अपडेट 
२०७७ बैशाख १८, बिहीबार १६:३३

काठमाडौं । एञ्जिला तुम्बापो सुब्बा नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो रोजाइको गोलकिपर हुन् । विपक्षी टिमको बललाई पोस्टमा रोक्ने उनको काम हो ।

तर लकडाउनका कारण फुटबल प्रतियोगिता नभएकाले उनको दैनिकी फेरिएको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी उनी हलचोकस्थित कार्यालय भने दैनिक जाने गरेकी छन् ।

आजकल अफिस जाने, ड्युटी परेको बेला ड्युटी गर्ने’ एञ्जिलाले दैनिकी सुनाइन् ‘सेल्फ ट्रेनिङ गरिरहेको छु । तर मैदानमा खेलेजस्तो हुँदैन ।’

कोरोना भाइरसको महामारी रोक्न सरकारले लकडाउन गरेको पनि एक महिना एक हप्ता बितिसकेको छ । सधैँ खेल खेलिरहने र अभ्यास गरिरहने खेलाडी अहिले दिक्क छन् । ‘खेल्न नपाउँदा ब्याड फिल हुन्छ’ एञ्जिला भन्छिन्, ‘जहिल्यै साथीहरुसंग ट्रेनिङ भइरहन्थ्यो । अहिले कोरोनाले गर्दा सबै टाढा टाढा बस्नुपरेको छ ।’

महिला फुटबल खेलाडीहरु चैत ३ गतेदेखि धरानमा हुने महिला राष्ट्रिय लिग फुटबलको तयारीमा थिए । तर कोरोनाकै कारण एन्फाले लिग स्थगित गर्‍यो । यस पटकदेखि महिला फुटबलको पनि दोहोरो लिग गर्ने तयारी थियो । पुरस्कार रकम पनि बढाइएको थियो ।

‘हामी सबै उत्साहित थियौं,’ एञ्जिलाले भनिन्, ‘अहिले रोकिँदा हाम्रो मेहनत खेर गयो दुख लाग्छ । बल्ल बल्ल हुन लागेको गेम पनि कोरोनाले रोकियो ।’

खेल्न नपाए पनि एञ्जिला हिजोआज विभिन्न माध्यमबाट खेलसम्बन्धी नै जानकारी लिन्छिन् । अहिले रुममा बस्दा युट्युबमा आफ्नो फिल्डको भिडियोहरु हेर्छ, गोलकिपरको ट्रेनिङ हेर्छु । त्यसबाट केही सिक्न सकिन्छ’ एञ्जिलाले भनिन् ।

फुर्सदमा उनी आफ्नै पुराना खेलको भिडियो पनि हेर्छिन् । ‘त्यो बेला भएको मिस्टेकहरु के थियो एनालाइसिस गर्छु’ एञ्जिला भन्छिन् ।

फुटबल त छँदैछ फेरि समय सामान्य भएपछि खेल्न पाइन्छ । तर अहिलेको समयमा परिवारबाट टाढा रहँदा उनलाई नरमाइलो लागेको छ । ‘मैले यो बेला परिवारलाई धेरै मिस गरिरहेको छु । संगै हुन पाए पनि हुन्थ्यो जस्तो लागेको छ’ उनी भन्छिन् । उनको घरमा आमाबुबा र बहिनी छन् । दाइ विदेशमा छन् । घर जान नपाए पनि टेलिफोनबाट हालखबर बुझिरहेको एञ्जिला बताउँछिन् ।


Comment


Related News