अपडेट 
२०७७ बैशाख २४, बुधबार ०९:५२

जनकपुरधाम । कोरोना संक्रमणबाट बच्न लगाइएको लक डाउनले प्रभावित भएको आर्थिक क्षेत्रलाई मध्यनजर गर्दै प्रदेश २ सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउने भएको छ ।

आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि संघीय सरकार र प्रदेश सरकार समेतले बजेट ल्याउने तयारी गरेको छ । प्रदेश २ सरकारले पनि बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव बजेट ल्याउने तयारी केहि दिनभित्रै शुरु हुने बताए । उनले देशको विद्यमान अवस्थालाई नियाँल्दै बजेट ल्याइने जानकारी दिए ।

‘कोरोना महामारीका कारण देशको अर्थतन्त्र नै धारासायी भइसकेको छ’ उनले भने, “महत्वपूर्ण हिस्सा भएको वैदेशिक रोजगार र अर्काे प्रमुख आयश्रोत पर्यटन क्षेत्र पनि प्रभावित भएकाले यी कुरालाई पनि मध्यनजर गरेर बजेट ल्याइनेछ ।”

चालू आर्थिक बर्ष २०७६÷७७ मा कृषिलाई प्राथमिकता दिएको प्रदेश सरकारले आगामी आर्थिक बर्ष स्वास्थ्यलाई प्राथमिकता दिदैं बजेट ल्याउने तयारी गरेको उनले बताए । मन्त्री यादवका अनुसार दोस्रो प्राथमिकता भने कृषिलाई नै दिइनेछ ।

उनले बजेट सन्दर्भमा सात वटै प्रदेशका अर्थ मन्त्री सम्मिलित अर्थ परिषद् समन्वय समितिको बैठक अनलाइन मार्फतै हुने र त्यो छलफलपछि संघबाट आवश्यक निर्देशन आएपछि बजेट निर्माण थालिने जानकारी दिए ।

उनले पूँजीगत खर्च न्यून भएको समयमा संवैधानिक व्यवस्थाभित्रै रहेर बजेट ल्याइने बताए ।

चालू आ.ब. मा प्रदेश सरकारले प्रदेश २ सरकारल रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको छ ।

चालूतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार र पूँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार रहने गरी प्रदेश सरकारले बजेट ल्याएको छ । तर यस पटक कति ल्याउने भन्ने बिषयमा तत्काल भन्न नसकिने मन्त्री यादवको भनाई छ ।

मन्त्री यादवले लक डाउनका कारण प्रदेशमा निर्माण सम्बन्धी कामका लागि छुट्टयाइएको अधिकांस बजेट फ्रिज हुने बताए ।

उनले लकडाउनका कारण उद्योगहरु बन्द भएको र सामग्री नपाइएका कारण काम हसन नसक्ने बताए । ‘निर्माण काम अगाडि बढाइए सिमेन्ट र रडको उद्योग शुरु गर्नुपर्छ’ उनले भने, “नभै निर्माण काम हुनै सक्दैन् ।”

प्रदेशको बजेट विनियोजनमा समानीकरण विशेष अनुदानको प्रतिशत अत्यन्तै कम भएको भन्दै मन्त्री यादवले यसलाई संघीय सरकारले बढाउनुपर्ने बताए ।

Comment


Related News