो। यसैले हामीमा पनि संक्रमण छ की भन्ने डर छ’, उनले भने।

भुल्केमा पहाडे समुदायका ४० जना चौधरी समुदायबाट १० जना र मुस्लिम समुदायको ८३ जनाको स्वाब परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २८ जनामा संक्रमण फेला परेको छ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले कोरोना परीक्षण गर्न ढिलाइ भएको बताए। आफूले पटक-पटक परीक्षणको दायरा बढाउन माग गरेको बताए।

Comment


Related News

Latest News

Trending News