अपडेट 
२०७७ बैशाख २१, आईतवार ०७:५२

डा. भोजराज शर्मा काफ्ले
जेरुसेलमको हिब्रु विश्वविद्यालयमा उत्तरविद्यावारिधि गर्ने क्रममा गरिएको अनुसन्धानमा आधारित राजनीतिक स्थिरता र शिक्षाको गुणस्तरमा यसको प्रभाव शीर्षकको लेख दुई वर्ष पछि एक अन्र्तराष्ट्रिय पत्रिका (जर्नल) मा प्रकाशित भयो । सबै भन्दा बढी पाठक मैत्री भएकाले बधाई र धन्यवादको खबर प्राप्त भयो र अमेरिकाको फिलेडल्फियामा पुरस्कार लिन आउनु भन्ने निम्तो पनि आयो । यस अघि कहिल्यै नगएको विश्वको शक्तिशाली मुलुक अमेरिकामा आफ्नै कर्मले जान पाएकोमा खुसीको सिमै रहेन । कार्यालयले स सम्मान काज पनि स्वीकृत गरिदियो । गएँ ।
कार्यक्रम ३२ औं तलामा आयोजना गरिएको रहेछ ।
एक जना अमेरिकन प्राध्यापकले मेरो लेखको शीर्षकलाई आधार बनाएर सानो प्रस्तुति पनि गरे । त्यसका सकारात्मक र नकारात्मक पक्षका बारेमा टिपोट गरे । अंग्रेजी मातृभाषा भएका ती प्रध्यापकको बोली छिटो थियो सबै बुझ्न पनि सकिन । तथापि खुसिको सीमा नै थिएन । अझ दंग पर्ने कुरा त के थियो भने । उद्घोषकले मेरो बाल्यकालको दिनचर्या समेत बताएर कार्यक्रम शुरु गरेकि थिइन् ।

गल्ति भए सच्याई दिन मलाई आग्रह गरिन र उनले भन्दै गइन – खाली खुट्टा विद्यालमा पढ्न गएको, लिउटोमा समेत बस्न परेको, शुरुका कक्षामा विद्यालय नगएको, एकै चोटी माथिल्लो कक्षामा भर्ना भएको, बिहान र बेलुकी एक भारि घाँस काट्ने काम अनिवार्य भएको, विद्यालय जाँदा एउटा ढुङ्गो बोकेर जान अनिवार्य रहेको, तिनै विद्यार्थीले बोकेका ढङ्गाले विद्यालयको भवन निर्माण भएको, मोटर यातायतको पहुँचमा पुग्न धेरै घण्टा पैदल हिड्न पर्ने गाउँमा हुर्केको, हिउँदका दिनमा गाई गोठमा सुत्नु पर्ने, घाँस ओछ्याउने, टुकी बालेर पढ्नु पर्ने अवस्थामा बाल्यकाल विताएको !
त्यो कुरा उनीहरुले जेरुसेलमवाट मेरा प्रोफेसर आदाम नीरबाट लिएका रहेछन् । म इजरायलमा एक वर्ष बस्दा उनले मलाई पटक पटक उनको घरमा बोलाएर उनका दुई छोरा, छोरी र श्रीमती समेत राखेर मेरो बाल्यकालको अवस्थाका बारेमा भन्न लगाउँथे । रमाइलो कथा सुने जसरी मेरो नबुझिने अंग्रेजी दोहोर्याइ तेहेर्याइ सोध्ने गर्थे । एक डेढ हप्तामा मेरो फलानो छोरो वा छोरी वा श्रीमतीले तँलाई लिएर आइज भनेका छन् भनेर घरमा जान आग्रह गर्थे । नगई सुखै दिन्थेनन् । ती हाम्रा गन्थन राम्रोसँग उता पुर्याएका रहेछन् प्रोफेसरले ।

अरु पनि म जस्ता पुरस्कार पाउने मानिसहरु धेरै थिए । तर सबैको आकर्षणको पात्र म नै देखिएँ । धेरै औपचरिक कार्यक्रम त थिएन तथापि राउण्ड टेवलमा हामी थियौं, मेरो पनि पालो आयो । खुसी र हौसिएको बेला भएकाले आफ्नो पालामा निकै ढुक्क भएर आत्मविश्वासका साथ आफ्ना कुरा पनि राखें । त्यति बेलासम्म मजै आएको थियो । अवार्ड लिन भनेर बोलाए । मेरो कल्पना भन्दा फरक रहेछ । तिनको अवार्ड (पुरस्कार) भनेको त हाम्रा सामान्य वोर्डिङ्ग स्कूलले दिने एउटा खोस्टो कागज जस्तो रहेछ । तथापि असाध्य नै खुसी लाग्यो थ्याङ्क यु भन्दै ग्रहण गरें ।
त्यस पछि खानपिन र रमाइलो गर्ने कार्यक्रम रहेछ । जब तिमीहरुलाई धेरै जानकारी भै सक्यो भोजराज को हो र कहाँवाट आएको भन्ने, ऊ त्यहाँको गुरुङ्ग जातिको धनी संस्कृति भएको ठाउँबाट आएको हो । उसबाट एउटा विशिष्ट (युनिक) नाच र गित सुनौ र हेरौं, भनेर सुनाए मेरो होसहवास उड्यो ।

मलाई नाच्न गाउन पटक्कै आउँदैन ।
कँही कसैले एक पटक त नाच भने पनि लाजले भुतुक्कै हुन्छु ।
गाउन पनि आउँदैन ।
बजाउन पनि आउँदैन । कहिले काही आफैलाई धिक्कार लाग्छ । यो केही नपढेर ती कुरा जानेको भए हुने थिएन र भने जस्तो लाग्छ ।
उनले भनेको कुरा पनि गल्ति थिएन । म गुरुङ्ग गाउँमै हुर्केको हो । सात कक्षासम्म त म मात्र बाहुनको बच्चो थिएँ । नामै बाहुन भनेर पनि बोलाउँथे । गुरुङ्ग भाषा राम्रोसँग अझै पनि बुझ्छु । बोल्ने पनि गर्थें अहिले अभ्यास नभए पछि सक्दिन । नृत्य, गाना बजाना र खेलकुदमा साह्रै रमाइलो संस्कार र संस्कृति थियो, म जन्मे हुर्केको सेरोफेरोमा ।
तर त्यति बेला हामीमा प्रभाव कस्तो थियो भने नाच गान र खेलकुदमा लाग्ने भनेको गुरुङ्गहरुले हो । शरीर स्वस्थ्य र तन्दुरुस्त बनाएर भर्ति भएर लाहुरे हुनको लागि काम लाग्छ । हामीलाई भर्ति लिंदैन । त्यसैले पढ्न पर्छ । भन्ने कुरा दिमागमा भरिएको थियो । विद्यालयमा सह तथा अतिरिक्त क्रियाकलाप पनि हुन्थे बादविवाद, हाजिरी जवाफ जस्तामा आफ्नै ठेक्का जस्तो गरी भाग लिइन्थ्यो । जब नाच गान र खेलकूदका कुरा आउँथ्यो आफ्नो विषय होइन जस्तो गरी त्यता ध्यानै दिइएन ।
त्यस दिन मलाई हुनसम्म लाज भयो । राम्रोसँग जान्दिन भनेर भनेको भए पनि हुने थियो होला । त्यो पनि भनिन, आइ ह्याव नो मुड भनेर टारें । त्यहाँका सहभागी सबैले समेत नमज्जा अनुभूति गरे । मेरै कारणले त्यसो भयो ।

यस प्रकारको समस्या मलाई बेलाबेलामा परिरहन्छ । बिवाह, भोज, धार्मिक कार्यक्रम औपचारिक समारोहहरु आदिमा त्यस्तो समस्या परिरहन्छ ता पनि त्यहाँको जस्तो लघुताभाष कहिले पनि अनुभूति भएको थिएन । यो जाबो पिएचडि, पोष्टपिएचडि किन गर्न परेको भन्ने सम्मको भान भयो त्यति बेला !
विद्यालय निरीक्षक, जिल्ला शिक्षा अधिकारी, क्षेत्रीय शिक्षा निर्देशक हुँदा कहिले अतिथि कहिले प्रमुख अतिथि हुने अनि ल वहाँको पालो भनेर कसैले भने आँफू रातो मुख लगाएर बस्नु पर्ने !
गुल्मीमा जिल्ला शिक्षा अधिकारी हुँदा सबै भन्दा वढी पछुतो परेको थियो । त्यतिवेला साक्षर गाविस घोषणा गर्ने अभियान नै थियो । स्याङ्गजाको जस्तै गुल्मी पनि नाचगान र बजानको साह्रै धनी रहेछ । हरेक समारोहमा बाजागाजा र रमाइलो हुन्थ्यो विद्यार्थी भाइबहिनीहरुको नाच हेरेर साह्रै आनन्द लाग्थ्यो । मनमनमा आँफू भने पछुताइ रहन्थ्यें । यो समस्या मलाई आज पनि छ ।

विहानको मर्निङ्ग वाकको सट्टा व्याडमिण्टन खेल्ने भनेर त्यो कर्म शुरु गरियो । सबै भन्दा नजान्ने मनै पर्छु । कहिले काँही त खेल्ने टिममा मिसाउन सम्म साथीहरु गाह्रो मान्दा रहेछन् । स्वार्थी मान्छेको प्रतिविम्बन त्यहाँ पनि पाईंदो रहेछ, टिम नपुग्दा खुसी भएर मिसाउने । टिम पुगेमा, पनि नजान्नेसंग खेलेर मज्जा हुँदैन रे ! जीवनका शुरुका दिनमा अलिअलि सिकेको भए यो नियति अवस्य व्यहोर्न पर्ने थिएन होला । कम्तिमा नहेपिने सीपको विकास हुने थियो होला ।

पछिल्लो समय संसारलाई त्राहीमाम पारेको कोरोना भाईरसको जोखिमबाट बच्न गरिएको लकडाउनको पहिलो अवधि सकिए पछि विहानको डेढ घण्टा जति प्राणायाम र व्यायाममा विताउने गरेको दिन चर्या परिवर्तन गरें । पछिल्लो व्यायामको समयलाई युट्युबमा गीत र नाच लगाएर नाच्न थालें । साह्रै मज्जाले पसिना आउँछ । कोठामा चुक्कल लगाएर नाच्छु । पसिना आउने उद्देश्य मज्जैले पुरा हुने गरेको छ । तर नाच्न सिक्ने रहर भने त्यतिकै हुँदो रहेनछ ।
उमेरमा सिकिएन अहिले सिक्न खोजेर के हुनु । श्रीमतीले कहिले काँही अक्कल झुक्कल देख्दि रहिछन् । हाँसेर धुन्नाम ! करिब एक साता पछि फेरि एक दिन त्यसरी नै हाँसेको थाहा पाएँ ।
उनी पेशाले शिक्षक । हौसलाका लागि पनि अलिकति प्रगति त भए छ नि भन्छिन कि भन्यो ।
नाच्ने भनेको उफ्रिने हो र ! छैन केही प्रगति सरगति धुमधुम गरेर घरै थर्काउने मात्र हो भन्छिन रिस उठ्छ ।

तर के भन्नु । के गर्नु । उमेरमा सिकिएन अहिले जवरजस्त गरेर नहुने पो रहेछ क्यारे ।
जीवनमा व्यक्तित्व बनाउने खेलकुद र नाचगान पनि हो रहेछ । नेपालकै सम्बन्धमा गरिएको एउटा सघन अनुसन्धानले निरन्तर पढिरहने विद्यार्थीले भन्दा दिनको दुई घण्टासम्म खेलकूद, मनोरञ्जन र घरको कम गर्नेले राम्रो उपलब्धि देखाएको निष्कर्ष निस्किएको छ ।
यो शैलीले दिमागमा एकोहोरोपना हराउँछ रे !
केही समयको मनोरञ्जन र खुसीसाथ गरिएको कामले दिमागलाई पुर्नताजगी गरी सिर्जनात्मक बनाउँछ । अहिलेका भाइ बहिनी र अभिभावकलाई यो लकडाउन (बन्दाबन्दीको) बेला पठनपाठनका साथै यी कर्महरु पनि सँगसँगै अघाडि वढाउन मेरो अनुभूति राखें ।
कम्तिमा आधारभूत जानकारी र सीप भएमा मैले जस्तो हुर्मत व्यहोर्न पर्दैन । लाज हुँदैन । फेरि चौतर्फि व्यक्तित्व विकासका लागि आवश्यक पनि छ । यो बन्दाबन्दीको वेला यी सीपहरु विकास गर्न सकिएमा धेरै ठूलो उपलब्धि हुन्छ होला । यसले पढाईमा पनि रुचि जगाइ राख्छ ।
(काफ्ले शिक्षा मन्त्रालयका उपसचिव हुन् ।सौजन्य ःएडु खबर)

Comment

Related News

Latest News

Trending News