अपडेट 
२०७७ बैशाख २३, मंगलवार ०६:३९

जनकपुरधाम ।एकिकरणको प्रकृयामा रहेको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)ले दुवै दल एकिकरण भएको निर्णय केन्द्रिय समितिबाट भएको हस्ताक्षर सहितको निर्णय प्रति निर्वाचन आयोगमा बुझाउने तयारी गरेकोछ ।

दुवै दलका नेताहरुले केन्द्रिय समितिका सदस्यहरुको हस्ताक्षर सहित काठमाण्डु पुगेका छन् ।सपा र राजपा दुवै दलको एकिकरण सम्बन्धी निर्णय एकै प्रकारको भएपनि फरक फरक माइन्युटमा दुवै दलका केन्द्रिय सदस्यहरुको हस्ताक्षर संकलन गरिएकोछ ।

दुवै दलको सर्वाधिक प्रभाव प्रदेश २ मा नै देखिएको छ ।समाजवादी पार्टीको ४ सय ३१ सदस्यीय केन्द्रिय समितिमा १ सय ४ सदस्य प्रदेश २ का छन् ।राजपाको ७ सय ९४ सदस्यीय केन्द्रिय समितिमा ५ सय २० जना प्रदेश २ का नै रहेका छन् ।

दुवै दलको संयुक्त सरकार प्रदेश २ मा छ ।दुवै दल मिलाएर सर्वाधिक पालिकाहरुमा नेतृत्व गरिरहेको छ ।

दल एकिकरणलाई दुवै दलको केन्द्रिय समितिले अनुमोदन गरेको निर्णय निर्वाचन आयोगमा बुझाइने प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका राजपाका महासचिव जितेन्द्र सोनलले बताए ।

‘ प्रदेश २ मा रहेका राजपका केन्द्रिय सदस्य र पदाधिकारीहरुको हस्ताक्षण संकलन भइसकेको छ’ उनले भने, दुवै पार्टीको निर्णय संयुक्त रुपमा आयोगमा बुझाइनेछ ।

पार्टी दर्ताको वैधानिक प्रकृया पुरा गर्ने काम भइरहेसँगै पार्टीको विधान लेखनका लागि छलफल सुरु भइसकेको छ ।पार्टीमा अब एकल नेतृत्व राख्ने प्रावधान विधानमा रहने बताइएकोछ ।तर विधान छलफलकै चरणमा रहेकाले पार्टी संरचनाको यकिन गर्न नसकिने प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका समाजवादी पार्टीका केन्द्रिय कोषाध्यक्ष विजय कुमार यादवले पार्टीको संरचना लोकतान्त्रिक पद्धती अनुसार रहने बताए ।

समाजवादी पार्टीको संगठनात्मक संरचना तयार भइसकेको र राजपाले त्यस तर्फ काम गर्न नसकेकाले जिल्लागत रुपमा संगठनात्मक संरचना तयार भइसकेको छैन् ।तर राजपालेपनि जिल्लाहरुमा एकल अध्यक्ष नै राख्ने निर्णयगरि अधिवेशन गर्न महेन्द्र यादव संयोजक रहेको बेला निर्देशन दिएपनि त्यो कार्यान्वयन हुन सकेन् ।

दुवै पार्टीको पुरै केन्द्रिय समिति जनता समाजवादी पार्टीमा पनि रहने अथवा सानो अकारको केन्द्रिय समिति बनाइने त्यसबारेपनि विधान मस्यौदासँगै छलफल भइरहेको कोषाध्यक्ष यादवले बताए ।

सपा र राजपाबीच एकिकरणका लागि बिगतमा भएको सहमति अनुसार पार्टीको शीर्षमा महन्थ ठाकुर, बाबुराम भट्टराई, कार्यकारी अध्यक्षमा उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई लगायतका नेताहरु क्रमिक रुपमा रहने छन् ।तर यस सम्बन्धमा औपचारिक निर्णय हुन बाँकी रहेको नेताहरुले बताए ।‘दुवै दलका शीर्ष नेताहरुले कतिपय विषयमा छलफलको क्रममा रहेका छन्’ समाजवादी पार्टीका महासचिव रामसहाय यादवले भने, पार्टी दर्तासँगै सबै विषयको टुंगो लाग्नेछ ।

लकडाउनको कारण दुवै पार्टीको केन्द्रिय समितिको बैठक बस्न सकेन् ।नेताहरु अहिले पार्टी दर्तालाई नै केन्द्रमा राखेर काम गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News