अपडेट 
२०७७ बैशाख २३, मंगलवार ०९:२७

ममता ढकाल ढुंगाना
सन् २०१९ डिसेम्बरबाट चीनको हुवई प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड१९) रोग अहिले महामारीका रुपमा विश्वका २०० भन्दा बढी देशमा फैलिसकेको छ।

भन्छिन, ‘नयाँ वर्षमा फेरिने त पात्रो मात्र हो, दिनचर्या त उही हो’ तर यो नयाँ वर्ष भने हाम्रो भनाई भन्दा निकै नै विपरीत रह्यो।नेपाली र अंग्रेजी दुवै वर्ष सन् २०२० अनि वि.स २०७७। भन्ने हो भने हामी कसैको घरमा वि.स २०७७ सालको पात्रो भित्रिएको छैन होला।कोही त्यही वि.स २०७६ सालको चैत्र ३० पछि गन्दै हौँला, कोही गुगलबाट हेर्दै हौँला भने कोही हाम्रो पात्रो जस्ता एप नियाल्दै बसेका छौँ। यो समयमा कति कामहरु अल्पविराम लागेका कतिका मन छट्पटाएका।कोरोना नामक यो भाइरस थाहा छैन कसरी आयो, कहाँबाट आयो अनि यो संसारदेखि टाढा कहिले जानेछ भनेर। जे होस् यो कोरोना भन्ने शब्दले आफ्नो इतिहास रचिसकेको छ।


दशकौ˗दशकसम्म रहने गरी स्मरणमा छाप बनाइसकेको छ। झट्ट सोच्दा पट्यार लाग्न थालिसकेको छ। यो दिनचर्या देखेर कति खानु, कति सुत्नु अनि कति मोबाईल चलाउनु।दिनहुँ अफिसको कामले हैरान हुँदा अथवा स्कुल˗ कलेजको पढाईले दिक्क लाग्दा शनिबार छिटै आओस् भन्ने हामीलाई आज कुन बार हो भनेर फ्याट्ट भन्न दिमाग खियाउनै पर्ने भएको छ।

यसो फुर्सद पाए आराम गर्थे भनेर सोच्ने हामी आज त्यो खाटले बरु आराम खोज्न थाले जस्तो लाग्छ। कति बलवान् रहेछ यो कोरोना। मानाँै जादुको छडि जस्तै हामीले इच्छाएका कति कुरा पुरा भएका ˗ दिनदिनै बिदा, छिनछिनै आराम।तर पनि यो अवस्था नियाल्ने हो भने कोरोनाले त्रासको माध्यमबाट हामीलाई कति धेरै सकारात्मक तथा ज्ञानका कुरा सिकाइरहेको छ ˗ जसरी हाम्रो बाबाले हामीलाई छडीको डर देखाएर असल व्यक्ति बन्न सहयोग गर्नुहुन्थ्यो।कोरोनाले यहाँ हर कोहिलाई मातृभूमिको आश्रय, जन्मथलोको साथ अनि परिवारको मायाको महत्वबोध गराएको छ।


आफ्नै आमालाई लात हानेर जुन भौतिक खुशीका लागि दौडिरहेका थियौ नि, तिनै आमाका आँशुले होला आज हामीलाई पोलेको।हुन त विदेशीनु कतिको रहर त कतिको बाध्यता होला तर आफ्नो भूमिलाई नै बाँझो राखेर खुशीको खेती गर्न खोज्ने हामी किन आफ्नै थलोमा केहि गर्न हिच्किचाउँछौ?बाँझो फोरौँ, सुन फलाऔँस गरे के हुन्न र ? देशभित्र नै त कति दाजुभाई˗दिदिबहिनीहरु हिडेर भए पनि परिवारसम्म पुग्छु भन्ने अठोट लिनुभएको पाइयोे।मरे पनि परिवारसँग आफ्नै माटोमा मिलौला भन्ने ठान्नुभयो। धौर्यताका अनि अठोटका कथा त लेखिए तर के त्यो धैर्यता अनि अठोट आफ्नै गाँउठाउँ केही गर्छु। मेहेनत गरेर आफ्नै जन्मथलोलाई नै कर्मथलो बनाई जीवनयापन गर्छु भनेर दृढता लिन आज कोरोनाले सहारा दिनुपर्यो?देश गरिबीको खाडलबाट निस्किन कोसिस गरिरहेको थियो तर यो कोरोनाले फेरी देश गरिबी तिर नै धकेलिइरहेको छ। गरिबीबाट नि हामी उठाँैला तर यदि केहि गरि अकालमा नै कसैको ज्यान गएमा कसरी उठौला?एउटा जीवन कति अमुल्य रहेछ भन्ने पाठ कोरोनाले सिकाएको छ। कोरोनाले मृत्युलाई नियाल्ने मौका दिइरहेको छ। नत्र त हामी मानव यसरी पैसा, पावर, सम्पत्ति, विद्रोह, लडाई हिंसा, आदिका पर्याय नै भइसकेका थियौँ।


यसरी स्वार्थी भइरहेका थियौँ कि मानौँ यो हाम्रो जुनी अमर हो। तर त्यो पैसा, पावर, सम्पत्ति, विद्रोह, लडाई अनि हिंसा सबै हाम्रा मोह मात्र हुन्।अमुल्य त केवल जीवन हो भन्ने पाठ यो अदृश्य कोरोनाको माध्यमद्धारा अहिले आएर हामी सिक्दैछौ। अरु ठाउँको त कुरा छाडौँ भगवान्को दर्शन गर्न जाँदा पनि लाम बस्न अप्ठ्यारो मानेर तछाड मछाड गर्ने हाम्रो बानी अब भने पक्कै सुध्रिने छ।अनुशासन भन्ने शब्द आफ्नो शब्दकोषमा मात्र सिमित राख्ने दिन अब सायद सकियो। दुरी कायम गर्नु, आफ्नो पालोको पखाईमा बस्नु, लाम लाग्नु, आदि जस्ता सामान्य लाग्ने आनी˗बानी पनि यही कोरोनाले गर्दा हामीले निश्चय नै व्यवहारमा उतार्ने भयौँ।साधारण सरसफाइ तथा आहार˗विहारकोसम्म ख्याल नराख्ने हामी आजकल हात धुन थालेका छौँ। थोरै नै किन नहोस् पोषिलो, सफा खाने कुरा खान थालेका छौँ।

आफुलाई सर्वश्रेष्ठ र सामाजिक प्राणी मान्ने मानवलाई आखिर सबैभन्दा ठूलो त ज्यान नै रहेछ नि भन्ने पाठ पनि यही कोरोनाले सिकायो।


(ढुंगाना नेपाल अर्बुद रोग निवारण संस्थाकी कार्यक्रम अधिकृत हुन्।)

Comment

Related News

Latest News

Trending News