अपडेट 
२०७७ बैशाख १८, बिहीबार १८:०७

काठमाडौं । बागलुङ नगरपालिका– ३, गैडाकोट । साढे दुई तले पक्की घर । सबभन्दा माथिको एउटा कोठा, जहाँ ६५ वर्षीया मनकुमारी पौडेल दुई हप्तादेखि बन्दप्रायः छिन् । यो दुई हप्ता भनेको उनी कोरोना संक्रमणमुक्त भएर घर फर्किएको अवधि हो ।

समय कटाउन कोठामा टेलिभिजन छ । बस्दाबस्दा दिक्क लाग्दा बाहिर निस्किएर हरिया डाँडापाखा र गाउँघर नियाल्न सजिलो छत छ । ‘अस्पतालबाट फर्किएपछि म घरबाट बाहिर निस्किएको छैन । छिमेकीहरू आउने कुरै भएन’, उनी भन्छिन्, ‘पहिले १७ दिन अस्पतालको आइसोलेसनमा, अहिले आफ्नै घरको क्वारेन्टाइनमा छु ।’

दमको रोगी भएपनि मनकुमारीको बोली दमदार छ । घर फिरेपछि दमले अलि सताएको छ, जुन उनको बोलीमा झल्किँदैन । उनले दमविरुद्ध पाँचथरि औषधि खान थालेको पनि १५ वर्ष भइसक्यो । कोरोना संक्रमणपछि उच्च रक्तचापको औषधि पनि थपिएको छ । उनी भन्छिन्, ‘अस्पताल बस्दा त सहज नै थियो, घर आएपछि छाती दुख्न थालेको छ ।’

बिहान अबेर उठ्छिन् मनकुमारी । उठेर घरकै भैँसीको एक गिलास तातो दूध खान्छिन् । त्यसपछि एक गिलास तातोपानी थप्छिन् । अलिबेरमा छोराबुहारीले कोठामै खाना ल्याइदिन्छन् । खानामा रुचि घटेको छैन । कोरोनासँग पनि कहिल्यै डरको अनुभव भएन ।

०००

छोराबुहारी भेट्न बेल्जियम गएकी मनकुमारी फर्किँदा कोभिड–१९ संक्रमित भइन् । ४ चैतमा नेपाल आएकी उनलाई १७ गते यो कुरा थाहा भयो । त्यस लगत्तै उनलाई धौलागिरि अञ्चल अस्पताल ल्याइयो । त्यहाँको आइसोलसनमा बागलुङकै अर्की कोरोना संक्रमित १९ वर्षीया किशोरीलाई पनि राखिएको थियो ।

एक जोर कपडा, पानी तताउने भाँडो र मेमोरी भएको तर राम्रो फोटो नखिच्ने एउटा मोबाइल बोकेर एम्बुलेन्समा उनी नौ बजेतिर धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनको वार्डमा पुगेकी थिइन् । उनी आइसोलेसन कोठाभित्र पस्दा बागलुङ मात्र होइन नेपालभर कोरोनाको त्रास फैलिएको थियो ।

नेपालको छैटांै कोरोना संक्रमित मनकुमारीलाई भने कति पनि आत्यास लागेन । उनी आइसोलेसनको नियम पालना गरेर ढुक्कले बसिन् । उनी भन्छिन्, ‘डाक्टर–नर्स आउँदा तपाईंलाई न ज्वरो आएको छ न खोकी लागेको छ । केही पनि भएको छैन भन्थे ।’

उनको रक्तचाप भने पहिलो दिनदेखि नै बढेको थियो । पीपीई पहिरिएका दुईजना नर्स दिनमा दुई पटक खाना र औषधि बोकेर कोठामा छिर्थे । बेलाबेला डाक्टर पनि पुग्थे । ज्वरो र रक्तचापको नियमित जाँच हुन्थ्यो । ‘केही भयो भने यो थिचेर घण्टी बजाउनु वा फोन गर्नु भन्थे’, मनकुमारी भन्छिन्, ‘पीपीईको नोक्सान जोगाउन पनि घरिघरि मात्र आएका रहेछन् ।’

अस्पतालमा रहँदा उनले फोनमा धेरै समय बिताइन् । छोराछोरी त छोराछोरी भइहाले, यो अवधिमा उनको नम्बर खोजेर इष्टमित्रले पनि सबैभन्दा धेरै डायल गरे । उनी न कोरानासँग डराइन् न त अस्पतालमा असहज मानिन् । ‘बेलाबेला डाक्टरले फोन गरेर गाह्रो त भएको छैन ? भनेर सोध्दा तातोपानी पिउँदै मजाले बसेकी छु भन्थेँ’, मनकुमारी भन्छिन्, ‘मैले जीवनमा सबभन्दा धेरै तातोपानी पिएको पनि त्यही समयमा हो ।’

दुई पटक ‘स्याम्पल टेस्ट’को रिपोर्ट नेगेटिभ देखिएपछि ५ वैशाखको साँझ सात बजेतिर नुहाएर छोरीले ल्याएको नयाँ कपडा लगाएर उनी अस्पतालबाट बाहिर आइन् । बाहिर खुसीको माहोलमा सानोतिनो भिड लागेको थियो । पत्रकारहरूको अगाडि मनकुमारीले भनिन्, ‘आत्मबल भए कोरोनालाई सजिलै जितिन्छ ।’

अहिले उनी सेल्फ क्वारेन्टाइनमा भए पनि नातिनातिना, छोराबुहारी र ससुराका साथमा छन् । उनको पतिलाई भने हृदयघातले लगेको दुई वर्ष भयो । दमकी बिरामी भएपनि क्वारेन्टाइन अवधि सकिएपछि अबको दुई दिनमा उनको दैनिकीमा बद्लाव आउने नै छ ।

‘मन बलियो बनाए, अपनाउनुपर्ने उपाय अपनाए कोरोनाले मान्छेलाई केही गर्न सक्दैन’, संक्रमितहरूका लागि ‘इनर्जी क्याप्सुल’ जस्तो बनेकी मनकुमारी पौडेल भन्छिन्, ‘तपाईं, तपाईंको परिवार, छरछिमेक कसैलाई केही गर्न सक्दैन ।

Comment

Related News

Latest News

Trending News