अपडेट 
२०७७ बैशाख १८, बिहीबार १७:०१

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ७, मेघनाथ गोरहन्नामा थप दुई जनाको मृत्यु भएको छ।

बुधबार राति स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षका सिताई महराको मृत्यु भएको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले जानकारी दिए।

सोही टोलका स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मंगलबार साँझ र बुधबार बिहान मृत्यु भएको थियो। सोही बस्तीमा झण्डै एकसाता अघि ५५ वर्षका महेन्द्र चौधरीको समेत मृत्यु भएको थियो।

योसँगै एक सातामा मेघनाथ गेहन्ना टोलमा ७ जनाको मृत्यु भएको मेयर साहले पुष्टि गरे।

उनीहरुको विषाक्त मदिरा सेवनको कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि मृत्युको वास्तविक कारण खुल्न सकेको छैन। बुधबारसम्म मृत्युभएका पाँचै जनाको शव दाहसंकार गरिसकिएको जनाइएको छ।

बुधवार राति मृत्यु भएका ३२ वर्षका सिकिन्दर सिंहको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको वडाध्यक्ष बासुदेवसिंह थारुले बताए।

एक/एक गरी टोलमा मृत्यु हुन थालेपछि स्थानीबासि त्रसित भएका छन्। बुधबार बिहान मृत्यु भएका गंगाराम सदाको शव प्रहरीले नियन्त्रणमा लिन जाँदा स्थानीयले उनको दाहसंकार गरिसकेका थिए।

मृतक परिवारलाई नगरपालिकाको क्रिया खर्च
एक सातामा रहस्यमय मृत्य भएका सातै जनाको परिवारलाई भंगहा नगरपालिकाले तत्काल क्रिया खर्च स्वरुपप्रति परिवारलाई २१ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।

बिहीबार दिउँसो उक्त गाउँमा पुगेर भंगहाका मेयर सञ्जिव साहले घटना विषयमा जानकारी लिएका छन्।

‘अज्ञात रोगभन्दा मदिरा सेवनकै कारणले तिनीहरुको मृत्यु हुन सक्ने हाम्रो आशंका छ। एक जनाको शव पोस्टमार्टमको लागि लगिएको छ। वास्तविक के कारणले उनीहरुको मृत्यु भएको छ भन्ने कुरा खुल्न सकेको छैन। यस घटनाप्रति हामी गम्भीर छौं’, मेयर साहले भने।

शवको पोस्टमार्टम र कोरोना परीक्षण गरिने
महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले सातै जनाको मृत्युको वास्तविक कारण खुल्न नसकेको बताए।

‘रक्सीले मृत्यु भएको आशंका गरिए पनि तीन/चार दिनदेखि रक्सी नखाएका केही व्यक्तिको पनि मृत्यु भएको पाइयो। उनीहरुलाई उपचारको लागि लग्दा डाक्टर उपचार गर्न डराउँछन्’, उपरीक्षक अधिकारीले भने।

उनीहरुको के कति कारणले मृत्यु भएको छ भन्ने विषयमा पत्ता लगाउन बुधबार राति मृत्यु भएका सिकिन्दरको शवलाई पोस्टमार्टम गर्नुका साथै ्कोरोना परीक्षण समेत गरिने उपरीक्षक अधिकारीले बताए।

Comment


Related News

Latest News

Trending News