अपडेट 
२०७७ बैशाख २३, मंगलवार ०८:१९

जनकपुरधाम । महोत्तरीमा अज्ञात रोगबाट मृत्यु् भएको भनिएका व्यक्तिको रक्सी सेवनकै कारण मृत्यु भएको निष्कर्ष चिकिस्कले निकालेका छन् ।

लगातार १२ जनाको मृत्यु भएपछि अनुसन्धानमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीले यस्तो निष्कर्ष निकालेका हुन् । अनुसन्धानमा खटिएका जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र चौधरीले १२ जनामध्ये १० जनाको रक्सी सेवनकै कारण ज्यान गएको जानकारी दिए ।

महोत्तरीको भंगहा नगरपालिका ६ र ७ तथा बर्दिवास नगरपालिका १२ का गरी १२ जनाको अज्ञात रोगले मृत्यु भएको भनिएकोमा १० जनाको रक्सी सेवनकै कारण ज्यान गएको उनले बताए ।

१० जनाको रक्सी सेवनका कारण, १ जनाको औंलो रोगका कारण र १ व्यक्तिको अचानक मृत्यु भएको उनको भनाई छ ।

स्वास्थ्य सेवा विभागबाट आएका मेडिकल टिमका डा. अमृत पोखरेल, जिल्ला तथा प्रदेश टिमका चिकित्सक तथा स्वास्थ्यकर्मी एवं धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट समेत आएका चिकित्सकको टोलीले मृतक प्रत्येक परिवारसंग सोधपुछ गर्दै अनुसन्धान गरेका थिए । ‘उनीहरुले बिषाक्त रक्सीको सेवन गर्दा उनीहरुको ज्यान गएको देखिन्छ’ चौधरीले भने, “अन्य कुनै कारण छैन् ।”

यसैबीच सोमबार मृत्यु भएका भंगहा नगरपालिका गएर प्रदेशका २ मन्त्रीले स्थलगत अनुगमन र निरीक्षण गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र सामाजिक विकास मन्त्री नवलकिशोर साह सोमबार अनुगमन गर्न यहाँ पुगेका छन् ।

त्यस क्रममा मन्त्री यादवले मृतक परिवारलाई किरिया खर्चका लागि रु १ लाख उपलब्ध गराउने प्रतिबद्वता जनाए ।

यादवले मृतक १२ जनाकै परिवारलाई एक लाखका दरले उपलब्ध गराउने बताए ।

सो अवसरमा सामाजिक विकास मन्त्री साहले मेघनाथ गोरहन्ना स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्रीहरु समेत हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा भंगहा नगरपालिकाका मेयर संजिव साहले कडा कानुन बनाएर मदिरा उत्पादन तथा बिक्री वितरण बन्द नभए सम्म घटना भइरहने बताए ।

Comment


Related News

Latest News

Trending News