अपडेट 
२०७७ बैशाख २२, सोमबार १६:२१

काठमाण्डू । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको सन्दर्भमा कोरोना परीक्षणको दायरा व्यापकरुपमा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोनमार्फत उक्त स्थानमा व्यापकरुपमा परीक्षणको दायरा बढाउन ध्यानाकर्षण गराउनुभएको संसदीय दलले जनाएको छ । कुराकानीका क्रममा प्रमुख सचेतक खाँणले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने तथा आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ट व्यवस्था र विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सङ्क्रमित व्यक्तिहरु अरु थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भएको हुँदा त्यसलाई मध्यनजर गरी सम्पर्कमा आएका व्यक्तिको तत्काल खोजी गरी परीक्षण गर्नुपर्ने र थप सङ्क्रमण फैलन नदिन सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको थियो ।

त्यसैगरी रुपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ का भारतबाट आएका युवकलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको हुँदा निजको सम्पर्कमा आएको व्यक्तिमा पनि सङ्क्रमणको उच्च जोखिम भएकाले उनीहरुको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिनुपर्ने बारेमा प्रमुख सचेतक खाँणले जोड दिनुभएको थियो ।

साथै स्वास्थ्य सामग्रीको अभाव रहेको जानकारी गराउँदै उहाँले तत्काल आवश्यक सामग्री व्यवस्थाका लागि आग्रह गर्नुभएको थियो । जवाफमा मन्त्री ढकालले स्वास्थ्य सामग्री कमी भएका स्थानमा यथाशीघ्र आवश्यक सामग्री पठाइने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

Comment


Related News