अपडेट 
२०७७ बैशाख २०, शनिबार १२:५०

जनकपुरधाम । १२ जना कोरोना संक्रमित देखिइसकेको प्रदेश २ का थप १६ जनामा कोरोना भएको आशंका गरिएको छ । प्रदेशका तीन वटा जिल्लामा कोरोना आशंकित फेला परेका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सिरहा, धनुषा र बारामा कोरोना आशंकित देखापरेको र उनीहरुलाई आइसोलेसनमा राखिएको छ । आशंकित १६ जनामध्ये ८ जनालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा, ७ जनालाई बाराको सिमरास्थित अस्थायी आइसोलेसन अस्पतालमा र १ जनालाई सिरहाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

आशंकित १६ जनाकै स्वाब संकलन गरी परीक्षणका लागि पठाइसकिएको उनको भनाई छ । प्रदेश २ मा हालसम्म १२ जना कोरोना संक्रमित फेला परिसकेका छन् । फेला परेकामध्ये रौतहटका १९ बर्षीय युवक र भारतबाट आएका तीन जना स्वस्थ्य भइसकेका छन् । पछिल्लो पटक पर्सामा ३, बारा र रौतहटमा २÷२ जना र सर्लाहीका १४ बर्षीय बालक कोरोना संक्रमित देखिएका छन् । संक्रमित आठै जनाको बीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

रौतहटका २ जनाको र सर्लाहीका बालकको ¥यापिड टेस्ट गरिँदा पोजेटिभ देखिएपछि तीनै जनाको थ्रोब स्वाब (पिसिआर) प्रादेशिक प्रयोगशाला जनकपुरधाममा परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्जार्च गरिएको थियो । तर, यी तीनै जनाको स्वाब काठमाडौंस्थित केन्द्रीय प्रयोगशाला टेकुमा पठाउँदा पोजेटिभ देखिएपछि यी तीनै जनालाई उपचारका लागि बीरगंज पठाइएको छ । संक्रमित देखिएका व्यक्तिहरु लक डाउनको समयमा भारतबाट नेपाल भित्रिएका व्यक्ति हुन् ।

प्रदेशमा हालसम्म २ हजार ३ सय ८५ जनाको स्वाब परीक्षण गर्दा १२ जनाको पोजेटिभ देखिएको हो । ४ सय ६५ जनाको नतिजा आउन बाँकी छ भने अन्यको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा शुक्रबारसम्म ५ हजार १ सय ६१ जनाको ¥यापिड टेस्ट गरिएको छ । यसमध्ये १० जनाको पोजेटिभ देखिएपनि पिसिआर रिपोर्टमा नेगेटिभ देखाइसकेको छ ।

जिल्लागत रुपमा हेर्ने हो भने सप्तरीमा १ हजार १७ जनाको, सिरहामा ३ सय ४०, धनुषामा ४ सय ५८, महोत्तरीमा १ सय ७०, सर्लाहीमा १ सय ४५, रौतहटमा ५ सय १०, बारामा १ सय ५४ र पर्सामा २ हजार ३ सय ६७ जनाको ¥यापिड टेस्ट गरिएको छ ।

सप्तरीमा शुक्रबार ४ जनाको र पर्सामा ६५ जनाको ¥यापिड टेस्ट गरिएपनि अन्य जिल्लामा शुक्रबार ¥यापिड टेस्ट नगरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थप दुई क्वारेन्टाइन बनाइने

प्रदेश २ सरकारले थप दुई वटा प्रदेशस्तरीय क्वारेन्टाइन निर्माण गर्ने भएको छ । हालसम्म एउटा मात्रै प्रदेशस्तरीय क्वारेन्टाइन धनुषामा छ । सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले क्वारेन्टाइन निर्माणको तयारी भइसकेको जानकारी दिए ।

कोरोना महामारीबिरुद्व लड्नका निम्ति प्रदेशका आठ जिल्लामा तीन वटा क्लस्टर निर्माण गरिएको छ । बारा, पर्सा र रौतहट जिल्लालाई एउटा क्लस्टर बनाइएको छ भने सर्लाही, महोत्तरी र धनुषालाई एउटा क्लस्टर बनाइएको छ । यस्तै, सिरहा र सप्तरीलाई एउटा क्लस्टर बनाइएको घिमिरेको भनाई छ । उनले अहिले एउटा क्लस्टरमा मात्रै प्रदेशस्तरीय क्वारेन्टाइन रहेकाले थप दुई वटा निर्माणका लागि तयारी भइसकेको जनाए ।

भारतबाट १६ सय २८ जना लुकेर भित्रिए

कोरोना संक्रमणबाट बच्न लगाइएको लकडाउनकाबीच पनि भारतबाट लुकेर व्यक्तिहरु प्रदेश २ मा भित्रिएका छन् । शुक्रबारसम्म १६ सय २८ जना भित्रिएको सामाजिक विकास मन्त्रालयको तथ्यांकले देखाएको छ ।

सप्तरीमा १ सय ५० जना, सिरहामा १ सय ७९ जना, धनुषामा १ सय ३ जना, महोत्तरीमा १ सय ५९ जना, सर्लाहीमा ३ सय ३९ जना, रौतहटमा २ सय ६२ जना, बारामा ९३ र पर्सामा ३ सय ४३ जना भारतबाट सुरक्षाकर्मीको आँखा छलेर भित्रिएको उक्त मन्त्रालयले जनाएको छ ।

भित्रिएका सबैलाई क्वारेन्टाइनमा राखिएको सचिव घिमिरेले बताए ।

Comment


Related News

Latest News

Trending News