अपडेट 
२०७७ बैशाख २३, मंगलवार ०६:४५

लहान । बन्दाबन्दी(लकडाउन)को मारमा परेका मजदुर, बिपन्नहरुलाई राहत वितरणमा विभेद भएपछि सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा सोमवार झडप भएको छ ।

मिर्चैया नगरपालिकाको वडा नम्बर ७ फुलवडियामा राहत लिन पुगेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएकोछ ।झडपको क्रममा ५ जना प्रहरी र ४ जना स्थानीय बासिन्दा घाइते भएका छन् ।

वडा कार्यालयको प्राङ्गणमा वडा अध्यक्षयको उपस्थितिमा अति विपन्न १ सय ३४ घरधुरीलाई राहत वितरण गर्ने कार्यक्रम थियो । तर वडाका असन्तुष्ट बिपन्न बासिन्दाहरुले आफूले पनि राहत पाउनु पर्ने माग गरेपछि विवाद सुरु भएको थियो ।

झडपका क्रममा प्रहरीले ४ राउण्ड अश्रुग्यास र ९ राउण्ड एसएलआरबाट हवाइ फायर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तु जैसवालले जनाए । हो हल्ला गर्नेहरुले ढुंगा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाइ फायर गर्नुपरेको उनले बताए ।

धनीहरुको नाम समेत राहत लिनेको सूचीमा समावेश गरिएपछि स्थानीयवासीले त्यसको बिरोधगर्दै विपन्नहरुलाई मात्र उपलब्ध गराउन माग गरेका थिए ।धनी व्यक्तिहरुले समेत राहत लिन थालेपछि बिरोधमा उत्रेका स्थानीय बासिन्दाहरुमाथि प्रहरीले लाठीचार्ज गरेका थिए ।

भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले ४ बढी राउण्ड अश्रुग्यास र ९ राउण्ड हवाईफायर गरे ।प्रहरीले अश्रुग्यास प्रहारगर्दै लाठीचार्ज गर्न थालेपछि स्थानीय बासिन्दाहरु भागाभाग भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी विनोद घिमिरेले राहत वितरण गर्न वडा कार्यालयमा पुगेको टोलीमाथि स्थानीय बासिन्दाहरुले ढुंगामुढा गर्न थालेपछि भीडलाइ नियन्त्रण गर्न प्रहरीले समान्य बल प्रयोग गरेको बताए ।

झडपको क्रममा प्रहरीको लाठी लागेर घाइते भएका ४ जनाको उपचार स्थानीय निजी क्लिनिकमा भइरहेकोछ ।


नगरपालिका वडा– ७ का अध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समावेशगरि राहत वितरण गर्न थालेको आरोप लगाउँदै रामेश्वर यादवले भने, ‘विपन्नका लागि आएको राहत सामग्री सम्पन्नले पाउन थालेपछि असन्तुष्टि जनाउदा लाठी र गोली खानु परेकोछ ।

‘राहत माग्नेमाथि प्रहरीले अश्रुग्यास प्रहारगर्दै अन्धाधुन्ध लाठी चार्ज गरे’ यादवले भने, बिपन्नहरुले सरकारी राहत समेत पाउन सकिरहेको छैन् ।

वडाध्यक्ष यादवले मनोमानी ढङ्गले विपन्नको नामावली सङ्कलन गरेर राहत वितरण गर्न थालेको विरुद्धमा स्थानीयवासी ओर्लिएपछि प्रहरीले अनावश्यक बल प्रयोग गरेको रामेश्वर यादवले बताए ।

तर वडाध्यक्ष यादवले कुनै पूर्वाग्रह नराखी निष्पक्ष तरिकाले वास्तविक विपन्न, गरिब परिवारलाई राहत वितरण गर्न खोज्दा राजनीतिकरुपमा विवाद सिर्जना गर्न खोजिएको आरोप लगाए । नगरपालिकाको अन्य वडामा पनि राहत वितरण गर्ने क्रममा विवाद भएको थियो ।

प्रहरीले बल प्रयोग गर्न थालेपछि राहत लिन पुगेका बिपन्नहरु भागाभाग भएका थिए ।वडाअध्यक्षले मनपरी ढंगले आफ्ना निकटका मानिसहरुलाई राहत सामग्री प्रदान गरेको पीडितहरुले आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News