अपडेट 
२०७७ बैशाख २४, बुधबार ०८:५५

काठमाण्डु ।कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलवार सम्पन्न बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ ।


प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरेको छ । तर कति दिन थप्ने भन्ने विषयमा बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ ।समितिले लकडाउन थप्ने निर्णयगरि सिफारिस गरेको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको बताए ।


बैठकपछि सञ्चारकर्मीहरुसित कुरागर्दै उनले भने, समितिले लकडाउनको प्रभावकारितालाई कायम राख्दै निरन्तरता दिने निर्णय गरेकोछ । मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उनले बताए । ‘ अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्र्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र सङ्क्रमणको अवस्थाका विषयमा छलफल भएको छ’ सचिव विडारीले भने, लकडाउनका कारण नागरिकको जीउज्यानको सुरक्षा गरी संक्रमणलार्ई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकालेको छ ।’


बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना सक्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको छ ।


यसैबीच सङ्घीय सरकारले कोरोना सङ्क्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नं. २ का आठै जिल्लालाई अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरूपमा अगाडि बढाएको छ ।


कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारीरूपमा लागू गरी सीमा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक तिलक सुनारले बताए ।

भारतीय सीमासँग जोडिएको प्रदेश नम्बर २ का आठ जिल्लाको ४ सय २८ किलोमिटर छ । सो क्षेत्रमा ३ सय २९ वटा सशस्त्र प्रहरी चेक प्वाइन्ट खडा गरी सीमा क्षेत्रको आउजाउमा कडाइ गरिएको छ ।


खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रदेश नं २ प्रहरी कार्यालयले सीमानाकामा चेक प्वाइन्ट खडा गरी निगरानी बढाएको हो ।लकडाउनलाई सफल पार्न प्रहरीले कडाइ गरेपछि सामाजिक दूरी कायम गर्नेमा सुधार हँुदै आएको प्रदेश नं २ प्रहरी कार्यालयले जनाएको छ ।


प्रदेश २ का संक्रमित १३ जना मध्ये ११ जनाको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचार भइरहेको छ ।प्रदेश २ को आइसोलेशनमा ३० र क्वारेन्टाइनमा १ हजार १ सय ५७ जना रहेको जनाइएको छ । लकडाउनको अवहेलना गरी बाहिर निस्किने ७ सय ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको पालना नगरेको ६ हजार ६ सय ७० वटा सवारी साधन नियन्त्रणमा लिएको छ । प्रदेश नं २ रेडजोनमा आएपछि लकडाउनलाई पूर्णरूपमा पालना गराउन व्यापक प्रहरी परिचालन गरिएकोछ ।

Comment


Related News