अपडेट 
२०७७ बैशाख १८, बिहीबार १२:४४

काठमाडौं । परिहासयुक्त अभिव्यक्तिका लागि चर्चित छन् हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली । केही समययता कोरोनाको संकट र आफ्नै अस्वस्थताले उनको यो विशेषतालाई जनताले ‘मिस’ गर्दै आएका थिए । तर, बोलीमा नभएर के भो ? प्रधानमन्त्री ओलीले व्यवहारमै परिहास देखाउन थालेका छन् ।

बामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर प्रधानमन्त्री ओलीले लकडाउनमा बसेका देशवासीलाई मनोरञ्जनको नयाँ मसला दिन खोजेका छन् । तर, दु:खको कुरा, ओलीको यो प्रस्तावले जनताको मुहारमा हाँसोभन्दा क्रोध बढी उत्पन्न गरेको छ ।

वर्तमान प्रधानमन्त्रीबाटै भावी प्रधानमन्त्रीका रुपमा आफ्नो नाम आएपछि गौतमको भित्री हृदय सल्बलायो नै होला । आखिर उनी प्रधानमन्त्री पदका लागि तड्पिएको लामै समय भइसक्यो । ओलीका निकटस्थहरुलाई पनि उनकै मुखारविन्दबाट आएको प्रस्तावमा समर्थन जनाउन कर लाग्यो होला । अन्यथा, यो प्रस्तावले अरु कसैलाई पनि आकर्षित गर्न सकेको छैन ।

यो पनि पढ्नुहोसकेपी ओलीको प्रस्ताव : वामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

सचिवालय बैठक अगाडि प्रधानमन्त्रीबाट वामदेवको प्रस्ताव आउने कुनै गाईंगुईं थिएन । बालुवाटारकै निर्देशनमा सत्तारुढ सांसदहरु सरकारको पक्षमा बहुमत देखाउन हस्ताक्षर संकलन गर्दै हिँडिरहेका थिए । प्रधानमन्त्री ओली अविश्वास प्रस्ताव आए फेस गर्ने मुडमा रहेको चर्चा थियो । उनका विश्वासपात्र भन्दै थिए, ‘यो सरकार ढाल्न असम्भव छ, उनीहरुले संसदमा कसरी बहुमत पुर्‍याउँछन् हेरौंला ।’

बालुवाटारमा प्रधानमन्त्री स्वम् भन्दै थिए, ‘म आफू कुनै कदम चाल्दिनँ । उनीहरु जस्तो बलिङ गर्छन्, त्यसैअनुसार ब्याटिङ गर्छु ।’

तर, व्यवहारमा प्रधानमन्त्री अन्धाधुन्ध ब्याटिङ गर्न थालेका छन् । आत्तिएर हो वा खेलाँची गरेर, उनले बल नबुझी ठूलो सट खेल्न खोज्दा क्याच आउट हुने सम्भावना बढेको छ ।

वामदेव गौतम प्रधानमन्त्री हुनै नसक्ने वा हुनै नहुने नेता अवश्य होइनन् । राजनीतिमा उनको लामो अनुभव र योगदान छ । विगतमा उपप्रधानमन्त्री भइसकेका पनि हुन् । तर, अहिलेको जुन राजनीतिक परिस्थिति र संवैधानिक व्यवस्था छ, त्यसले उनलाई कम्तिमा यो संसदीय कार्यकालमा प्रधानमन्त्रीको सपना नदेख्न कर लाग्छ ।

प्रधानमन्त्रीले कुन आशयले वामदेवको नाम अघि सारेका हुन् भन्ने पनि महत्वपूर्ण पाटो हो । के उनी साँच्चै प्रधानमन्त्री पद त्याग गर्न तयार भएका हुन् ? के साँच्चै वामदेवलाई आफ्नो उत्तराधिकारीका रुपमा देख्न चाहन्छन् ? यसमा विश्वस्त हुने आधारहरु छैनन् ।

समाचारमा आएअनुसार प्रधानमन्त्रीले अहिले होइन, कोरोनाको महामारी सकिएपछि वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

नेपालमा कोरोनाले महामारीको रुप लिएको छैन । त्यसैले ओलीले विश्वबाटै महामारी अन्त्यको कुरा गरेको बुझ्न सकिन्छ । तर कोरोनाको महामारी कहिले सकिन्छ भन्ने डब्लुएचओले नै भन्न सकेको छैन । न यसको भ्याक्सिन वा औषधि पत्ता लागेको छ । विज्ञहरुले महामारी अन्त्य हुन दुई वर्षसम्म लाग्न सक्ने बताइरहेका छन् । त्यसैले प्रधानमन्त्रीकै प्रस्ताव अनुसार पनि वामदेवले कम्तिमा डब्लुएचओले विश्वबाट महामारी अन्त्य भएको घोषणा पर्खिनुपर्ने हुन्छ । त्यसका लागि कम्तिमा एक वर्ष लाग्न सक्छ ।

मानौं, त्यो अहिले अनुमान गरिएभन्दा चाँडो केही महिनाभित्रै महामारी रोकियो रे । त्यस अवस्थामा पनि ओलीले चाहँदैमा वामदेव प्रधानमन्त्री भइहाल्ने परिस्थिति छैन । यसकारण कि उनी चुनाव हारेका नेता हुन् ।चुनाव हारेका नेतालाई प्रधानमन्त्री बनाउने प्रस्तावले ओलीलाई जनस्तरमा झन् आलोचित बनाउने छ । अहिले संकटको घडीमा सरकार ढाल्नु हुँदैन भनेर ओलीलाई साथ दिइरहेकाहरु समेत असामञ्जस्यमा पर्नेछन्

अहिलेको संवैधानिक व्यवस्थाले चुनाव हारेको नेता प्रधानमन्त्री बन्ने कल्पना गरेको छैन । यस अवस्थामा दुई विकल्प छन् : पहिलो, वामदेवलाई राष्ट्रिय सभामा लैजाने, त्यसपछि राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संसोधन गर्ने । तर, यो प्रक्रिया जटिल र व्यवहारमा असम्भव जस्तै छ । संविधान संसोधनका लागि दुईतिहाई चाहिन्छ । वामदेवलाई प्रधानमन्त्री बनाउने सवालमा नेकपाभित्रै आमसहमति जुट्न सक्दैन । अरु पार्टीले त झन् यसमा समर्थन जनाउने कुरै भएन ।

यसअगाडि पनि वामदेवलाई राष्ट्रिय सभामा लैजाने प्रयास भएको थियो । त्यसबेला उनलाई प्रचण्डहरुले बोकेका थिए भने ओली समुहले अवरोध गरेको थियो । अहिले ओली समुहले वामदेवलाई बोक्यो भने प्रचण्ड समुहले पक्कै अवरोध गर्नेछ । यसको अर्थ, वामदेव प्रधानमन्त्रीको प्रस्तावमा लोभिए भने ‘घरको न घाटको’ बन्न सक्नेछन् ।

अर्को विकल्प भनेको वामदेवलाई प्रत्यक्ष चुनाव उठाएर जिताउने हो । ल मानौं, कुनै एउटा निर्वाचन क्षेत्र खाली गराएर त्यसमा चाँडोभन्दा चाँडो उपचुनाव गराएर वामदेवलाई नेकपाले उम्मेदवार बनाउला । तर, उम्मेदवार बनाउने कुरा पार्टी वा ओलीको हातमा भए पनि जिताउने कुरा जनताको हातमा छ । अघिल्लो निर्वाचनमा आफ्नै क्षेत्रबाट हारेका वामदेवले नेकपाको गढमै गएर चुनाव लडे भने पनि जित्ने ग्यारेन्टी छैन ।

बरु हार्ने सम्भावना बलियो छ । एक त नेकपाको लोकप्रियता तीव्र ह्रास आइरहेको छ भने अर्को वामदेव आफैं लोकप्रिय नेता होइनन् । उनले पछिल्लो समय अनैतिक तवरले चोरबाटोबाट सत्तामा पुग्न गरेको मरिहत्ते जनताले रुचाएका पनि छैनन् ।

अब प्रधानमन्त्रीको सम्भावित ‘गुप्त रणनीति’तिर जाउँ । के उनले प्रचण्ड–माधव–वामदेव गुटलाई बिथोल्नका लागि नै यो जाल फ्ँयाकेका हुन् त ? केही समययता पार्टीका चार शीर्ष नेता एक ठाउँ हुँदा ओली पार्टीका सबै कमिटीमा अल्पमतमा परेका छन् । ओलीविरोधी मोर्चा निकै बलियो देखिएको छ । यस स्थितिमा उक्त मोर्चालाई कमजोर पार्न ओलीले यो हत्कण्डा अपनाएको अनुमान पनि छ ।

वामदेवलाई प्रधानमन्त्रीको ललिपप देखाएर आफूतिर तान्ने ओली पक्षको रणनीति हुन पनि सक्छ । प्रधानमन्त्री ताकिरहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।

आफ्नो प्रस्तावमा दुई नेता लोभिएको खण्डमा प्रचण्ड एक्लिने र उनीसँग पूर्वमाओवादी समुह र झलनाथ खनाल मात्र बाँकी रहने प्रधानमन्त्रीको आँकलन हुन सक्छ । पूर्वमाओवादी समुहका पनि धेरै जना प्रचण्डसँग नरहन सक्छन् ।

यस्तो हो भने पनि यो आफैंमा गतिलो रणनीति होइन । चुनाव हारेका नेतालाई प्रधानमन्त्री बनाउने प्रस्तावले ओलीलाई जनस्तरमा झन् आलोचित बनाउने छ । अहिले संकटको घडीमा सरकार ढाल्नु हुँदैन भनेर ओलीलाई साथ दिइरहेकाहरु समेत असामञ्जस्यमा पर्नेछन् । यसले पार्टीमा ओलीकै समुहभित्र असन्तुष्टि सिजर्ना गर्नेछ ।

दोस्रो कुरा, वामदेवलाई आफूतिर तान्न सफल भए भने पनि उनीसँग त्यति ठूलो समूह नेकपाभित्र छैन, जुन निर्णायक सावित होस् । निर्णायक समुह बरु माधव नेपालसँग छ । तर, प्रधानमन्त्रीको आशमा रहेका उनी ‘तेस्रो अध्यक्ष’ को प्रस्तावमा लोभिएर ओलीतिर आउलान् नै भन्न पनि सकिँदैन । प्रचण्ड र नेपाल एकातर्फ रहेसम्म ओलीको घाँटीमा खतराको तरवार झुण्डिइरहने छ ।

त्योभन्दा महत्वपूर्ण कुरा, ओलीको प्रस्तावले देशमा राजनीतिक अस्थिरता र किचलो झन् बढाउने भयो । अहिलेको विवाद कसरी छिटोभन्दा छिटो समाधान हुन सक्छ भन्ने गरी प्रधानमन्त्रीको प्रस्ताव आउनुपर्ने थियो । ओलीले तत्काल नेकपा अध्यक्ष त्याग गर्ने घोषणा गरेर त्यसमा माधव नेपाललाई प्रस्तावित गरेको भए त्यो सर्वोत्तम विकल्प हुन्थ्यो । प्रचण्डको समानान्तर अध्यक्ष बन्न पाए माधव नेपाल सन्तुष्ट बन्नसक्थे । सरकारमाथि आइपरेको संकट पनि टर्न सक्थ्यो । स्वास्थ्यका कारणले पनि प्रधानमन्त्री अहिले दोहोरो जिम्मेवारी निभाउन सक्ने अवस्थामा छैनन् ।

जहाँसम्म प्रधानमन्त्री त्याग्ने प्रश्न छ, नेपालमा कोरोनाको त्राश सकिएर जनजीवन सामान्य अवस्थामा आएपछि ओलीले यो जिम्मेवारी बिसाउँदा राम्रै हुन्छ । त्यसको घोषणा अहिले नै गरिरहनु आवश्यक छैन । कोरोना सकिएपछि सरकार छोड्छु भनेर अहिले घोषणा गर्दा सरकारमा रहेका मन्त्रीहरु नै कोरोना रोकथाममा निरुत्साहित हुन सक्छन् । जति चाँडो कोरोना सकियो, त्यति चाँडो मन्त्री खुस्किने भयो भने उनीहरु कसरी उत्साहित भएर कोरोना नियन्त्रणमा लाग्लान् ?

देश असामान्य अवस्थामा छ । जनता झण्डै डेढ महिनादेखि लकडाउनमा कैद छन् । यहीबेलामा सरकार ढाल्नेदेखि पार्टी फुटाउनेसम्मका खेल हुनु लाजमर्दो स्थिति हो देशका लागि । जनतालाई घरभित्र थुनेर नेताहरुले देखाइरहेको नग्न नृत्यले जनतालाई जनतालाई विरक्त तुल्याइरहेको छ । नेपालमा राजनीतिलाई फोहोरी खेल मानिएको त्यसै कहाँ हो र ?

Comment

Related News