अपडेट 
२०७७ बैशाख २३, मंगलवार ०९:१०

काठमाण्डु । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसित मिलेर तत्कालिन समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धक सम्बन्धी उजुरी जिल्ला सरकारी वकिलको कार्यालयमा सोमवार दर्ता भएकोछ ।

वैशाख १६ गते जनता समाजवादी पार्टीका नेताहरुले सो कार्यालयमा उजुरी दर्ता गराउन जाँदा दर्ता गर्न अस्वीकार गरिएको थियो ।निवेदन त्यहाँ छाडेर नेताहरु हिडेका थिए ।तर हप्तादिनपछि सो निवेदन दर्ता भएकोछ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले बताए । ‘महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ ’ उनले भने, जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाण्डु ल्याएको उनीहरुमाथि आरोप लागेकोछ ।

दर्ता गरिएको उजुरीमाथि अध्ययन गरिएपछि आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउने उनले बताए ।

वैशाख १० गते साँसद बस्नेत, श्रेष्ठ, खनाल सहितको टोलीले यादवलाई महोत्तरी जिल्लाबाट अपहरणको शैलीमा काठमाण्डु पु¥याएका थिए ।उनीहरुले यादवलाई बिहान करिब २ बजे नक्सालस्थित मेरियट होटेलमा लगेर राखेका थिए ।त्यहाँबाट यादव भागेर पार्टीका नेताहरुको सम्पर्कमा आएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन समाजवादी पार्टी फुटाउन दल सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश जारी गरेको थियो ।चौतर्फी आलोचना भएकोे सो अध्यादेश बमोजिम पार्टी फुटाउन ओलीको निर्देशनमा सांसद यादवलाई महोत्तरीबाट काठमाण्डु पु¥याइएको थियो ।तर उनी त्यहाँबाट उम्केपछि पार्टी विभाजनको प्रधानमन्त्री ओलीको प्रयास असफल भएको थियो ।

सरकारी वकिलको कार्यालयले अपहरण सम्बन्धी निवेदन दर्ता गर्न अस्वीकार गरेपछि राष्ट्रिय मानव अधिकार आयोगमा यादवले उजुरी दिएका थिए ।त्यसपछि वकिलको कार्यालयमा निवेदन दर्ता भएकोछ ।

यसैबीच सांसद बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक खनालको तर्फबाट सोमवार राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भटट्राई, उनका सहयोगी विश्वदिप लगायतमाथि कार्वाहीको मागगर्दै उजुरी दर्ता गराइएको छ ।

Comment


Related News

Latest News

Trending News