
जनकपुरधाम । प्रदेश २ मा अर्काे पिसिआर मेसिन आएको छ । कोरोना संक्रमित पत्ता लगाउने अर्काे पिसिआर मेसिन जनकपुरधाम आईपुगेको छ ।
यो मेसिन बिहीबार साँझ नै जनकपुरधाम आईपुगेको हो । पठाइएको अर्काे मेसिन पहिला पठाइएको मेसिन नै हो । पहिला पठाइएको मेसिनले काम गर्न छाडेपछि यहाँ पिसिआर परीक्षण नै स्थगित गरिएको थियो । पहिलाकै जस्तो अर्काे मेसिन पठाइएपनि यो जडान हुन सकेको छैन् ।
‘पुनः सोही मेसिन आएको छ’ प्रादेशिक प्रयोगशालाका प्रमुख रामबिनय साहले भने, “मेसिन मात्रै अर्काे हो । सबै थोक पहिलाको जस्तै छ ।”
यो मेसिनले पनि दैनिक १० वटासम्मको परीक्षण हुन सक्ने उनले बताए ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि पठाएकै मेसिन पुनः पठाएको छ । पहिलाको मेसिनलाई थन्काइएपछि मन्त्रालयले त्यहीं मेसिनको अर्काे सेट पठाएको छ ।
पहिलो पटक पठाइएको मेसिन गत चैत २१ गतेबाट संचालनमा आएको थियो । यो मेसिनबाट सय जनाको परीक्षण गरिएको छ ।
यहीं मेसिनबाट रौतहटका दुई जना र सर्लाहीका १ जना बालकको यो मेसिनमा स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । उनीहरुको स्वाब पुनः परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाउँदा पोजेटिभ देखिएको थियो । प्रादेशिक अस्पतालमा गरिएको परीक्षण नेगेटिभ र काठमाडौंमा पोजेटिभ देखिएपछि यहाँ परीक्षण बन्द गरिएको थियो ।
यहाँ परीक्षण बन्द गरिएपछि संकलन गरिएका स्वाबहरु काठमाडौं नै पठाइँदै आएको छ ।
मेसिन नभएपनि आफूले काम नरोको बताउँदै प्रमुख साहले थ्रोब स्वाब संकलन गर्नेदेखि समयमा रिपोर्ट दिदैं आएको बताए । मेसिन बन्द भएपनि कामलाई नरोकिएको बताउँदै उनले यहाँबाट पायक पर्ने काठमाडौं, हेटौडा र धरान स्वाब निरन्तर पठाइरहने बताए ।
‘ठूलो मेसिन पठाइदिँदा यहाँ परीक्षण गर्न सजिलो हुन्थ्यो’ उनले भने, “तर पुरानै मेसिन पुनः पठाइएको छ ।”
स्वाब परीक्षणलाई तिब्रता दिनुपर्ने समयमा पुरानै मेसिनको अर्काे सेट पठाइएपछि परीक्षण तिब्र रुपमा हुन नसक्ने प्रदेश प्रयोगशालाले जनाएको छ ।