अपडेट 
२०७७ बैशाख २१, आईतवार ०८:५७

जनकपुरधाम । लक डाउनको समयमा पनि भारतबाट धनुषा छिरेका चार जना आफ्नै मनले आइसोलेसनमा भर्ना भएका छन् ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ ढोलबज्जाका यी चार जना भारतको बिहार राज्य अन्तर्गत मुजफरपुरबाट हिंडदै शनिबार धनुषा आईपुगेका छन् । चारै जना प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएको धनुषा प्रहरीले जनाएको छ ।

मुजफरपुरमै दुई महिनादेखि काम गर्दै आएका चारै जनालाई कामबाट निकालिएपछि उनीहरु अलपत्र परेका थिए । अलपत्र परेपछि हिंडेरै सीमासम्म आएको र सीमामा पानी परिरहेको मौका छोपी आफूहरु नेपाल प्रवेश गरेको बयान प्रहरीलाई दिएका छन् ।

महोत्तरीको सीमा हुँदै धनुषा प्रवेश गरेपछि उनीहरु जनकपुरधामस्थित रमानन्द चोकमा ड्युटिमा खटिएका प्रहरीलाई आफूहरु भारतबाट नेपाल छिरेको जानकारी दिएका थिए । यसपछि यी चारै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले जनाए ।

कार्की का अनुसार उनीहरुको स्वाब परीक्षण गरिनेछ । यो चार जना भारतबाट आएसँगै धनुषामा लकडाउनको अवधीमा भारतबाट आउनेको संख्या १ सय ७ जना पुगेको छ ।

कोरोना संक्रमणबाट बच्न लगाइएको लकडाउनकाबीच पनि भारतबाट लुकेर व्यक्तिहरु प्रदेश २ मा भित्रिएका छन् । यो चार जनासहित १६ सय ३२ जना भित्रिएका छन् ।

सप्तरीमा १ सय ५० जना, सिरहामा १ सय ७९ जना, महोत्तरीमा १ सय ५९ जना, सर्लाहीमा ३ सय ३९ जना, रौतहटमा २ सय ६२ जना, बारामा ९३ र पर्सामा ३ सय ४३ जना भारतबाट सुरक्षाकर्मीको आँखा छलेर भित्रिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भित्रिएका सबैलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News