अपडेट 
२०७७ बैशाख २१, आईतवार ०८:३९

जलेश्वर ।महोत्तरी जिल्लाको भँगहा नगरपालिकामा १० दिन देखि अज्ञात रोगबाट मानिसहरु मर्ने क्रम नरोकिएपछि स्वास्थ्य मन्त्रालयले विशेषज्ञ टोली पठाएकोछ ।

भँगहा नगरपालिकाको वडा नम्बर ७ को गोरहन्ना र बर्दिबास नगरपालिकाको वडा नम्बर ४ जुरीका ११ जनाको मृत्युको कारण यकिन हुन नसकेपछि विशेष टोली खटाइएकोछ ।

इपिमिडियोलोजी तथा सरुवा रोग महाशाखाका एकजना चिकित्सक र विश्व स्वास्थ्य संगठन(डब्लु एच ओ)का एकजना चिकित्सकगरि दुई जनाको टोली शनिवार स्थलगत रुपमा अनुसन्धान गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्र चौधरीले बताए ।‘११ दिनमा एक जना महिला सहित ११ जनाको मृत्यु भएकोछ’ उनले भने, तर मृत्युको कारण यकिन भइसकेको छैन्, हामी अनुसन्धान गर्दैछौ ।

स्थानीय स्तरमा उत्पादन हुने मदिराको सेवनबाट उनीहरुको मृत्यु भएको आशंका गरिएकोछ ।घर घरमा नै मदिरा उत्पादन हुने र पानी जस्तै मदिरा सेवन गरिरहने देखिएकाले मृत्युको कारण त्यै भएको बढी आशंका रहेको चौधरीले बताए ।

दुवै वडामा थारु, मुसहरहरुको बढी बसोबास रहेको छ । आइतवार दुवै वडामा ¥यापीड डायग्नोस्टिक टेस्ट(आरडीटी) गर्ने तयारी गरिएको चौधरी बताए ।यस अघि गरिएको आरडीटी परीक्षणमा निगेटिव रिर्पोट मात्र आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

‘स्वाब टेस्टको कामपनि आइतवार हुनेछ’ उनले भने, अहिले कोरोना संक्रमणको पनि जोखिम रहेकाले स्वाब टेस्ट समेत गर्न थालिएको हो ।

‘मृत्यु भएकाहरुको उमेर ४० देखि ५५ वर्ष सम्म रहेकोछ’ चौधरीले भने, स्थानीय बासिन्दाहरुले मृतकहरु अत्यधिक रक्सी नियमित रुपमा खाने रहेको बताएका छन् ।मृत्युको कारण एक÷दुई दिन भित्र नै पत्ता लाग्ने उनले बताए ।

स्थानीय स्तरमा उत्पादित मदिराको स्वाद गत बुधवार फरक रहेको स्थानीय बासिन्दाहरुले जनाएका छन् ।त्यसपछि नै मानिसहरु मर्न थालेकाले मदिरा नै विशाक्त भएर सेवन गर्नेहरुको ज्यान गएको हुन सक्ने चौधरीको अनुमान छ ।‘मृत्युको कारण अहिले नै यकिन साथ भन्न सकिदैन्’उनले भने, तर प्रारम्भिक अनुसन्धानमा विशाक्त मदिरा सेवनकै कारण मृत्यु हुने संभावना बलियो देखिन्छ ।

Comment


Related News

Latest News

Trending News