अपडेट 
२०७७ बैशाख २१, आईतवार १५:४३

भारत। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिनको लागि भारत सरकारले लकडाउन गरेको कारणले नेपालको विभिन्न जिल्लाका ३५ जना युवा भारतको उत्तरखण्डस्थित हरिद्वार क्षेत्रमा अलपत्र अवस्थामा रहेका छन् । तीमध्ये १९ जना लमजुङका छन् । हरिद्वार जिल्लाको सिवालीकनगर पवनपुत्र कोलानीस्थित ग्ल्याज ट्रेडिङ इन्डिया प्रालि मार्फत काममा खटिएका युवा लकडाउनपछि कष्टकर अवस्थामा छन् ।

रोजगारीका लागि भारतको उत्तरखण्डस्थित हरिद्धार जिल्लाको सिवालीकनगर पवनपुत्र कोलानी क्षेत्रमा अलपत्र परेका नेपाली मजदुर ।

त्यहाँको सरकारले उनीहरुलाई क्वारेन्टाइनमा राखेको छ । माघ १ गतेदेखि काममा खटिएका उनीहरुले तलबसमेत नपाएको र एक महिनादेखि काम गर्ने कम्पनी बन्द भएको बताएका छन् । मर्स्याङदी गाउँपालिका–२ का पूर्ण विकले कम्पनीले तलब नदिएको बताए । ‘जबर्जस्ती क्वारेन्टाइनमा हालिएको छ’ उनले भने, ‘न बाहिर निस्कन मिल्छ, न भित्र राम्रो व्यवस्था छ ।’

मर्स्याङदी–१ घनपोखराका आशिष विकले कम्पनीले एउटा काम भनेर अर्को काममा लगाएको, अर्को काम गर्दा पनि तलब नपाएको र क्वारेन्टाइनमा खान बस्न समस्या भएको बताए । ‘क्वारेन्टाइनमा दिनको एकछाक खान दिन्छ । गिलो भात, त्यो पनि थोरै । पानीको झोलमात्रैको तरकारी दिँदा खानै सकिँदैन,’ उनले भने, ‘एउटै कोठामा १०/१५ जना सुत्नु परेको छ ।’

लकडाउनअघि नै घर फर्किन खोज्दा कम्पनीले रोकेको र अहिले कम्पनीका कोही पनि सम्पर्कमा नभएको उनीहरुले बताएका छन् । उनीहरु एकसाथ लमजुङसहित सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, पोखरा, दार्चुलालगायत जिल्लाका ३५ जना छन् । भारतीय प्रहरीले गड्डाचौकी सीमासम्म पुर्‍याउने बताए पनि टुंगो नभएको उनीहरुले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News