अपडेट 
२०७७ बैशाख १८, बिहीबार १७:२४

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टी नेपाल कम्‍युनिस्ट पार्टी (नेकपा)को विभिन्न कमिटी र संसदीय दलमासमेत अल्पमतमा छन् ।

पूर्वएमालेका वरिष्ठ नेताहरु कार्यकारी भूमिकामा रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित मिलेर सरकार ढाल्न कस्सिएका बेला ओलीले बुधबार साँझ ‘वामदेव कार्ड’ फ्याँके ।

के साँच्चै ओली कोरोना महामारी सकिएपछि पद त्याग्न तयार भएका हुन् त ? यसमा ओली निकटस्थहरुको बुझाइ भने फरक छ ।

लामो समयदेखि ओलीको विश्वासपात्रका रुपमा रहेका कर्णबहादुर थापा ओलीको यो कदमलाई ‘रणनीतिक’ मान्छन् । प्रधानमन्त्रीले कुनै हालतमा राजीनामा नगर्ने उनको दाबी छ ।

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ७ अध्यक्ष रहेका थापा अहिले काठमाडौंमै बसेर मिडियाहरुमा सरकार र प्रधानमन्त्री ओलीको बचाउ गर्न व्यस्त छन् ।

हाल राजनीतिशास्त्रमा पीएचडी गरिरहेका थापासँग अनलाइनखबरका चिरञ्जीवी पौडेलले गरेको वार्तालाप :

कोरोनाको संकटका बीचमा उब्जिएको राजनीतिक संकटलाई तपाईंले कसरी हेर्नुभएको छ ?

यो निकै दुखद स्थिति हो । धेरै मान्छेलाई यो अनायास उत्पन्न भएको विवाद हो भन्ने परेको होला । तर, त्यसो होइन । अन्डरकरेन्टमा सरकार ढाल्ने खेलकुद पहिल्यैबाट चलिरहेको थियो ।

प्रधानमन्त्री बिरामी हुनुभन्दा अगाडिबाटै । तर, प्रधानमन्त्री अस्पताल बस्नुपरेकाले यो थाँति रहेको विषय थियो, जुन अहिले चर्काइएको छ ।

तपाईंको विचारमा यो खेलको अगुवाइ कसले गरिरहेको थियो ? माधव नेपाल कि प्रचण्डले ?

यसको जवाफमा म थोरै विश्लेषण सुनाउन चाहन्छु ।

नेकपाजस्तो विधिबाट निर्माण भयो, यसलाई मैले विश्व कम्युनिष्ट आन्दोलनकै भयानक सकारात्मक घटना भन्ने गरेको छु । यसमा दुई नेताको मुख्य भूमिका थियो । यदि पार्टी कमिटीभित्र छलफल गरेर विधिसम्मत प्रस्ताव आएको भए एकता सम्भव नै थिएन ।मोदी र चिनफिङसँग त्यस्तो बलिदानीपूर्ण विगत छैन । मोदी त झन् पृथकतावादी र जातीय हिंसामा समेत मुछिँदै आएका छन् । तसर्थ दक्षिण एसियाली नेतामा ओलीको स्थान मोदी र सीको भन्दा उच्च छ ।

कम्युनिष्ट एकता देशका लागि अत्यावश्यक भएकाले जनताको ठूलो समर्थन प्राप्त भयो । तर, तत्कालीन एमालेभित्रै एकता नरुचाउनेहरु थिएन नि । उनीहरु त्यसबेला अलोकप्रिय भइने डरले विरोध गर्न सकेनन् । उनीहरु डाहा र ईर्श्याले भित्रभित्रै छट्पटिएका थिए । यिनै नेताहरुले विस्तारै बिस्तारै विभिन्न निहुँमा असन्तुष्टहरुलाई संगठित गर्दै गए ।

म नढाँटी भन्छु । प्रचण्डलाई एमालेसँग एकता गर्नुपर्ने वाध्यात्मक अवस्था आइसकेको थियो । उहाँले अनेक जालझेल, दाउपेच र तिकडम गरेर माओवादीलाई मूलधारमा ल्याउनुभयो । त्यो उहाँको खुबी पनि हो । तर, पछिल्लो समयमा पार्टी जोगाउन गाह्रो भइरहेको अवस्था थियो । उहाँले एकतापछि मसितै भन्नुभएको छ, मैले धेरै ठूलो अप्ठेरोको बोझ बिसाएँ भनेर ।

र, एमालेभित्रको असन्तुष्ट समुहले विस्तारै प्रचण्डलाई उचाल्न थाल्यो । ‘तपाईंको प्रचण्ड रुप त हामीले देख्नै पाएनौं, त्यो रुप देखाउनुपर्‍यो’ भनेर उकास्दै गए । उहाँ पनि लामो समय पार्टीमा राज गरेको व्यक्ति, नेकपामा दोस्रो नेताको रुपमा खुम्चिँदाखेरि मनको कुनामा हीनतावोध त थियो नै, यही भावनाले गर्दा नै उहाँहरु एक ठाउँमा आउनुभएको जस्तो लाग्छ ।

भनेपछि, माधव नेपालले प्रचण्डलाई ‘स्टिमुलेट’ गर्नुभएको हो ?

माधवले पनि भन्दिनँ । उहाँभन्दा पनि अरु नेता छन् । अहिले चाहिँ माधव कामरेडलाई सिरानी हालिएको छ ।

पार्टीभित्र ओली समुहबाट लगातार पेलानमा पर्दै आएको माधव नेपालको पहिल्यैदेखि गुनासो थियो । उहाँलाई यसरी पेल्दाखरि उछिट्टएर अर्को कित्तामा पुग्नुभएको हो कि ?

तथ्यहरुले त्यो देखाउँदैन । तपाईंलाई म एउटा उदाहरण दिन्छु । निवर्तमान अध्यक्ष वरिष्ठतामा अगाडि रहने विधानमा व्यवस्था थियो । यसअनुसार झलनाथ माधवभन्दा अगाडिको वरियतामा हुनुहुन्थ्यो । तर, माधव कामरेडले अनेक गुनासो गर्नुभएपछि ओली कामरेड लचिलो हुनुभयो ।

विधानलाई नै बिर्सेर झलनाथभन्दा माधवलाई वरियतामा अगाडि राखियो । यो के पेलिएको हो ? तर, झलनाथले आपत्ति जनाउनुभएकाले फेरि उहाँलाई नै अगाडि ल्याइयो ।

मेरो भनाइको मतलब, यसरी सम्झौता र समझदारीमा अगाडि बढिएको छ । अधिकतम लचकता देखाइएको छ । ओली कामरेडलाई अब प्राप्त गर्नु नै के छ र आफ्ना सहयोद्धाहरुप्रति कठोर बन्नुपर्ने ? उहाँसँग व्यक्तिगत स्वार्थ के बाँकी छ ? केवल राष्ट्रको स्वार्थ होइन ?

केही स्वार्थ नभएको मान्छेले अहिलेको संकटका बेलामा अपारदर्शी ढंगले अध्यादेश ल्याएर अर्को पार्टी फुटाउने चलखेलचाहिँ किन गर्नुपरेको थियो ?

अहँ, यो अपारदर्शी भन्ने म मान्दिनँ । पार्टीका मुख्य नेताहरुसँग उहाँले सल्लाह गरेरै विधेयक मन्त्रिपरिषदमा लगिएको हो । प्रधानमन्त्रीसँग छलफल गर्दा सहमति जनाउने, अनि बाहिर आएर विरोध गर्नु राजनीति संस्कार होइन ।

अध्यादेशको विषयमा को–कोसँग कहिले छलफल गर्नुभयो प्रधानमन्त्रीले ?यो बाहिर प्रचार गरिएजस्तो ‘अपहरण’ विल्कुल थिएन । उहाँ राजीखुशीसाथ आउनुभएको थियो । तर, यहाँबाट गएर ल्याउने काम जसले गरेको भए पनि गलत भएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड, माधव नेपाल, वामदेव गौतम लगायत धेरैसँग छलफल भएको छ । मधेसमा कसरी राजनीतिक पकड बनाउने भन्ने सन्दर्भमा योजना बनाउँदा यी कुराहरु आएका हुन् । उहाँहरु सबैको सहमति थियो ।

तर, उहाँहरु त यो कुरा मान्नुहुन्न । छलफल र सहमति भएको थियो भन्ने तपाईंसँग के आधार छ ?

अध्यादेश आउनुभन्दा अगाडिका दिनहरुमा कसले बालुवाटारमा प्रधानमन्त्रीसित कति समय बिताउनुभएको थियो भन्ने रेकर्ड त अहिले पनि छ नि ।

समय बिताउनुभयो होला । तर, अध्यादेशकै विषयमा छलफल भएको नहुन पनि त सक्छ ?

विषय विल्कुल त्यही थियो । आकश्मिकरुपमा प्रस्ताव आएको हुनाले प्रधानमन्त्रीले यही विषयमा छलफल गर्न डाक्नुभएको हो । यति जानकारी मलाई छ । खैर, अब यो पुरानो कुरा छाडौं ।

जे भए पनि अर्को पार्टी फुटाउन खोज्नुले प्रधानमन्त्रीको नियत त खराब देखियो नि ?

यसमा नढाँटी क्लियर भन्नुपर्छ । संवैधानिक परिषदको विषयमा त पार्टीमा कुनै विवाद छैन । दुई तिहाईको सरकारले किन आयोगहरुमा अहिलेसम्म नियुक्ति गर्न सकेन भन्ने भएपछि अध्यादेश ल्याउनैपर्ने भएको थियो ।

अर्को दल त्याग सम्वन्धी अध्यादेशको जुन कुरा छ, मधेसी दलहरुमा अन्डरकरेन्ट निकै विवाद रहेको र उहाँहरु नेकपामा आउन चाहेको कुरा आए । त्यसो भए किन बाटो नखोलिदिने ? मधेसमा स्थापित नेताहरु पार्टीमा आउँदा हामीलाई मधेसमा राजनीति गर्न पनि सजिलो हुन्छ भनेर वरिष्ठ नेताहरुबीच छलफल भएको हो ।

उहाँहरुले त अर्कै पार्टी बनाउन पो खोज्नुभएको होइन र ? नेकपामा प्रवेश गर्ने कुरा कसरी आयो ?

होइन, उहाँहरु नेकपामै आउन चाहनुभएको थियो । परिस्थिति बदलिएपछि कुरा फेर्नुभएको हो ।

उहाँहरुलाई मन्त्री बनाउन पनि प्रधानमन्त्री तयार हुनुहुन्थ्यो ?

त्योचाहिँ मलाई थाहा भएन । प्रधानमन्त्रीले त्यस्तो भन्नुभएको थिएन ।

जे भए पनि पार्टी छोडाउनकै लागि काठमाडौंदेखि महोत्तरीसम्म मान्छे पठाएर एकजनालाई उठाएर ल्याउनु त घृणित खेल नै भएन र ?

यो बाहिर प्रचार गरिएजस्तो ‘अपहरण’ विल्कुल थिएन । उहाँ राजीखुशीसाथ आउनुभएको थियो । तर, यहाँबाट गएर ल्याउने काम जसले गरेको भए पनि गलत भएको छ ।

त्यो त प्रधानमन्त्रीकै निर्देशनमा भएको प्रष्टै छ नि ?

होइन । प्रमले त्यस्तो निर्देशन दिनुभएको छैन । उहाँहरुले आफैं बनाउनुभएको योजना हो । तर, यो कुरा अहिले छाडौं । उहाँहरुको पनि नियत खराब थिएन । जे भए पनि यो राजनीतिक विषयवस्तु हो ।

यही प्रकरणले अन्ततः प्रधानमन्त्रीको दुवै पद संकटमा परेको छ । अहिले प्रधानमन्त्रीको मुड के पाउनुभएको छ ?

अँ… राजनीति अत्यन्त गम्भीर मोडतर्फ गएको छ । केपी ओलीलाई ढाल्दा नेकपाभित्र हालिमुहाली गर्न सकिन्छ भन्ने विश्लेषण होला । तर, नेपालको राजनीतिक स्थिरताका निम्ति र राष्ट्रको समृद्धिका निम्ति केपी ओलीको नेतृत्व अपरिहार्य नै छ । यी मान्छेसँग संकल्प छ । यी मान्छेसँग इमान छ । यी मान्छेसँग त्यागको भावना । यी मान्छेको व्यक्तिगत केही लिनु–दिनु छैन ।

तर, उहाँले वामदेवलाई प्रधानमन्त्रीमा प्रस्तावित गरिसक्नुभो, अब राजीनामा कहिले दिनुहुन्छ ?

मलाई प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ भन्ने लाग्दैन । त्यतातिर अहिले नसोच्दा हुन्छ । कसैले मानोस्–नमानोस् केपी ओली भनेको नेकपाको मात्रै नभएर यो देशकै मियो हो । यो मियो यत्तिकै ढल्दैन, ढल्न दिनुहुँदैन ।

कोरोनापछि आफूले पद त्याग्ने र वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव त उहाँबाट आइसक्यो नि ?

वामदेव कामरेडलाई कसरी त्यहाँसम्म लैजाने भन्नेमा छलफल र बहसको आवश्यकता छ । त्यहाँ पुर्‍याउन अरु पनि तयार हुनुपर्‍यो । अरु नेताहरु कसरी प्रस्तुत हुनुहुन्छ त्यसमा निर्भर हुन्छ । तर, प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ भन्नेमा मलाई चाहिँ विश्वास छैन ।

त्यसोभए बामदेवलाई लोभ्याएर आफ्नो गुट बलियो बनाउन चालिएको रणनीतिक कदम मात्र हो ?

हो, यो रणनीतिक कदम नै हो । नेकपाभित्र फलानो नेताको बहुमत छ भन्ने खालका कुराहरु भइरहँदा त्यही सन्दर्भमा प्रधानमन्त्रीबाट यो विषय आयो होला ।

तपाईंको विचारमा अब निकासका लागि विकल्प के हुन सक्छ ?

पहिलो विकल्प भनेको दुई प्रमुख नेता मिल्नु नै हो । उहाँहरु के समझदारी र लेनदेन गर्नुपर्छ, गर्नुहोस् । उहाँहरुबीच भएको समझदारीलाई कसैले चुनौति दिँदैन ।

दोस्रो विकल्प भनेको प्रतिस्पर्धामा जाने हो । उहाँहरुले संसदीय दलमा ओलीको विपक्षमा बहुमत पुर्‍याउँदा हुन्छ । प्रधानमन्त्री यसमा लागि तयार हुनुहुन्छ ।

तेस्रो विकल्प भनेको चाँडै महाधिवेशन गर्ने हो । कसैलाई अध्यक्ष बन्न रहर छ भने महाधिवेशनबाट चुनिएर आउनुपर्‍यो ।

संसदीय दलमा मतदान गर्दा त ओली स्वतः अल्पमतमा पर्ने निश्चित नै छैन र ?

फेस गर्नुहुन्छ नि त उहाँले । प्रतिस्पर्धामा जाँदा जित्छौं नै भन्ने हुँदैन । उहाँले परिणाम स्वीकार गर्नुहुन्छ । जे–जे परिस्थिति आउँछन्, सामना गर्छु, तर मैदान छोड्दिनँ भन्नुभएको छ ।

दोस्रो कुरा, बाहिर त्यसको यति यसको यति भनिरहेका छन् नि, मतदानमा जाँदा त्यस्तो नहुन सक्छ । भोट हाल्ने व्यवस्था गरौं । म विश्वासका साथ भन्न सक्छु कि प्रधानमन्त्रीलाई हटाउन कसैले बहुमत जुटाउन सक्दैन ।

भनेपछि ओलीसँग संसदीय दलमा बहुमत छ ?

हो, केपी ओलीकै पक्षमा बहुमत हुन्छ । म दावाका साथ भन्छु ।

तपाईंले हिसाब निकालेरै भन्नुभएको हो कि यत्तिकै हचुवा दाबी हो ?

म पनि मान्छे चिन्छु नि ।

तर, ओलीलाई ८–१० जना पुग्दैन भन्ने मिडियाले आँकलन गरिहेका छन् नि ?

उनीहरु पुरानै गुटको हिसाब गरेर बसेका छन् । त्यो अहिले मिल्दैन । धेरै यता–उता हुन सक्छ ।

त्यसोभए उताका मान्छे तान्ने प्रयास भइरहेको छ ?

तान्ने होइन । उहाँहरु तयार नै हुनुहुन्छ ।

सांसदहरुसँग प्रधानमन्त्रीले संवाद गरिरहुभएको छ ?

उहाँहरुको नेता पनि हो नि प्रधानमन्त्री । संवाद हुनु कुन नौलो कुरा भयो ?

यसरी किचलो गरिरहनुभन्दा ओलीले पार्टी अध्यक्ष पद माधव नेपाललाई सुम्पिँदा नै राम्रो होइन ?

मानौं, तपाईंले रगत–पसिना गरेर एउटा घर ठड्याउनुभयो । सुन्दर घर बन्यो । तर, जब घरभित्र पस्ने बेला भयो, अर्को आएर किचलो झिक्यो । अनि भनियो कि सहमतिमा तपाईं घर छाड्नुस् । के तपाईं तयार हुनुहुन्छ ?

उहाँको स्वास्थ्य पनि त कमजोर छ । दोहोरो भूमिकामा किन लोभ गर्नुपर्‍यो ?मानौं, तपाईंले रगत–पसिना गरेर एउटा घर ठड्याउनुभयो । सुन्दर घर बन्यो । तर, जब घरभित्र पस्ने बेला भयो, अर्को आएर किचलो झिक्यो । अनि भनियो कि सहमतिमा तपाईं घर छाड्नुस् । के तपाईं तयार हुनुहुन्छ ?

लोभको प्रश्नै छैन । बलजफ्तीको कुरा हो । अपमानको कुरा हो । आफ्नो स्वेच्छाले छोड्ने कुरा एउटा हुन्छ । अरुले बलजफ्ती छोड्न लगाउनु अर्को हुन्छ । उहाँले के अपराध गर्नुभएको छ र छोड्ने ? स्वास्थ्य पनि सुधार भइरहेकै छ ।

देशको जनमत पनि त उहाँको पक्षमा छैन । प्रधानमन्त्रीको लोकप्रियता निरन्तर खस्किरहेको छ । यस्तोबेला अलिकति त्याग देखाउँदा उहाँलाई पनि राम्रै हुँदैन र ?

को लोकप्रिय र को अलोकप्रिय भन्ने जाँच्ने हो भने जनताको बीचमा जाउँ त । मध्यावधि चुनाव गरौं । कसैलाई आफू लोकप्रिय छु भन्ने लाग्छ भने चुनावबाट प्रमाणित गरोस् । चोरबाटोबाट पद मात्र उछिट्याउन खोज्ने ?

मध्यावधि चुनावलाई पनि प्रधानमन्त्रीले आफ्नो विकल्पमा राख्नुभएको छ ?

मैले प्रधानमन्त्रीको कुरा भनिरहेको छैन । यो मेरो विचारको कुरा गरेको हो । सफा ढंगले प्रतिस्पर्धा गर्ने हो भने यो पनि एउटा विकल्प हुन सक्छ ।

केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्दा निकै लोकप्रियता कमाउनुभएको थियो । तर, दोस्रो कालमा अति विवादित र आलोचित बनिरहनुभएको छ । तपाईंको विचारमा उहाँबाट के कमजोरी भए होलान् ?

उहाँलाई आलोचित बनाउनमा पार्टीभित्रैका मान्छेको बढी हात छ । विरोधीले आलोचना गर्नु एक ठाउँमा होला, तर, पार्टीकैले आलोचना गर्दा त जनताले पत्याउँछन् नि ।

उहाँको राजनीतिक विकासक्रम नै त्यस्तै छ । उहाँ लामो समय पार्टीभित्र एउटा कमजोर नेताका रुपमा रहनुभयो । विस्तारै प्रतिस्पर्धाबाट सबैलाई उछिन्दै माथि आउनुभएको हो । जो उहाँसित पराजित भए, उनीहरु अहिले पूर्वाग्रह र प्रतिशोधको भावना राखिरहेका छन् । माधव नेपाल र झलनाथ खनालको मुख्य समस्या यही हो ।

अर्कोतर्फ, पार्टी एकता भयो । अर्को पार्टीबाट आएकाहरु पनि केपीका पक्षमा छैनन् । यिनै यावत् कारणले गर्दा सामाजिक सञ्जालमा आलोचकहरु धेरै देखिएका होलान् ।

तर, तपाईं के बुझ्नुस् भने देशमा जति केपी ओलीका आलोचक छन्, त्योभन्दा धेरै बढी समर्थक छन् । उनीहरु कुनै स्वार्थले होइन, निष्ठाले समर्थन गरिरहेका छन् । जनताको यति धेरै भरोसा र निष्ठा भएको अर्को नेता नेपालमा मात्रै होइन, दक्षिण एसियामा नै छैन ।

भारतका नरेन्द्र मोदी र चीनका सी चिनफिङभन्दा केपी ओलीको गौरवपूर्ण विगत छ । उहाँ संघर्षको बलमा यहाँसम्म आउनुभएको हो । मोदी र चिनफिङसँग त्यस्तो बलिदानीपूर्ण विगत छैन । मोदी त झन् पृथकतावादी र जातीय हिंसामा समेत मुछिँदै आएका छन् । तसर्थ दक्षिण एसियाली नेतामा ओलीको स्थान मोदी र सीको भन्दा उच्च छ । यो हामी नेपालीका लागि सौभाग्यको कुरा हो ।

हो र ?

म राजनीतिशास्त्र पढेको व्यक्ति हुँ । अध्ययन नगरी बोल्दिनँ ।

केपी ओली कुनै कमजोरी नै नभएका आदर्श नेता हुन् त तपाईंका लागि ?

शैलीगत कमजोरी त होलान् । कसको हुँदैन कमजोरी ? गान्धीका पनि कमजोरी थिए । माओत्सेतुङका पनि थिए । ट्रम्पको कति विरोध भइरहेको छ ?

कुनै पनि नेतामा मूलरुपमा हेर्ने भनेको विचार हो । ओलीले ०५१ सालको अन्तिमदेखि अहिलेसम्म जुन राजनीतिक दिशा र विचार बोक्नुभएको छ, त्यो सही छ । त्यही विचारका आधारमा हामीले समर्थन गरेका हौं ।

तर, तपाईंजस्तो विश्वासपात्रलाई पनि ओलीले एकपटक धोका दिनुभएको थियो नि । मन्त्रीबाट हटाएको घटना बिर्सिनुभयो ?

त्यो पुरानो कुरा भइसक्यो । मैले त्यसबेला नै भनेँ कि ममाथि अन्यायपूर्ण व्यहार भयो भनेर । पछि केन्द्रीय कमिटीले पनि म र भीमजीलाई हटाउनु गलत भएको स्वीकार्‍यो । त्यसपछि यो विषयलाई उछालिरहनु आवश्यक भएन ।

त्यही एउटा घटनालाई लिएर मेरो केपी ओलीलाई हेर्ने दृष्टिकोण फेरिएको छैन । मैले आजसम्म उहाँलाई साथ दिनुको कारण भनेको त्यत्तिको अर्को नेता नभएमा देश अगाडि बढ्दैन भनेर हो ।

अबको महाधिवेशनमा त उहाँ उठ्नुहुन्न होला । त्यसपछि तपाईंहरुको नेता को हो त ?

सामान्यतः समझदारी र परिस्थिति ठीकै ढंगले अगाडि गयो भने उहाँ उठ्नुहुन्न । उहाँले उठ्दिनँ भन्नुभएकै छ ।

त्यसोभए अबको महाधिवेशनमा उहाँको समर्थन माधव नेपाल कि प्रचण्डलाई हुन्छ ? कि आफ्नै उम्मेदवार खडा गर्नुहुन्छ ?

त्यो भोलिको कुरा हो । यस्तै होला भन्न मिल्दैन । तर, यति चाहिँ भन्छु कि अब केही वर्षसम्म केपी ओलीको विचारलाई बोक्न नसक्ने व्यक्ति नेकपाको नेता हुन सक्दैन । उहाँ बाचुञ्जेल वा कथंकदाचित उहाँलाई केही भइहाल्यो भने पनि उहाँको विचारलाई सही ढंगले आत्मसात गर्न सक्ने उसैले नेकपा हाँक्ने हो ।

त्यसोभए प्रचण्ड र माधव नेपालमध्ये एकजना अध्यक्ष हुन्छन् भन्ने छैन ?

ठीक भन्नुभो । अहिले चार नेता मिल्नुभएको बाहिरबाट देखिन्छ । किनकि उहाँहरुको स्वार्थ मिलेको छ । भोलि महाधिवेशनमा उहाँहरु एक–आपसमै लड्नुपर्ने अवस्था आउला नि ? त्यसबेला त केपी ओली चाहिएला नि ?

अहिलेको अवस्था यदि बिग्रेर गयो भने नेकपामा फुट आउने सम्भावना कति छ ?

त्यता अवस्था नआओस् भनेर नै कोशिस भइरहेको हो । त्यो पछिको विकल्प हो । त्यो भन्दा अगाडि अरु विकल्प छन् ।

फुटको सम्भावनाचाहिँ छ कि छैन ?

त्यो खतरा टरिसकेको छैन ।

विभाजनका लागि पनि तपाईंहरु मानसिक रुपमा तयार हुनुहुन्छ ?

त्यो अकल्पनीय दुर्घटना हुन्छ । दुःखद हुन्छ । त्यतातर्फ पनि परिस्थिति गइरहेको छ । हामी रोक्न कोशिस गरेका छौं । देशभरिका नेता–कार्यकर्ताको चिन्ता त्यसैमा छ ।

यदि दुबै पद त्याग्नुपर्ने अवस्था आयो भने प्रधानमन्त्री पनि पार्टी फुटाउने मनस्थितिमा हो ?

उहाँको जिन्दगीभरि जतिसुकै अप्ठेरो बेलामा पनि विभाजनलाई अंगाल्नुभएन । नेपालको कम्युनिष्ट आन्दोलनलाई उहाँको निष्ठा, अडान र निडरताले यहाँसम्म ल्याएको हो । आफैंले यहाँसम्म ल्याएको पार्टी उहाँले किन फुटाउने ?

उहाँले नफुटाउने हो भने त फुटको खतरा नै रहेन नि ?

षडयन्त्र भनेको मान्छेको महत्वाकांक्षा र अहंकारको परिणाम हो । जसले यस्तो अहंकार र महत्वाकांक्ष पालेका छन्, उहाँहरुले गर्दा हो फुटको खतरा उत्पन्न हुने ।

नेपालमा हरेक महत्वपूर्ण राजनीतिक घटनाक्रम हुँदा भारतीय भूमिकाको चर्चा गरिन्छ । अहिले विकसित घटनाक्रममा चाहिँ भारतले कुनै भूमिका खेलेको होला कि नहोला ?

नेपालको राजनीतिमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल प्रत्यक्ष र प्रभावकारी हुने गथ्र्यो पहिले । केपी ओलीले यो सिलसिलालाई ब्रेक लगाइदिनुभयो । त्यसैले शक्तिकेन्द्रहरुका लागि उहाँ आँखाको कसिंगर हुनु स्वभाविकै हो ।

अन्तर्राष्ट्रिय सम्वन्धमा व्यक्तित्वको धेरै महत्व हुन्छ । हिजो वीपीले इन्डियामा नेहरुलाई गुरु मान्ने गर्नुहुन्थ्यो । त्यसैले नेहरुसित कडा स्वरमा बोल्न सक्नुभएन । आज ओलीले सक्नुहुन्छ । निर्धक्कसाथ देशको हितका कुरा गर्न सक्नुहुन्छ । म विद्वानहरुलाई भन्छु अनुसन्धान गर्नुस् । खोज गर्नुस्, मैले भनेको साँचो हो कि होइन । मलाई गलत सावित गर्नुहुन्छ भने विनम्रतापूर्वक स्वीकार गर्छु । हामी नजिकको तीर्थलाई हेला गर्छौंं । मरेपछि मात्र गुणगान गाउने चलन छ ।

मैले सोधेको प्रश्न के भने, अहिलेको विकसित राजनीतिमा भारतको कुनै भूमिका छ कि छैन ?

छ । तर, उसलाई दोष दिनु बेकार हो । आफ्नो घरको तालाचाबी बलियो बनाएदेखि उसले के गर्न सक्छ ? हामी आफैं हस्तक्षेपलाई प्रश्रय दिन्छौं । उनीहरुको ईशारामा चल्ने नेताहरु देशमा अझै पनि छन् ।

यसै प्रसंगमा समाजवादी पार्टीको फुट रोक्न कसले निर्णायक भूमिका खेल्यो जस्तो लाग्छ ? के यसमा पनि भारतलाई जोड्ने ?

यो एक सय प्रतिशत सत्य हो । दुर्भाग्यवस नेपालका केही पार्टीहरु देशको हितका लागि खुलेका होइनन् । विदेशीको स्वार्थ पूरा गर्नलाई हो । बुझिनसक्नुका पार्टी धेरै छन् यहाँ । यस्ता पार्टीमा सजिलै उनीहरुले खेल्छन् । महिला मुक्तीका नाममा, जातीय मुक्तिका नाममा, क्षेत्रीय उत्पीडनका नाममा यस्तो चलखेल हुने गर्छ । बाहिर उत्पीडनका कुरा गर्ने, भित्री उद्देश्य अर्कै हुन्छ ।

प्रमाण छ उनीहरुले भूमिका खेलेका हुन् भन्ने ?

यस्ता चिजको प्रमाण भेट्न सकिँदैन । दृश्य हुने भए षडयन्त्र नै भएन । खोज्दा भेटिँदैन, तर हुन्छ । हावा जस्तो ।

अब कुराकानीलाई बिट मार्नतर्फ लागौं । दोस्रो प्रत्यारोपणपछि पनि प्रधानमन्त्रीले खासै आराम गर्नुभएको छैन । आफ्नो स्वास्थ्यमा जोखिम मोलिरहेको देखिन्छ । अहिलेचाहिँ उहाँको स्वास्थ्य अवस्था कस्तो छ ?

उहाँले सधैं आफ्नो जीवनलाई जोखिममा नै राखेर हिँड्नुभो । मेरो अस्तिे भेट भएका थियो । मैले ‘रेस्ट गर्नुस् प्रधानमन्त्रीज्यू’ भन्दा उहाँले भन्नुभयो, ‘कहाँ रेस्ट गर्न दिन्छन् र ?’

उहाँलाई यस्तो वाध्यता सिर्जना गरिएको छ । अहिले पनि दैनिक १२ घन्टा सक्रिय हुनुहुन्छ । मैले देख्दाखेरि अहिले स्वस्थ हुनुहुन्छ । उहाँको अभिव्यक्ति र प्रस्तुत सहज एवं प्रष्ट छ । बरु बीचका कतिपय अवधिमा उहाँलाई गाह्रो भएको थियो ।

जस्तो गाह्रो अवस्थामा पनि उहाँको दृढ संकल्प र अठोट चाहिँ अद्भुत छ । राधाकृष्ण मैनालीले एउटा अन्तर्वार्तामा भन्नुभएको थियो, जेलमा बस्दा आफूले ओढेको सिरक पन्छाउन सक्नुहुन्नथ्यो, तर राजतन्त्रलाई पन्छाएर देश चलाउनुपर्छ भन्थ्यो । उहाँमा अहिले पनि यस्तै मनोवल छ ।

एउटै मान्छेसँग घण्टौं गफ चुटेर बस्ने स्वभाव अहिले पनि छ ?

त्यो उहाँको स्वभाव पुरानो हो । पाँच मिनेटकै लागि भनेर बोलाउनुहुन्छ, एक घन्टा बिताइदिनुहुन्छ । एकपटक उहाँले राजा वीरेन्द्रलाई समेत साढे ११ मिनेट कुराइदिनुभएको रहेछ ।

सायद राजालाई नै यसरी प्रतीक्षामा राख्ने उहाँ पहिलो नेपाली होला । यी स्वभावजन्य कमजोरी हुन् । उहाँका गुणहरुलाई हेरौं न । यो देशको अखण्डतामा प्रहार गर्ने, जातीय कलह निम्त्याउने सबै कोशिसलाई उहाँले निस्तेज गर्नुभएको होइन ?

भारतले नाकाबन्दी गर्दा डटेर सामना गर्नुभएको होइन ? यस्ता नेताले फोन उठाएन, समय दिएन, कार्यक्रममा ढिला आयो भन्नेजस्ता खुद्रामसिना कुराहरुलाई लिएर आलोचना गर्नुको कुनै तुक छैन ।

भनेपछि केपी ओली विकल्प देशमा कोही छैन ?

हो । तर, के गर्ने । पार्टीभित्रैका मान्छेहरु उहाँको उमेर गनेर बसेका छन् । हिजो किड्नी फेल हुँदा अब कति बाँच्छ र भनेर औंला भाँच्थे । उहाँले किड्नीको सफल प्रत्यारोपण गरेपछि उनीहरु निराश भए । त्यसपछि दोस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था आयो । त्यसबेला पनि दुईपटकको प्रत्यारोपण सफल हुने सम्भावना कति प्रतिशत हुँदो रहेछ भन्ने सोधखोज सुरु भयो ।

कसैले बाँच्दैन अब भने । प्रत्यारोपणपछि १ वर्ष काम गर्न सक्दैन भने । तर, दोस्रो प्रत्यारोपण पनि सफल भयो । प्रत्यारोपण गरेको २–४ दिन पछि नै नियमित काम गर्न थाल्नुभयो । अहिले विरोधीहरुमा ‘के खालको ज्याद्रो मान्छे रहेछ’ भन्ने परेको छ ।

Comment

Related News

Latest News

Trending News