परासी । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण नवलपरासी बर्दघाट–सुस्ता पश्चिम जिल्लामा आपराधिक घटनामा कमी आएको छ । बन्दाबन्दीमा चोरी, डकैती, हत्या, जबर्जस्ती करणी जस्ता अपराधका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
‘लकडाउनका कारण मानिस घर बाहिर निस्कन नपाउनु, सीमा क्षेत्र पनि पूर्ण रुपमा बन्द हुनु र पं्रहरीको सक्रियता रहनु जस्ता कारणले विगतका तुलनामा अपराधका घटनामा कमी आएको छ’, उहाँले भन्नुभयो । प्रहरी गाउँका चोक, सडक तथा सार्वजनिक स्थानमा परिचालन भएर जाँच र सर्वसाधारणलाई अनावश्यक रुपमा हिँडडुल गर्न रोक लगाएकाले मानिस आपराधिक कार्यमा संलग्न हुन नपाएको उहाँको भनाइ छ ।
प्रहरीका अनुसार बन्दाबन्दी अवधिमा जिल्लामा ज्यान मार्ने उद्योग र फुटकर ज्यान एकएक तथा भवितव्य ज्यानमा तीन मात्र मुद्दा दर्ता भएका छन् । जबर्जस्ती करणीका दुई, सवारी ज्यान एक र सवारी दुर्घटनामा परी मृत्यु भवितव्य ज्यानमा दुई मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएकाले दुर्घटनामा कमी आएको तथा लागुऔषधको मुद्दा वृद्धि भएको पाइएको छ । बन्दाबन्दी अवधिमा मात्रै लागुऔषधका १० मुद्दा दर्ता भएको र त्यसमा संलग्न १९ लाई पक्राउ गरिएको प्रनाउ थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लागुऔषधको कारोबार मुख्य नाकाबाट नभई अन्य चोरीका नाकाबाट रातिको समयमा प्रहरीको आँखा छलेर हुने गरेको पाइन्छ, भारतका व्यापारीले सीमासम्मै लागुऔषध ल्याएर छाड्ने र प्रहरीलाई छलेर ओसारपसार गर्ने गरिएको छ ।’
जिल्लाको भारतसँग सीमा जोडिएको २८ किलोमिटर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी उल्लेख्य मात्रामा परिचालन गरिएको छ । सीमानाकामा चौबीसै घण्टा प्रहरी तैनाथ रहेकाले कुनै पनि व्यक्ति वा वस्तु आयात निर्यातमा रोक लगाइएको छ । गत चैत ११ देखि हालसम्म जिल्लामा ४९ मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।
दर्ता भएकामध्ये १२ मुद्दा फछर्योट भएको तथा ३७ अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ । उनन्चास मुद्दाका प्रतिवादी ४२ जनालाई प्रहरी पक्राउ गर्न सफल भएको छ । घटनामा नौ जना फरार छन् ।